अतिक्रमण हटाएर बाघलाई बाटो

अतिक्रमण हटाएर बाघलाई बाटो
बाँकेको कम्दी जैविक मार्गमा पर्ने राप्तीसोनारी गाउँपालिका–६ मसुरिया क्षेत्रमा राप्तीपीडित सामुदायिक वनले अतिक्रमण हटाएर गरेको वृक्षरोपण र तारबार। शंकरप्रसाद खनाल
सुन्नुहोस्

मसुरिया : बाँकेको राप्तीपीडित सामुदायिक वनमा दुई वर्षअघि पाटे बाघले दुई जनाको ज्यान लियो। कम्दी जैविक मार्गमा पर्ने यो सामुदायिक वनमा जंगलमा पात टिप्न जाने क्रममा २४ पुस २०७८ मा राप्तीसोनारी गाउँपालिका–६ हब्रहवाकी ३० वर्षीया चाँदनी चौधरीको बाघ आक्रमणमा मृत्यु भएको थियो। चौधरीको मृत्यु भएको डेढ महिना नबित्दै सोही जंगलमा घाँस काट्न गएको बेला ८ फागुनमा राप्तीसोनारी–६ डाँडाटेपरीका ६० वर्षीय धनबहादुर चलाउनेलाई पनि पाटेबाघले आक्रमणमा ज्यान गयो। यो सामुदायिक वनमा बाघले बाख्रा त कति खायो लेखाजोखा नै भएन। गाईभैंसी पनि मारेको थियो। 

१० दिनको प्रयासपछि नरभक्षी बाघलाई नियन्त्रणमा लिइयो। राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दियाका प्राविधिक, डिभिजन वन कार्यालय बाँके, वन उपभोक्ताको टोलीले पाडोलाई आहारा बनाएर हात्तीको साहारामा १८ फागुनमा नरभक्षी बाघलाई नियन्त्रणमा लिन सफल भएका थिए। 

‘हाम्रो वन त बाँके राष्ट्रिय निकुञ्ज र भारतको सुहेलुवा निकुञ्जबाट बाघको ओहोरदोहोर गर्ने कम्दी जैविक मार्गमा पर्ने रहेछ। दिउँसै बाघ हिँडेको देखिन्थ्यो’, राप्तीपीडित सामुदायिक वनका अध्यक्ष मदन बुढा ती दिन स्मरण गर्दै भन्छन्, ‘हाम्रो सामुदायिक वनदेखि बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र जोड्न झन्डै एक किलोमिटरको दूरीमा ८५ हेक्टर जग्गा स्थानीयले अतिक्रमण गरेका थिए। अतिक्रमण हटाएर बाघ लगायतका वन्यजन्तुलाई ओहोर दोहोर गर्न सजिलो होस भनेर वृक्षरोपण गरेका छौं।’

राप्तीपीडित सामुदायिक वनको उत्तरमा मसुरिया नजिक राप्ती नदी पर्छ। नदीको पारीपट्टि राप्तीसोनारीकै महादेवपुरी क्षेत्रको राप्तीपीडित सामुदायिक वन र पश्चिममा ढलैयातिर राप्तीपारी डुडुवा गाउँपालिकामा पर्ने मध्यवर्ती क्षेत्रको गोकुल सामुदायिक वन छ। उत्तरमा भारतको सुहेलुवा निकुञ्जसँग जोडिएको नरैनापुर गाउँपालिकाको वन छ। राप्तीपीडित सामुदायिक वनको एक किलोमिटर क्षेत्रफलले मात्र जैविक मार्ग जोड्न बाँकी थियो। ‘तराई भू परिधि कार्यक्रम (ताल)ले तारबार गर्न र डिभिजन वन कार्यालयले वृक्षरोपण गर्न सहयोग गरेका छन्’, अध्यक्ष बुढाले प्रष्ट पारे, ‘बोट विरुवा हुर्कंदैछन्। अब वन्यजन्तु राप्ती वारीपारी सहजै गर्न सक्नेछन्।’ यो क्षेत्रमा वनले १३ हजार पाँच सय बिरुवा लगाइएको छ। 

तालका सहप्रबन्धक कमलराज राईका अनुसार यो सामुदायिक वनमा वृक्षरोपण गर्न चार लाख ८५ हजार रुपैयाँ सहयोग गरेको थियो। ‘जैविक मार्गबाट मध्यवर्ती क्षेत्र एक किलोमिटर मात्र बाँकी थियो। सामुदायिक वनले अतिक्रमण हटाएर वन्यजन्तुका लागि सहज मार्ग बनाएको छ’, राईले खुसी व्यक्त गर्दै भने, ‘अब बाँके निकुञ्जबाट भारतीय निकुञ्जतिर र भारतीय निकुञ्जबाट वन्यजन्तु जैविक मार्ग हुँदै सहजै बाँके निकुञ्जसम्म आवतजावत गर्न सक्नेछन्।’

४९७ हेक्टरमा फैलिएको राप्तीपीडित सामुदायिक वनले मसुरिया, पथरैया, ढलैया, थापा फूलबारी क्षेत्रमा १५० घरधुरीले अतिक्रमण गरेको १८५ हेक्टरभन्दा बढी क्षेत्रफलमा अतिक्रमण हटाएर वन क्षेत्र बनाएको छ। वन हेरालु अयोध्या थारुका अनुसार जैविक मार्गमा वन्यजन्तु ओहोरदोहोर गर्दै गरेको भेटिन्छन्। उनले भने, ‘दुई दिनअघि पनि जंगलमा बाघको पाइला भेटिएका थिए। एकपटक त ३५ वटा जंगली हात्ती पनि ओहोरदोहोर गर्दै गरेको भेटिएका थिए। चित्तल, नीलगाई, बँदेल त कति छन् कति ?’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.