अनुभव बाँड्दै कर्णालीका सांसद र पूर्व सांसद
वीरेन्द्रनगर : कर्णाली प्रदेशसभाका सांसद तथा पूर्व सांसदहरूले कर्णालीको विकास र समृद्धिका लागि सहकार्यका साथ अनुभव आदान प्रदान गर्न थालेका छन्।
पूर्व सांसदहरूको भेलाबाट गठन भएको पूर्व प्रदेश सभा सदस्य मञ्च मार्फत कर्णालीका सांसद तथा पूर्व सांसदहरूले कर्णालीको विकास र समृद्धिका लागि सहकार्यका साथ अनुभव आदान प्रदान गर्न थालेका हुन्।
सोमबार प्रदेश सभाको दोस्रो कार्यकाल : समृद्धिका लागि क्षमता अभिवृद्धि कार्यक्रमको आयोजना गरी महिला सांसदहरूले प्रदेश सभामा सीमान्तकृत समुदाय र लक्षित समूहको मुल मुद्दालाई कसरी उठाउने, नीति निर्माणमा प्रभाकारी भूमिका कसरी निर्वाह गर्ने र संसदीय विधायकको भूमिकालाई कसरी उत्कृष्ट रूपमा निर्वाह गर्ने भन्ने विषयमा बृहत् छलफल गरेका छन्।
पूर्व प्रदेशसभा सदस्य मञ्च कर्णालीका अध्यक्ष दलबहादुर रावलले कर्णालीको समग्र विकास र समृद्धिका लागि सांसदहरूको अनुभव आदानप्रदान गर्ने थलो नै पूर्व सांसद मञ्च भएको बताए।
उनले भने, 'यो मञ्चमार्फत कर्णालीवासीका सवालहरूलाई संसदमा उठाउन सहयोग पुग्ने छ। पूर्व र वर्तमान सांसदहरूले एक आपसमा अनुभव आदानप्रदान गरी सांसदहरूलाई आफ्नो भूमिकामा थप जिम्मेवार बनाउने पनि काम भइरहेको छ।'
कर्णाली प्रदेशकी सभामुख नन्दा गुरुङले कर्णालीको विकासका मुद्दाहरूमा सबै दलसँग सम्बन्धित सांसदहरू एक ठाउँमा उभिनका लागि यो मञ्चले पनि भूमिका खेल्ने बताइन्।
पूर्व प्रदेश सभा सदस्य मञ्चले कर्णालीको विकास, संघीयता कार्यान्वयन र प्रदेशसभालाई कानुन निर्माणमा सहजीकरण गर्ने पूर्व सांसद पद्मा खड्काले बताइन्।