उपराष्ट्रपति यादव मटिहानीमा, नेपालको अग्लो झण्डा फहराइयो (फोटो फिचर)

काठमाडौं : उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग महोत्तरीको मटिहानी नगरबासीले मटिहानीका प्राचीन धार्मिक मठमन्दिर तथा देशको जेठो गुरुकूललाई विश्व सम्पदामा सूचीकृत गराउन माग राखेका छन्।
उपराष्ट्रपति यादवले मटिहानीको तस्मैया बाबा पार्कका ११० फिट अग्लो नेपालको झण्डाको झण्डोतोलनसमेत गरेका छन्।
पौराणिक तथा ऐतिहासिक नगर मटिहानीमा मटिहानी नगरपालिकाको तर्फबाट मेयर हरिप्रसाद मण्डलले भव्य समारोहका बीच नागरिक अभिनन्दन गर्दै उनले विकास, निर्माण, शिक्षा, स्वास्थ्य, धार्मिक पर्यटन, प्राचीन मठमन्दिरको संरक्षणका लागि माग पत्र प्रस्तुत गरे।
मटिहानी नेपालको मधेस प्रदेशअन्तर्गत महोत्तरी जिल्लाको पूर्वी-दक्षिणी कुनामा नेपाल-भारत सीमाको काँखमा अवस्थित एउटा पौराणिक र ऐतिहासिक नगर हो। राजर्षि जनक, माता जानकी र मर्यादा पुरुषोत्तम श्री रामसँग मटिहानीको प्रत्यक्ष नाता जोडिएको छ। यसै ठाउँको पवित्र माटो उत्खनन गरेर नै सीतारामजीको शुभ विवाहमा यज्ञ वेदी निर्माण गरिएको थियो। बि.सं १७५० तिर महान् तपस्वी तस्मैया बाबाले स्थापना गरेको लक्ष्मीनारायण मठ नेपालको सबैभन्दा ठूलो वैष्णव मठ हो। यो नै सबैभन्दा ठूलो राजगुठी अन्तर्गतको मठ रहेको मेयर मण्डलले उपराष्ट्रपतिलाई जानकारी गराए। उनले भने, ‘मठद्वारा नै बि.सं १७७५ मा स्थापित राजकीय संस्कृत माध्यमिक विद्यालय (संस्कृत पाठशाला) नेपालकै प्रथम र ३०५ वर्ष पुराना विद्यालय हो।’
निर्दलीय पञ्चायती व्यवस्थाविरुद्ध प्रजातन्त्र प्राप्तिका लागि भएको आन्दोलनमा वीरगति प्राप्त शहीद केशव कोइरालाको शहादत स्थल र उनको स्मारक पनि रहेको छ। ‘मटिहानी प्राचीन कालदेखि नै यस क्षैत्रकै ख्यातिप्राप्त हाटबजारको रुपमा नेपाल-भारतमा सुपरिचित रहिआएको छ। लक्ष्मीनारायण मठको सान्निध्यमा रहेको लक्ष्मीसागरको महिमाको वर्णन बृहत् विष्णु पुराणमा पाइन्छ,' मेयर मण्डलले उपराष्ट्रपति यादवलाई भने, ‘त्यसै महिमालाई उजागर गर्नका लागि उक्त लक्ष्मीसागरमा विगत तीन वर्षदेखि हरेक गुरुवार साँझ नगरपालिकाद्वारा हजारौं श्रद्घालु भक्तजनको सहभागितामा भगवान् लक्ष्मीनारायणको महाआरतीको आयोजना हुँदै आएको छ। ’ त्यसैले मटिहानी नगरलाई प्राचीन नगरको रूपमा विकास गरिनुपर्नेमा मेयर मण्डलले उपराष्ट्रपतिसँग माग राखे।
नेपाल-भारत सीमाको दशगजा क्षेत्रमै अवस्थित मटिहानी नगरनिवासीहरु सीमा रेखाका सच्चा प्रहरी रहेको मेयर मण्डलले उनलाई जानकारी गराए। मधेस एवं मधेसी जनतामा रहेको त्यही राष्ट्रियता र राष्ट्र प्रेमले ओतप्रोत भावनाको प्रष्फुटनस्वरुप सर्वोच्च राष्ट्रिय झण्डाको आरोपण गरिएको व्यहोरा निवेदन गरे।
मटिहानीको अतीत गौरवशाली रहे पनि अचेल महान् परम्परालाई जोगाइराख्न र विकासका प्रक्रियाहरू चलाउन अनेक चुनौतीहरू रहेको मटिहानी नगरपालिकाले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !
