बैतडीको सिगासमा पानी नपाएर तीन दिन भोकै
बैतडी : गत जेठ ९ गते मध्यराति । भीम नेपालीकी नातनी ५ वर्षीय शान्तीले रुँदै पानी मागिन् । बेलुका भोकै सुतेकी शान्ती मध्यरातमा रुँदै पानी माग्न थालेपछि भीम आत्तिए । राति झरो (खोटो भएको सल्लाको दाउरा) बालेर छिमेकीको घर गएर लोटामा पानी मागेर खुवाए ।
‘दिउँसो न्वालो (पानीको खाडल) मा पानी भर्नै पाइएन, केही भाँडाकुँडा रित्याएर पानीको जोहो गरी दिउँसोको खाना पकाएँ तर, राति भने खान समेत पानी नभएपछि भोकै सुत्यौँ,' भीमले भने ।
बैतडीको सिगास गाउँपालिका–६ कौसाडी टोलका भीम नेपाली गत जेठ ९ गते सधैजसो गरी बिहानै न्वालो गएका थिए। तर, न्वालोमा पालो नआउँदै पानी सकिएपछि रित्तो गाग्रो फर्किए। त्यो रात भोकै सुते।
उनले जेठ ९ गते मात्रै होइन जेठ १४ र २१ गते समेत पानी नपाएरै भोकै बस्नु परेको दुखेसो सुनाए । ‘तीन दिन पानी नपाएरै भोकै सुत्न बाध्य भयौँ, खानेपानीको साह्रै समस्या छ,’उनले भने । आजभोलि पनि वर्षा भएको बेला आकाशे पानीको भरमा गुजारा चलाउने गरेको उनले बताए ।
‘कुनै पानीको मुहान छैन,पानी परेको समयमा घरको छतबाट झरेको पानी भरेर गुजारा चलाउछौँ,’उनले भने । १२ दलित परिवारको बसाइ रहेको कौसाडी टोलमा खानेपानी चरम समस्या छ । खानेपानीको सुविधा नभएका कारण जनजीवन नै प्रभावित बनेको छ ।
‘करिब एक घण्टाको दुरीमा रहेको न्वालोमा पानी भर्न लाइन लाग्नुपर्छ,कहिलेकाहीँ पालो नपुग्दै पानी सकिन्छ,खान नपुग्ने पानीले कसरी करेसाबारी गर्नु, कसरी पशुचौपाया पाल्नु,'उनले भने । खानकै लागि पानी भए अरु गुजारा गरिहाल्थ्यौँ,’अर्का स्थानीय लक्ष्मे मेजारले भने ।
सिगास गाउँपालिका–६ कौसाडी टोलका दलीत परिवारको सामूहिक । तस्बिर : कृष्ण बिष्ट
लुगा सिउने र फलामको काम गर्ने उक्त टोलका दलितहरु खलो (गैह्र दलितको काम गरिदिएवाफत मागिने अन्न) मागेरै गुजारा गर्न गरेका छन् । मागेर परिवार पाल्दै आएका दलित परिवारले पानीकै अभावमा केहिलेकाही भोकै बस्नुपर्ने बाध्यता छ।
खानेपानीको समस्याका बारेमा सबै निकायलाई जानकारी गराएपनि कुनै सुनुवाइ नभएको स्थानीयहरूको भनाइ छ । दलित बस्तीसँगै जोडिएका ठाटीकेदार, लदौलालगायतका टोलमा पनि खानेपानीको समस्या रहेको अर्का स्थानीय संग्राम सिंह धामीले बताए ।
‘दलित टोलमा धेरै समस्या छ,अन्य टोलमा पनि खानेपानीको समस्या नै हो,’उनले भने । वर्षादको समयमा नजिकै पानीका मुल फुट्ने भएकाले समस्या नहुने गरे पनि माघदेखि असारसम्म पानीको साह्रै समस्या हुने गरेको उनले सुनाए ।
वडा अध्यक्ष तेजबहादुर साउँदले वडा नं ६ मा खानेपानी योजना निर्माणका लागि बजेट बिनियोजन नगरेको बताए । ‘यस वर्ष खानेपानी निर्माणका लागि बजेट बिनियोजन गरिएन, सडक विद्युत र स्वास्थ्य क्षेत्रका केहि संरचना निर्माणका लागि मात्रै छ,’अध्यक्ष साउँदले भने ।
गाउँपालिकाको केही शीर्षक र खानेपानी सरसफाइ डिभिजनसँग आवश्यक समन्वयमा पाइप समेत खरिद गर्न सकियो भने श्रमदानबाट खानेपानीको व्यवस्थापन गर्न सकिने अध्यक्ष साउँदले बताए । यता खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्रमुख कृष्णबहादुर बोगटीले पाइप वितरण गर्दा समस्याको समाधान हुने अवस्था आए उक्त टोलमा पाइपको व्यवस्था गर्न सकिने उनले बताए ।
‘गाउँपालिकाबाट योजना जानु पथ्र्यो,यहाँबाट प्रदेशका योजना कार्यान्वयन हुन्छन्,पाइप वितरण गरेर समाधान हुने भएन,त्यसको व्यवस्थापन गर्न सक्छौँ,'उनले भने ।