कोसी प्रदेशका बालबालिकामा आँखा पाक्ने प्रकोप

कोसी प्रदेशका बालबालिकामा आँखा पाक्ने प्रकोप
विराटनगर आँखा अस्पतालमा आँखा पाकेका बालकको परीक्षण गरिँदै। तस्बिर : अन्नपूर्ण

विराटनगर : कोसी प्रदेशका बालबालिकामा आँखा पाक्ने रोगको प्रकोप फैलिएको छ। करिब एक सातायता यसले प्रकोपको रूप लिएको हो। 

विशेष गरेर सहरी क्षेत्रका बालबालिकामा तीव्र गतिमा फैलिइरहेको छ। विद्यालय, आँखा अस्पताल लगायत भीडभाड धेरै हुने सार्वजनिकस्थल यसको प्रमुख स्रोत बनेका छन्। 

प्रदेश राजधानी विराटनगरसहित इटहरी, इनरुवा, बिर्तामोड, दमकलगायतका सहरी क्षेत्रमा आँखा पाक्ने समस्या व्यापक मात्रामा फैलिइरहेको हो। प्रदेशको स्वास्थ्य मन्त्रालयले बढी मात्रामा बालबालिका प्रभावित बनिरहेको जनाएको छ। चिकित्सकका अनुसार सरुवा रोग भएकाले आँखाको संक्रमण एकबाट अर्कोमा चाँडो सर्छ। 

पढ्नलाई विद्यालय जाने बालबालिकादेखि उपचारका लागि अस्पताल पुग्नेहरूबाट समुदायस्तरमै संक्रमण फैलिइरहेको छ। तर, यसको रोकथामका लागि कुनै उपाय अवलम्बन गरिएको छैन। 

विद्यालयदेखि सरकारसम्म मौन छन्। मानव शरीरको महत्वपूर्ण अंगमध्येको आँखा जोगाउन अपनाउनुपर्ने सावधानीलगायतका विषयमा जनचेतामूलक कार्यक्रम सञ्चालन गरिएको छैन। अनियन्त्रित बनेको संक्रमण फैलन नदिन सतर्कता अपनाइएको छैन।

प्याब्सन विराटनगरका अध्यक्ष मोहन बुढाथोकी विद्यालयहरूमा विद्यार्थीको आँखा पाक्ने समस्या प्रकोपजस्तै देखिएको बताउँछन्। ‘एउटा विद्यालयमा दैनिक १५ जनाभन्दा बढी विद्यार्थी आँखा पाक्ने समस्या लिएर आउँछन्। सामान्य समस्या हुने विद्यार्थीलाई चश्माको प्रयोग गर्न आग्रह गरिएको छ,’ उनले भने, ‘आँखा पाकेर पोल्ने तथा दुख्ने समस्या भएकालाई दुई–चार दिन विद्यालय नआउन आग्रह गर्ने गरिन्छ। विद्यार्थीमा व्यापक फैलिइरहेका कारण अब कसो गर्नेभन्ने छलफल प्याब्सनमा गरेर निर्णय लिन्छौं।’ 

अभिभावक पुरुषोत्तम अधिकारी स्वास्थ्य संस्था र विद्यालय आँखा पाक्ने प्रकोपको ‘ट्रान्जिट’ बनेको बताउँछन्। ‘आँखा पाकेपछि उपचारका लागि अस्पताल लगिन्छ। त्यहाँबाट अरु बिरामीलाई पनि सर्ने गरेको छ,’ उनले भने, ‘बालबालिका पढ्न विद्यालय जान्छन्। समूहमा बसेर पढ्ने भएकाले एकबाट अर्कोमा चाँडो सरेको पाइन्छ।’ 

