अर्घाखाँचीमा राष्ट्रिय परिचयपत्रको कार्ड वितरण सुरु
सन्धिखर्क : अर्घाखाँचीमा राष्ट्रिय परिचयपत्रको कार्ड वितरण आजदेखि सुरु भएको छ। सन्धिखर्क नगरपालिका-८ की रिता गैरे भुसाललाई प्रमुख जिल्ला अधिकारी कमलराज ढकालले राष्ट्रिय परिचयपत्रको कार्ड हस्तान्तरण गरेर वितरण कार्य सुरु गरे।
२०७७ साल माघ १८ मा राष्ट्रिय परिचयपत्रका लागि आवेदन दिएकी गैरेले आज अर्घाखाँचीबाट राष्ट्रिय परिचयपत्र पाएकी हुन्।
२०७७ असार ३० गतेबाट जिल्ला प्रशासन कार्यालयमा आवेदन लिन सुरु गरिएको थियो। तीन वर्षपछि अर्घाखाँचीका २ हजार ४८ जनाको पहिलो चरणमा परिचयपत्र प्राप्त भएको प्रमुख जिल्ला अधिकारी ढकालले जानकारी दिए। हालसम्म ५२ हजार १ सय ९ जनाले परिचयपत्रका लागि आवेदन दिएका छन्।