उपधारा २ बमोजिम दाबी गर्ने अन्तिम दिन आज

कोसीमा सभामुखको राजीनामापछि पनि स्थायी सरकार नबन्ने

कोसीमा सभामुखको राजीनामापछि पनि स्थायी सरकार नबन्ने
फाइल तस्बिर।

विराटनगर : कोसी प्रदेशमा बहुमत पुर्‍याएर मुख्यमन्त्रीमा दाबी गर्न प्रदेश प्रमुख पर्शुराम खापुङले दिएको समयसीमा आज (मंगलबार) सकिँदैछ । 

खापुङले अपरान्ह ५ बजेसम्मको समय दिएर संविधानको धारा १६८ को उपाधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रदेशसभा सदस्य (प्रदेश सांसद)लाई सरकारको नेतृत्वमा दाबी गर्न आह्वान गरेका छन् ।

नेपाली कांग्रेस नेतृत्वको गठबन्धनले सभामुख बाबुराम गौतमलाई राजीनामा गर्न लगाएर सरकारको नेतृत्वमा दाबी गर्ने तयारी गरेको छ । समयसीमाभित्रै सरकारको नेतृत्वका लागि दाबी पेस गर्ने गठबन्धनको तयारी छ । 

तर, गठबन्धनका तर्फबाट मुख्यमन्त्री को बन्ने भन्ने टुंगो लागेको छैन । नेपाली कांग्रेस कोसी प्रदेश संसदीय दलका प्रमुख सचेतक भूपेन्द्र राई सरकारको नेतृत्वका लागि कांग्रेस र नेकपा (माओवादी केन्द्र)ले दाबी गरिरहेको बताउँछन् । ‘सरकारको नेतृत्व कुन दलले गर्नेभन्ने यकिन भइसकेको छैन । यद्यपि, पूर्वसहमति अनुसार कांग्रेस संसदीय दलका नेता उद्धव थापाले मुख्यमन्त्रीमा दाबी गर्नुहुन्छ होला’,उनले भने, ‘राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकार निर्माणमा गठबन्धनलाई साथ नदिने पक्का भइसकेको छ । कसरी अगाडि बढ्नेभन्ने बारेमा निर्णय लिन काठमाडौंमा गठबन्धन दलको बैठक बस्दैछ ।’

राईका अनुसार बैठकबाट भएको निर्णय मानेर अघि बढ्नुको विकल्प गठबन्धनमा छैन । अर्कोतर्फ बहुमत पुर्‍याउन सभामुखलाई राजीनामा गराएर पनि अघि बढ्न सकिने उनले बताए । ‘राजीनामा दिनु हुन्छ कि हुँदैनभन्ने विषय सभामुखको कुरा हो । तर, राप्रपालाई गठबन्धनमा ल्याउने सम्भावना सकियो,’ राई भन्छन्, ‘सभामुखको राजीनामा अन्तिम विकल्पका रूपमा लिइएको छ । राजीनामापछि पनि स्थायी सरकार बन्ने सम्भावना देखिँदैन ।’ 

सभामुखसहितको हस्ताक्षर लिएर दाबी पेस गरेका कांग्रेस दलका नेता थापालाई प्रदेश प्रमुख खापुङले गत असार २१ गते मुख्यमन्त्री नियुक्त गरेका थिए । तर, संविधानविपरीत गरिएको थापाको नियुक्तिलाई सर्वोच्च अदालतले बदर गरिसकेको छ । 
कोसीको ९३ सदस्यीय प्रदेशसभा (संसद)मा बहुमतका लागि ४७ सांसद आवश्यक पर्छ । कांग्रेसका २९, माओवादीका सभामुखसहित १३, नेकपा (एकीकृत समाजवादी)का ४ र जनता समाजवादी पार्टी (जसपा)का १ गरेर गठबन्धनसँग ४७ सांसद पुग्छन् । सभामुखले राजीनामा नदिएको खण्डमा ४६ मात्रै पुग्छ । राजीनामा नदिए सरकार गठनमा सभामुख सहभागी हुन पाउँदैनन् । प्रदेशसभाकै ठूलो दल नेकपा (एमाले)का ४० र एमालेसँग गठबन्धनमा रहेको राप्रपाका ६ गरेर एमाले–राप्रपा गठबन्धनसँग ४६ सांसद छन् । 

