जोमसोम बजारमा पक्की सडक
जोमसोम : मुस्ताङको सदरमुकाम जोमसोम बजार क्षेत्रमा आरसीसी पक्की सडक विस्तार भएसँगै व्यवस्थित देखिन थालेको छ।
राष्ट्रिय गौरवको कालिगण्डकी करिडोर (बेनी-जोमसोम-कोरला) सडक अन्तर्गत जोमसोम बजार क्षेत्रको १६ सय मिटर सडकमध्ये १२ सय मिटरमा आरसीसी सडक सम्पन्न भइसकेको छ।
बेनी-जोमसोम ७६ किमी सडकको चौथो खण्ड मुस्ताङको थासाङ गाउँपालिका-२ खन्तीदेखि जोमसोम स्थित कालिगण्डकी नदी पक्की पुल क्षेत्रसम्मको १६ दशमलव ८१ किमी सडक स्तरोन्नतिको जिम्मा पप्पु गौरी पावती कोशी एण्ड न्यौपाने जेभीले लिएको हो। २०७४ सालमा सुरु गरिएको ७६ किमी सडकको तेस्रो खण्ड बाहेक बाँकी ३ खण्ड अझै निर्माणाधीन चरणमै छन्।
खन्तीदेखि जोमसोम कालोपत्रे सडकको सम्झौता लागत ७० करोड ५२ लाख छ। निर्माण कम्पनीबाट सहायक निर्माण कम्पनीको फेरबदल, ढिलासुस्ती र प्राकृतिक विपद् लगायतका कारण सम्झौता अवधि सकिएको ३ वर्ष बितिसक्दा समेत सडक निर्माणको काम सम्पन्न हुन नसकेको हो।
बेनी-जोमसोम सडकको सुरुआती सम्झौता अवधि ३० महिनाको मात्र थियो। अहिले खन्ती-जोमसोम सडकको काम कोशी एण्ड न्यौपाने जेभीले सम्हालेको आयोजना प्रमुख जगत प्रजापतिले बताए।
आयोजनाका अनुसार खन्ती-जोमसोम सडकको १६ दशमलव ८१ किमी मध्ये १४ दशमलव ५ किमी अस्फाल्ट कालोपत्रे र १२ सय मिटर आरसीसी सडक विस्तार गर्नुपर्नेमा ६ दशमलव ९ किमी कालोपत्रे र ५ सय मिटर आरसीसी सडक विस्तारको काम सम्पन्न भएको आयोजना प्रमुख जगत प्रजापतिले बताए।
अब खन्ती-जोमसोममा ४ दशमलव ५ किमी कालोपत्रे र ७ सय मिटर आरसीसी सडक विस्तार गर्न बाँकी रहेको उनले बताए। खन्ती-जोमसोम सडक अन्तर्गत सदरमुकाम जोमसोम क्षेत्रमा असोजसम्मका आरसीसी र कालोपत्रेको काम सम्पन्न गर्ने लक्ष्य रहेको आयोजना प्रमुख प्रजापतिको भनाइ छ। खन्ती-जोमसोम सडकको पछिल्लो भौतिक प्रगति ७० प्रतिशत रहेको उनले बताए।
आयोजना अन्तर्गतको खन्ती-जोमसोम खण्डको घरपझोङ-३ पुथाङ एयरपोर्ट क्षेत्रमा अहिले ५ सय मिटर आरसीसी र सडकको दायाँ बायाँ फुटपाथसहितको ड्रेन निर्माण अन्तिम चरणमा छ। त्यसपछि एयरपोर्टदेखि जोमसोम पक्की पुलसम्मको सडकमा आरसीसी र कालोपत्रे हुने बताएएको छ।
जोमसोम बजार क्षेत्रमा अहिले सडक चौडा गर्न घरटहरा भत्काउने काम भइरहेको छ भने सडक विस्तारको काम पनि अघि बढाइएको छ। केही महिनाअघि सडक स्तरोन्नतिका क्रममा भताभुङ भएको पुथाङ एयरपोर्ट बजार क्षेत्र अहिले आरसीसी सडक निर्माण भएसँगै सुन्दर र सफा देखिन थालेको छ।