अधिकारीका अनुसार संक्रमण थप फैलन नदिन विद्यालय, आँखा अस्पतालसहित भीडभाड हुने स्थानमा सावधानी आवश्यक छ। विद्यालय जाने बालबालिका तथा आँखा परीक्षणका लागि अस्पताल पुग्नेहरू संक्रमणको झन् ठूलो जोखिममा परिरहेको उनले बताए। अस्पतालले आँखाको परीक्षण गर्ने औजारहरू निर्मलीकरण नगरिकन एकपछि अर्कोको चेकजाँचमा प्रयोग गरिदिँदा संक्रमण फैलिने गरेको अधिकारीको भनाइ छ। 

नेत्ररोग विशेषज्ञहरू पछिल्लो समय ‘एडिनो’ भाइरसका कारण निम्तिएको आँखा पाक्ने समस्या भाइरलका रूपमा फैलिरहेको बताउँछन्। मनसुनमा भाइरस सक्रिय भएर आँखामा हुने संक्रमणको गति तीव्र बन्दा आँखा पाक्ने बिरामी बढिरहेको उनीहरूको भनाइ छ। मौसममा भइरहेको फेरबदल, धुलो, धुवाँ, आँखाको सुरक्षामा हेरचेक्राइँ, असावधानी आदि कारणबाट आँखा पाक्ने रोगले प्रकोपकै रूप लिएको चिकित्सक बताउँछन्। 

संक्रमण भएका बालकालिकामा आँखा रातो हुने, कचेरा आउने, आँखा टालिने, सुन्निने, अत्यधिक दुख्ने, पोल्ने, हेर्न गाह्रो पर्ने, निरन्तर आँसु बग्नेलगायतका समस्या देखिएको छ। बालबालिकाबाट ठूला मान्छेमा पनि संक्रमण सरिरहेको चिकित्सक बताउँछन्। 

उनीहरूका अनुसार अँग्रेजीमा यो संक्रमणलाई ‘कन्जक्टिवाइटिस’ भनिन्छ। आँखाको संक्रमण भीडभाडका कारण एकबाट अर्कोमा चाँडो सर्ने विराटनगर आँखा अस्पतालका प्रवन्धक कुमार पृथुले बताए। 

विराटनगर आँखा अस्पताल कोसी प्रदेशकै सबैभन्दा ठूलो आँखा अस्पताल हो। ‘परिवारमा एउटालाई समस्या हुँदा अर्कोलाई चाँडो सर्छ। विद्यालयमा समूहमा पढाइ हुने हुँदा बालबालिकामा तीव्र गतिमा फैलिइरहेको छ,’ पृथुले भने, ‘सार्वजनिकस्थलमा सावधानी नअपनाउँदा झन् समस्या बढ्दो छ। संक्रमण हुन नदिन र आँखाको सुरक्षामा सबैले ध्यान दिनुपर्छ।’ 

संक्रमण फैलन नदिन आँखा पाकेको व्यक्ति अरुसँगको सम्पर्कबाट टाढै बस्नुपर्ने तथा सावधानी अपनाउनुपर्नेमा उनको जोड छ। पृथुका अनुसार आँखा पाक्ने समस्या लिएर अस्पतालमा मात्रै दैनिक दुई सयभन्दा बढी आउन थालेका छन्।
 ‘दैनिक एक हजार चार सय बिरामी आउँछन्। तीमध्ये दुई सयभन्दा बढीमा आँखा पाक्ने समस्या हुन्छ,’ उनले भने, ‘संक्रमित धेरै आउन थालेपछि व्यवस्थापनका लागि समस्या भइरहेको छ। बजार, स्कुल, अस्पताललगायत भीडभाड बढी हुने सार्वजनिक स्थलबाट आँखा पाक्ने रोगको प्रकोप फैलिइरहेको छ।’

वरिष्ठ नेत्ररोग विशेष डा. प्रज्ञ लुइँटेल संक्रमण भएको आँखालाई परबाट हेर्दा मात्रै यो रोग नसर्ने बताउँछन्। ‘संक्रमितसँगको सम्पर्क, एउटै कपडालगायतका वस्तुको प्रयोग, स्वीमिङ पुल आदिबाट चाँडो सर्छ। संक्रमण भएको आँखा माडेर अरुलाई छोएमा पनि सर्छ,’ उनले भने, ‘यसबाट बच्न सावधानी र आँखाको सुरक्षामा ध्यान दिनु नै उत्तम हुन्छ। आँखा पाक्ने अरुपनि धेरै कारणहरू हुन्छन्।’  

