राप्रपा तटस्थ बस्छ, कोसीमा कांग्रेस र एमाले मिलेर सरकार बनाउनु : लिङ्देन
विराटनगर : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले कांग्रेस र एमाले मिलेर सरकार गठन गर्न आग्रह गरेका छन्। मंगलबार विराटनगर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै लिङ्देनले कोशी प्रदेशमा कांग्रेस र एमाले अलग-अलग बस्दा मात्र राप्रपा निर्णायक हुने बताएका हुन्।
उनले कांग्रेस र एमाले मिलेर सरकार चलाउनु उपयुक्त हुने सुझाव दिए। उनले सरकार गठनको सवालमा राप्रपा तटस्थ बस्ने बताए।
संविधानको धारा १६८ को उपधारा ५ मा जाँदा मात्र राप्रपा निर्णायक हुने बताए। ‘कोशी प्रदेशमा कांग्रेस र एमाले अलग अलग बस्दा मात्रै हामी निर्णायक हौँ। त्यो परिस्थिति नल्याउन हामीले भनेका छौँ।’ लिङ्देनले भने,‘संविधानको धारा १६८ को २, ३ उपधाराहरुको प्रयोग गर्दै जाँदा ५ को उपयोग गर्ने देखिएमात्र आफूहरु निर्णायक हुन्छौं।’
लिङ्देनले सरकार बनाउन सभामुखलाई राजीनामा दिन लगाउनु उपयुक्त नहुने धारणा राखे। उनले भने, ‘सत्ता पक्षबाट सभामुखले राजीनामा दिएपछि उपसभामुखले राजीनामा दिनुहोला, ज्येष्ठ सदस्यलाई मन्त्री बनाउने भन्दै हुनुहुन्छ उहाँहरुले। एमाले एमालेले ज्येष्ठ सदस्यलाई उपस्थित गराउँछ त ? अनुपस्थित गराउने होला। राप्रपाको जेष्ठ सदस्यता होला, उसले पनि अनुपस्थित गराउँला। यसले मुलुक संविधानले परिकल्पना नगरेको बाटोमा जाँदैछ।’