कोदो पौष्टिकताको हिसाबले विश्वको महत्त्वपूर्ण बाली हो। थोरै खाएर पनि पेट भरिने र धेरै पोषण तत्त्व प्राप्त गर्न सकिने बालीको रूपमा कोदोलाई लिइन्छ। कोदोमा शरीरलाई चाहिने क्याल्सियम, फस्फोरस, फलाम, लवण, अमिनेएसिडलगायतका खाद्य पदार्थ पाइन्छ। यो मधुमेह, एनिमिया, हड्डी बलियो बनाउने, मुटु तथा रगतको मात्रा बढाउने औषधीय वस्तुको प्रयोग हुन्छ। रगतको बोसो र कोलेस्टरोलको मात्रा घटाउने, जाडो याममा चिसोबाट बच्न वा बचाउन र सर्दी हटाउन अत्यन्तै उपयोगी भएका कारण कोदोलाई सर्वाेत्तम खानाको रूपमा लिइन्छ।
नेपाल जस्तो बहुजाति, बहुसंस्कृति रहेको देशमा आदिवासी जनजाति समुदायको चाडपर्व एवं पूजाआजा तथा संस्कार चलाउने क्रममा कोदोको रक्सी चढाउने र अतिथि सत्कारमा प्रयोगसमेत हुने भएकोले कोदोले सांस्कृतिक महत्त्वसमेत ओगटेको छ। कोदो नेपालको धान, मकै र गहँु पछिको चौथो बाली हो। यसलाई पहाडी भेगमा मकैपछिको दोस्रो बालीको रूपमा लिइन्छ। कागुनो, चिनो र जुनेलो यसै वर्गका बाली हुन्। यो विपन्न परिवारको खानाको मुख्य स्रोत हो।
नेपालमा तीन सय मिटरदेखि उच्च पहाडको तीन हजार मिटरसम्म खासगरी मनाङ र मुस्ताङबाहेकका सबै स्थानमा कोदोको खेती गरिन्छ। यसलाई कम उत्पादन हुने रुखोपाखो जग्गामा आकाशे पानीको भरमा रासायनिक मल तथा विषादीको प्रयोगबिना सिमान्त जमिनमा खेती गरिने बालीको रूपमा लिइन्छ। यस बालीलाई रोग किराको प्रकोप कम हुन्छ। यसको बिउलाई १५ वर्षसम्म भण्डारण गरेर राख्न सकिन्छ भने लामो समयसम्म खाद्य सुरक्षाका लागि उत्पादन पछि भण्डारण गरी राख्न सकिन्छ। त्यसैले यो जलवायु अनुकूलनीय अर्गानिक र दिगो एवं वातावरणमैत्री बाली हो।
नेपालमा कुल ४१ लाख २१ हजार हेक्टर (२७ प्रतिशत) खेतीयोग्य जमिनमध्ये ३० लाख ९१ हजार हेक्टर (२० प्रतिशत) जमिनमा खेती गरिएको छ भने १० लाख ३० हजार हेक्टर (७ प्रतिशत) जमिन खेतीयोग्य भएर पनि खेती गरिएको छैन। बाँझो बस्दै आएको छ। यो कम बढ्दो छ। विगत लामो समयसम्म पुर्खाहरूले पहरी फुटाउँदै माटोमा रूपान्तरण गरी स्तरीय जैविक विविधताको अधिकतम उपयोग गर्न सकिन्छ। यसरी कडा परिश्रमका साथ कोदो खेती गरी प्राप्त उत्पादनबाट ढिँडो, रोटी, पुवा, खोलेजस्ता परिकार बनाएर खाने चलन थियो। उक्त खानेकुरालाई गुणस्तरीय खानाको रूपमा लिइथ्यो। जसको फलस्वरूप उत्पादनलाई प्राथमिकतामा राख्दा ठूलो क्षेत्रफलमा कोदोको खेती गरिन्थ्यो।
विडम्बना भन्नुपर्छ, यस्तो महत्त्वपूर्ण बालीलाई कुलामुनि जमिन हुनेहरूको हेलाहोचो र अल्पशिक्षा लिएकाहरूको बुझाइ थियो। अपमानका कारण हाल कोदो खेती गर्ने क्षेत्रफल घट्दै गएको छ। २०७८/०७९ मा २ लाख ६७ हजार ७१ हेक्टरमा मात्र कोदो खेती भएको छ।