एमाले प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्की गत पुस २४ गते मुख्यमन्त्री नियुक्त भएका थिए । संसदबाट विश्वास गुमाएपछि उनी नेतृत्वको सरकार असार १५ गते ढलेको थियो । त्यसपछि संविधान मिचेर थापाको नेतृत्वमा नयाँ सरकार गठन भयो । त्यसलाई सर्वोच्चले बदर गरेका कारण अर्को नयाँ सरकार गठन गर्नुपर्ने बाध्यता  आइलागेको हो । 

सभामुखकै राजीनामाको विषयलाई लिएर पनि माओवादीभित्र विवाद छ । किनकि सभामुखको राजीनामाले पनि ३० दिनको मात्रै सरकार बन्ने छ । अर्कोतर्फ सभामुख गौतमले पनि राजीनामा नदिने अडान लिइरहेका छन् । यदि पदबाट राजीनामा दिएर सरकार गठनमा उनी सामेल भए भने पनि त्यो सरकार दीगो हुने देखिँदैन । विश्वासको मत प्राप्त गर्न नसके ३० दिनमै सरकार ढल्ने छ । 
माओवादी सांसद गणेश उप्रेती ‘सुशील’ सभामुखलाई राजीनामा गराउनु ठीक नहुने बताउँछन् । विश्वासको मत पाउने ग्यारेन्टी नभएसम्म पद छाड्न लगाएर सभामुखलाई सरकार गठनमा सहभागी गराउने निर्णय आत्मघाती हुने उनको भनाइ छ । 

सभामुखलाई राजीनामा गराउँदा पनि विश्वासको मत प्राप्त गर्न सक्ने आधार नरहेको उप्रेती बताउँछन् । 

सभामुख गौतम माओवादीबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् । उपसभामुख सिर्जना दनुवार एमालेकी हुन् । गौतमले राजीनामा दिए एमालेले पनि उपसभामुखलाई राजीनामा गर्न लगाउने एमाले प्रदेशसभा सदस्य लीलाबल्लभ अधिकारी बताउँछन् । ‘परिस्थिति हेरेर पार्टीले निर्णय लिन्छ,’ उनले भने, ‘उपसभामुखले राजीनामा दिने अवस्था आउन सक्छ ।’ 

नयाँ विकसित घटनाक्रम अनुसार एमाले अघि बढ्ने जानकारी अधिकारीले दिए । ‘बहुमत पुर्‍याएर सरकारको नेतृत्वमा दाबी गर्ने समय आज साँझ ५ बजेसम्मको छ । एमालेले सबैसँग परामर्श गरिरहेको छ,’ उनले भने, ‘सभामुखको राजीनामा आउँछजस्तो लाग्दैन । राजीनामा नदिए गठबन्धनको बहुमत पुग्दैन ।’ उनले बहुमत पुग्ने अवस्थाबाहेक एमालले सरकारको नेतृत्वमा दाबी नगर्ने बताए । भने, ‘एमालेले कच्चा दाबी गर्दैन । बहुमत पुग्यो भने मात्रै दाबी गर्छ । ४६ लाई लिएर बहुमत दाबी गर्न मिल्दैन पनि ।’
संविधानको धारा १६८ (२) बमोजिम सरकार गठन हुन नसकेमा उपधारा ३ बमोजिमको प्रक्रियामा जानुपर्ने हुन्छ । उपधारा ३ मा पुग्नुपर्ने अवस्था आउँदा एमालेकै नेतृत्वमा नयाँ सरकार बन्ने र हिक्मत कार्कीले नै मुख्यमन्त्री हुने भएकाले उपधारा २ बमोजिम सरकारको नेतृत्वका लागि हतार गर्नुपर्ने कुनै कारण नरहेको अधिकारीले बताए । उपधारा २ बमोजिम सरकार गठन हुन नसकेमा ३ बमोजिम प्रदेशसभाको सबैभन्दा ठूलो (धेरै सांसद भएको ) दलको नेतालाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्नसक्ने व्यवस्था छ । 

