सुन तस्करीको छानबिन गर्न विज्ञसहितको समिति बनाऔं : उपमहासचिव पुन
काठमाडौं : नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन 'अनन्त'ले भन्सार पास भएको सुन प्रकरणमा नाम आएका सबैबारे छानबिन गर्न समिति बनाउनुपर्ने बताएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बिहान बसेको पार्टी पदाधिकारी बैठकमा पुनले सुन तस्करी प्रकरण छानबीन गर्न प्रहरीको अपराध अनुसन्धानमा विज्ञ टोली, संसदीय समिति वा विशेष समिति बनाउन माग गरेका हुन्।
‘अनुसन्धानमा विज्ञ निकाय, न्यायिक वा संसदीय छानबिन समिति जे उपयुक्त हुन्छ बनाएर हुन्छ यो प्रकरणको छानबिन हुनैपर्छ’, पुनले भने, ‘हामी नेताहरु, हाम्रा आफन्तहरु वा जसजसको अपराधमा संलग्नता देखिन्छ, त्यसले सजाय भोग्नुपर्छ। जेल जान तयार हुनुपर्छ।’
पुनले यस्ता प्रकरणमा मुछिएको पुष्टि भए पार्टी र सरकारले कसैलाई पनि उन्मुक्ति दिन नहुने बताए। ‘तस्करी र अपराधीको कुनै पार्टी र नाता हुँदैन’, उनले भने, ‘देशद्रोहमा संलग्न जो कोही भएपनि उन्मुक्ति दिन हुँदैन, म नै किन नहोउँ।’
पुनले सुन तस्करी प्रकरणलाई लिएर कतिपयले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा मागेको, उपाध्यक्ष कृष्णबहादुर महरा र आफ्नो नाम मुछ्ने प्रयास भएको भन्दै छानबिनको माग गरे। उनले छानबिनमा दोषी देखिए आफू जस्तोसुकै सजाय भोग्न तयार रहेको र अरु नेता पनि तयार हुनुपर्ने बताए।
१०० किलो सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेले बुधबार संसद बैठकमा अवरोध गरेको थियो। बैठकमा एमाले सांसदहरुले सुन तस्करी प्रकरणमा सरकारका मन्त्रीहरु नै सामेल भएको आरोप लगाउँदै उच्चस्तरीय छानबिन समिति गठनका लागि रुलिङ गर्न माग गरेका थिए। तर, सभामुखले शुन्य समयको कारवाही अघि बढाउन खोजेपछि एमाले सांसदहरुले वेल घेराउ गर्दै नाराबाजीमा उत्रिएका थिए। त्यसपश्चात सभामुखले आजसम्म बैठक स्थगित गरेका छन्।
संसदमा एमाले र राप्रपाका सांसदले केही समयअघि भेपमा लुकाएर सुन तस्करी गरेको प्रकरणमा उपाध्यक्ष कृष्णबहादुर महरा र उनको छोरा राहुल महराको सुन तस्करहरूसँग सम्पर्क देखिएको बताएका थिए। १०० किलो सुन तस्करी प्रकरणमा उपमहासचिव पुनको परिवारको नाम जोडिएको छ।
यता पुनले भने सरकारले सञ्चालन गरेको भ्रष्टाचार र अनियमितताविरोधी अभियानलाई अन्यत्रै मोड्ने नियोजित चलखेलका रुपमा आफ्नो नाम दावासँग मुछ्ने प्रयास भएको टिप्पणी गरे। सुन तस्करी प्रकरणमा आइतबार तिब्बतीमूलका बेल्जियन नागरिक दावा छिरिङ पक्राउ परेसँगै सामाजिक सञ्जालमा माओवादीका उच्च तहसँग भेटेका तस्बिर सार्वजनिक भएका छन्। उक्त आलोचनाप्रति लक्षित गर्दै पुनले आफ्नै कुनै सम्बन्ध नरहेको प्रष्ट पारेका हुन्।
पुनले गृह जिल्ला रोल्पाकी अमला रोकाले दावासँग विवाह गरेको र अमलाले आफूसँग चिनजान गराउन एकपटक डेरामा लिएर आएको प्रष्टीकरण दिए। ‘दावा पक्राउ परेपछि आठ वर्ष पहिला भएको भेटघाटको समयमा खिचिएको सामूहिक तस्बिरलाई अहिलेको घटनासँग जोडेर प्रचार भयो’, पुनले भने, ‘यो मेरो सार्वजनिक छविमाथिको आक्रमण र चरित्र हत्या हो।’
बैठकमा प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चासो व्यक्त गरेका थिए। प्रचण्डले तस्करी र भ्रष्टाचारका सबै घटनाको निष्पक्ष छानबिन हुने जवाफ दिएका थिए। सुन तस्करी प्रकरणमा पार्टीका शीर्ष नेताहरूको नाम मुछिएपछि बैठकमा प्रधानमन्त्री प्रचण्डले भेटघाटमा सचेत बन्न नेताहरुलाई सुझाव दिए।