राज्यले खाद्यसुरक्षाको कुरा गर्यो, पेट भर्ने कुरा गर्यो तर पोषण खाद्यको कुरा कहिल्यै गरेन। रैथाने बालीहरूमा भएका गुणस्तरीय महत्त्वलाई बुझाउन र प्रवर्धन गर्न र खानपानका बारेमा चेतना विस्तार गर्न सकेन। फलस्वरूप स्थानीय किसानका मौलिक खाद्यान्न एवं खाना छायाँमा परे कुहिएका र किरा लागेका आयातित खाद्यान्नले स्थान पाए। लत भातमा बस्यो। सरकारको नीति एवं व्यवहारले यस्तो अवस्था आयो।
देशको कृषि कस्तो ? :
संयुक्त राष्ट्रसंंघको सन २०२१ मार्चमा सम्पन्न महासभाले पश्चिमी हावा चल्ने देश भारतको अगुवाइमा ७० भन्दा बढी देशहरूको समर्थनमा सन २०२३ लाई कोदो अन्तर्राष्ट्रिय वर्षको रूपमा मनाउने घोषणा गर्यो। नेपाललगायतका संयुक्त राष्ट्रसंघमा आबद्ध मुलुकहरू अन्तर्राष्ट्रिय कोदो वर्षको मुख्य उद्देश्य कोदो वर्ष मनाइरहेका छन्। जलवायुमैत्री खेती साथै कोदोको स्वास्थ्य लाभ र यसको खेतीका लािग उपयुक्तताबारे जनचेतना अभिवृद्धि गर्ने छ।
अब के त ? :
कोदोबाली साना, सिमान्त कृषकहरूको जीविकाको आधार भएकाले सरकारी लगानी र प्राथमिकतासहित प्रतिस्पर्धात्मक क्षमता बढाउनु पर्छ। जलवायुमैत्री खेती साथै कोदोको स्वस्थ्य लाभ र यसको खेतीका लागि उपयुक्तताबारे जनचेतना अभिवृद्धि गर्न आवश्यक छ। जमिनको उपयोग संरक्षण र युवा रोजगारको हिसाबले यस बालीलाई हेरिनु पर्छ। खेती प्रक्रियामा सुधार, आधुनिक प्रविधिको प्रयोग गरी सहज उत्पादनमा जोड दिनु पर्छ।
अध्ययन अनुुसन्धान गरी सम्मानित बालीको स्थान दिई प्रचारप्रसार गर्नुपर्छ। कोदोको प्रशोधन र उद्यमशीलताका साथै कृषि शिक्षामा जोडिनु पर्छ। तीनवटै तहका सरकारको नीति तथा कार्यक्रममार्फत सम्बोधन गरी कोदोको प्रवद्र्धन र विकासका लागि कार्यक्रम व्यवस्था गरिनु पर्छ। सरकारले औपचारिक रूपमा घोषणा गरी साउन १५ लाई राष्ट्रिय कोदो दिवस मनाई प्रचारप्रसार र सचेतना फैलाउनु पर्छ।
साउन १५ खिर खाने दिन हो। कोदोको खिरतर्फ आकर्षण बढाउन सकिन्छ। आज अन्तर्राष्ट्रिय कोदो वर्ष ‘कोदोको बहार दिगो, पौष्ट्रिक र स्वादिष्ट आहार’ भन्ने नाराका साथ कार्यक्रम भइरहेको छ। दिवस मनाउनु भनेको प्रतिवेदन लेख्नका लागि होइन। प्रचारप्रसार तथा जनचेतना विस्तार एवं सचेतनाका लागि हो। दिवसले समग्र नागरिकको मन मस्तिष्क छुन सक्नुपर्छ। उनीहरूको भावनालाई उजागर गर्न सक्नुपर्छ। दिवस मनाउँदै जाने तर कोदो बालीका लागि उत्पादनको वातावरण सिर्जनाका लागि सरोकारवालाको प्राथमिकतामा नपर्ने हाम्रो संस्कृति र संस्कार हुनु हुँदैन।
यदि यसो भयो भने ‘कु’ अन्नको रूपमा परिचित गराएको कोदो अन्य सिमान्त बालीहरू कहिल्यै ‘सु’ अन्नमा परिणत हुँदैनन्। त्यसैले सबै मिति सिमान्तको पहिचान पाउन बाध्य भएको कोदो तथा कोदोजन्य खाद्यान्न छायाँमा पर्नेछन्। यस्ता बालीहरूको प्रवद्र्धन, विकास र विस्तारमा जुटौं। खानपानमा सुधार ल्याऔं। दिगो पौष्टिक र स्वादिष्ट आहा र खाई खुसी र सुखी जीवनयापन गरौं।
- बस्नेत, राष्ट्रिय कृषक समूह महासंघका अध्यक्ष हुन्।