अधिकारी अब जुन सरकार बनेपनि नेतृत्व एमालेले नै गर्ने र त्यसको विकल्प नभएको बताउँछन् । ‘अर्कोतर्फ सभामुख र उपसभामुखको अनुपस्थितिमा ककसले सभा सञ्चालन गर्नेभन्ने ‘रोस्टर’ (सूची) बनेको छ । त्यो सूचीमा ४ जना सांसदको नाम समावेश छ,’ उनले भने, ‘तर, दुवै (सभामुख र उपसभामुख)ले राजीनामा दिएमा ज्येष्ठ सदस्यले बैठक सञ्चालन गर्नुपर्ने हुन्छ । ज्येष्ठ सदस्य पनि गठबन्धनबाटै (कांग्रेसका गयानन्द मण्डल) हुनुहुन्छ ।’ 

सभामुख र उपसभामुखको अनुपस्थितिमा भने सूचीमा समावेश भएका सांसदहरु अम्बरबहादुर विष्ट (राप्रपा), मालतीकुमारी लिम्बू (एमाले), इस्रायल मन्सुरी (कांग्रेस) र गीता तिमल्सिना (माओवादी)मध्ये एक जनाले प्रदेशसभा बैठकको अध्यक्षता गर्ने छन् । अर्कोतर्फ गयानन्द मण्डललाई मन्त्री बनाएर बैठकको अध्यक्षता एमालेबाटै गराउने अर्को रणनीति पनि गठबन्धनले अपनाउन सक्ने बताइन्छ । 

त्यसपछि एमालेका रोहित कार्की ज्येष्ठ सदस्य छन् । तर, आफूले अध्यक्षता गर्नुपर्ने अवस्था आउँदा एमालले पनि कार्कीलगायतका ज्येष्ठ सदस्यलाई बैठकमा अनुपस्थित गराउने तयारी गरेको छ । गठबन्धनबाट कुनै सांसदले बैठकको अध्यक्षता गर्नुपर्ने अवस्था आउँदा विश्वासको मत लिने समयमा ४७ पुग्ने अवस्था हुँदैन । बैठकको अध्यक्षले बराबर मत भएमात्रै निर्णायक मत दिन पाउने व्यवस्था छ । प्रतिपक्षी दलले बैठकमा आफ्ना सांसद अनुपस्थित गराउँदा मत बराबर हुने अवस्था रहँदैन । त्यसो हुँदा अध्यक्षले पनि निर्णायक मत दिन पाउँदैनन् । 

‘जसरी पनि गठबन्धनले सरकारको नेतृत्व गर्न पाउने अवस्था बन्दैन,’ एमाले सांसद अधिकारी भन्छन्, ‘२–४ जना सांसद अनुपस्थित गराउँदा एमाले र राप्रपालाई केही फरक पर्दैन ।’ यदि गठबन्धनको नेतृत्वमा सरकार बनिहालेमा त्यो ३० दिनका लागि मात्रै हुने उनले बताए । 

‘प्रदेशसभामा मत बराबरी हुन एमालेले प्राविधिक हिसाबले दिँदैन । सभामुखले राजीनामा दिएर पनि गठबन्धनको ३० दिनको भन्दा बढीको सरकार बन्दैन,’ अधिकारीले भने, ‘गठबन्धनको नेतृत्वमा स्थायी सरकार बन्ने कुनै सम्भावना छैन । एमालेले आफ्ना मान्छे अनुपस्थित गराएर गठबन्धनकै अध्यक्षताको अवस्थामा पुर्‍याउने छ ।’ विश्वासको मत लिने प्रयोजनका लागि बैठक बस्दा सत्ता पक्षकै ज्येष्ठ सदस्यले बैठकको अध्यक्षता गर्नुपर्ने बाध्यता एमालेले बनाउने उनको भनाइ छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.