आँखा पाकेमा तत्काल चिकित्सकको सम्पर्कमा गएर औषधि प्रयोग गर्नुपर्ने डा. लुइँटेलको भनाइ छ। ‘समयमै उपचार नहुँदा आँखाको नानीमा असर गर्नसक्छ। हेलचेक्राइँ गर्दा ज्योति गुम्न सक्छ,’ उनी भन्छन्, ‘अरु खालका संक्रमण नहोस् भनेर ‘एन्टिबायोटिक’ पनि चलाउनुपर्ने हुनसक्छ। बेलैमा ध्यान दिँदा मात्रै आँखालाई बचाउन सकिन्छ।’

उनले पाकेको आँखा निको हुन एकदेखि दुई हप्तासम्म लाग्ने जानकारी दिए। ‘कहिले काहीँ ‘आइड्रप’ प्रयोग गर्दा निको हुन्छ। तर, कुनैबेला समस्या जटिल बनिदिन्छ,’ डा. लुइँटेलले भने, ‘दृष्टि नै गुम्ने खतरा हुने हुँदा आँखाको सुरक्षाका सवालमा लापरबाही गर्न हुँदैन। समयमै चिकित्सकको सम्पर्कमा पुग्नुपर्छ।’ उनका अनुसार आँखा पाक्दा सित्तल बनाउन ‘आइड्रप’, औषधि तथा चश्माको प्रयोग, चिसोले सेक्ने, नमाड्ने, चिसो पानीले नियमित सरसफाई गर्ने, धुलो र धुवाँबाट बच्ने, पर्याप्त पानी पिउने, आँखालाई आराम दिने आदिमा ध्यान दिनुपर्छ। 

आँखा पाकेमा सार्वजनिक हिसाबले हिँडडुल नगर्दा र सरसफाईमा ध्यान दिँदा, सवाधानी अपनाउँदा तथा बाहिर निस्किनु परेमा चश्माको प्रयोग गर्दा अरुलाई संक्रमण नसर्ने उनको भनाइ छ। 

विराटनगर महानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख हैदर अली पछिल्लो समय आँखा पाक्ने समस्याले प्रकोपको रूप लिइरहेको बताउँछन्। ‘यसलाई नियन्त्रण गर्न र थप फैलन नदिन विद्यालय केन्द्रित चेतनामूलक कार्यक्रमहरू भइरहेका छन्। आँखाको सुरक्षामा ध्यान दिन सबैमा आग्रह गरिरहेका छौं,’ उनले भने, ‘यसले भोलिका दिनमा भयावह स्थिति निम्त्याउने देखिन्छ। कसैको आँखा पाकेमा बेलैमा स्वास्थ्यकर्मीसँग सल्लाह गरेर उपचार सुरु गर्नुपर्ने हुन्छ।’

समयमै प्रकोप नियन्त्रण गर्न केन्द्र तथा प्रदेश सरकारदेखि सबै निकायबीचको समन्वय आवश्यक देखिएको अलीले बताए। ‘आँखा पाक्ने रोगले प्रकोपकै रूप लिएकाले विद्यालयहरू बिदा गर्नुपर्ने अवस्था आउन सक्छ,’ महाशाखा प्रमुख अली भन्छन्, ‘नियन्त्रण र आगामी रणानीतिका लागि स्वास्थ्य क्षेत्रमा क्रियाशील संघ संस्थासँग समन्वय गरिरहेका छौं।’ आँखामा समस्या हुँदा त्यत्तिकै बस्न नहुने र तत्काल स्वास्थ्यकर्मीको सम्पर्कमा पुग्नुपर्ने सुझाव उनले दिएका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.