घरभित्र उम्रिएको पानीले मेट्छ २५ परिवारको प्यास
गोरखा : गोरखा सदरमुकामको बोसेपानी धाराकै आडमा घर भएका उनी ‘पानी काइँला’ भनेर चिनिन्छन् । खानेपानीको धारानजिकै घर भएकाले होइन, पानी बेचेर उनी पानी काइँला कहलिएका हुन् । न्वारनमा राखेको नाम यसै गोप्य हुने भइहाल्यो ।
नागरिकतामा लेखिएको श्यामबहादुर श्रेष्ठ नाम पनि यो नामले ओझेलमै पर्यो । २५ वर्षदेखि पानी बेचेर कमाएको यो परिचयले समाजमा उनलाई चिनाएको छ । पानी बेचेर दाम कति कमाए, बेहिसाब छ, तर ‘पानी काइँला’ नाम भने गोरखा नगरपालिकाको तीनवटा वडा मिलेर बनेको गोरखा बजारभरि चर्चित छ ।
पेसा, व्यवसाय केही नगरी सुखसँग परिवार पाल्न सक्ने यो खानेपानीको मूल घरभित्रै भएकोमा उनी आफूलाई भाग्यमानी ठान्छन् । उनी भाग्यमानी हुन् कि होइनन् भनेर भाग्य चिनाइदिने काम भने एक इञ्जिनियरले गरेका थिए । त्यसैले उनी आफूलाई भाग्यमानी बनाइदिने ती महर्जन थरका इञ्जिनियरको गुन कहिल्यै बिर्सँदैनन् । ‘खानेपानी कार्यालयमा एक जना इञ्जिनियर थिए, कृष्णभक्त महर्जन । उनी यहीँ डेरा गरेर बस्थे । उनले हो मेरो भाग्य, चम्काइदिएको’, पानी काइँला भन्छन्, ‘यो पानीलाई यहाँ यसरी ट्यांकी बनाएर बेच्नुपर्छ भनेर सिकाइदिएका उनैले हो ।’ उनैको सुझावअनुसार आफूले घरभित्र आठ फिट गहिरो ट्यांकी बनाएको उनले बताए ।
हरमटारी र धनुबाँसे क्षेत्रमा बाक्लो बस्ती बस्न थालेपछि उनको पानीको महत्त्व बढेको हो । मूलको पानीलाई घरभित्र आठ फिट गहिरो ट्यांकी बनाएर उनी संकलन गर्छन् । ‘गोरखा बजारमा पानीको हाहाकार भएका बेला पनि मेरो घरभित्र घट्टा चलाउन पुग्ने पानी हुन्छ’, उनी भन्छन्, ‘पानी बेच्न मलाई केही गाह्रो छैन । लौन पानी जोडिदिनुपर्यो भन्दै मान्छेहरू हात जोड्दै आउँछन् ।’ अहिले हरमटारी क्षेत्रका २५ भन्दा धेरै घरलाई मूलको पानी बेच्ने गरेको उनको भनाइ छ ।
‘खानेपानी भन्ने तर खान नहुने पानी दिने साना सहरीको जस्तो होइन नि मेरो पानी’, ठट्टा गर्दै उनी भन्छन्, ‘लौ हेर्नुस्, हामी यो पानी सिधै पिउँछौं । घरको आडैमा बोसेपानी धारा छ । बजारभरिका मान्छे यो धारामा खानेपानी लिन आउँछन्, तर हाम्रो घरमा डेरा गरेर बस्ने कोही पनि बाहिरको धारामा जाँदैनन् । सबले यही पानी पिउँछन् ।’
उनको आँगनमा बजारभरिको घरमा जोड्ने पाइपको जालो छ । घण्टा–घण्टाको पालो मिलाएर उनी सबैको पाइपमा पानी जोडिदिन्छन् । ‘ठ्याक्कै कतिजनाले जोडेका छन् भन्न जान्दिन तर कम्तीमा पनि २५ जनाभन्दा धेरै छन्’, उनी भन्छन्, ‘छ न त बजारमा साना सहरीको पानी पनि छ, दरौंदीको पानी पनि ल्याएका छन्, तर त्यो पानी खाँदैनन् । हाम्रो त मूलको चिसो खानेपानी हो । सिधै खान मिल्ने ।’
आँगनमा पानी किन्नेहरूको पाइपको झुत्तो देखेर उनी दंग पर्छन् भने बटुवा छक्क पर्छन् । उनको आँगन हुँदै हिँड्ने जो कोहीको पनि आँखा एक भारी पाइपमा लागिहाल्छ । ‘एकघण्टा गटट’ पानी गएपछि जति ठूलो ट्यांकी भए पनि भरिन्छ । दिनदिनै ट्यांकी पनि किन भर्नुपर्यो र ?
एकदिन, दुई दिन बिराएर ट्याङ्की भरे पनि छेलोखेलो पुगिहाल्छ’, उनी भन्छन्, ‘छेलोखेलो पानी पाउने भएपछि सबै जना खुसीले महिनाको एक हजार तिर्छन् ।’
पानीले धानेपछि उनले अरू पेसा व्यवसायको झन्झट गरेनन् । तर, छोराहरूलाई भने यसले ‘बिजनेस’ पुगेन । त्यसैले तीन छोरामध्ये एउटा मात्र घरमा छन्, अरू दुई रोजगारीका लागि नारायणगढ र काठमाडौं पुगेका छन् । भन्छन्, ‘मेरो अरू कमाइ केही छैन । अरू घडेरी बेच्नतिर लागे । म पानी
बेचेर घरपरिवार चलाइ रहेको छु।’