हिंसा न्यूनीकरणमा जुटे अभिभावक
दैलेख : गुराँस गाउँपालिका–२ डुडापोखरा दलित समुदायको बाहुल्यता रहेको गाउँ हो। यहाँ ६०–६५ घरपरिवार दलित समुदाय छन्।
विपन्नताका कारण अधिकांश बालबालिकाहरू बीचमै पढाइ छाड्नुपर्ने बाध्यतामा छन्। गरिबीको रेखामुनि रहेका यहाँका दलित समुदाय अधिकांश समय मजदुरीका लागि भारतमै बिताउँछन्।
कतिपय युवाहरू मजदुरीका लागि खाडीमुलक पुगेका छन्। भारत र खाडीमुलक जान नसकेकाहरू गाउँमै ज्यालामजदुरी गरेर जीविकोपार्जन गरिरहेका छन्।
भारतमा मजदुरी गरेर बिताउने मध्येका एक हुन्, स्थानीय हरिलाल नेपाली। उमेरले ३० वर्ष पुगेका हरिलाल आर्थिक अभावका कारण पाँच कक्षा पढ्दा पढ्दै पढाइ छाडेर भारत धाउन थाले। विवाहवारी गरे। उनको तीन सन्तान छन्। गाउँको पाखो बारीमा उत्पादन भएको खाद्यान्नले दुई महिना पनि खान पुग्दैन्। उनले भारतमा मजदुरी गरेर पत्नि र तीन छोरीको पालनपोषण गरिरहेका छन्। पछिल्लो पटक झण्डै एक वर्ष भारतमै बिताएका हरिलाल गत फागुनमा मात्रै घर फर्किएका थिए।
उनको गाउँमा हिंसारहित कक्षा सञ्चालन हुने तयारी चल्दै थियो। भारतको गुजरातमा मजदुरी गरी फर्किएका हरिलाल सोही कक्षामा सहभागी हुने मौका पाए। कक्षामा सहभागी भएपछि उनको जीवनमा थुप्रै परिवर्तन देखिएको छ।
घरमा छोरीहरूलाई गाली गर्ने, पिट्ने, हप्काउने, समयमा विद्यालय नपठाउने गर्थे उनी। ‘थाहा नपाउँदासम्म छोरीहरूलाई हिंसामा पारिरहेको रहेछु, हिंसारहित कक्षामा सहभागी भएपछि छोराछोरीलाई हिंसा गर्नुहुन्न भन्ने बारे सचेत भएको छु,’ हरिलालले भने।
कक्षामा महिनावारी हुँदा विभेद गर्न नहुने, छोरीहरूलाई २० वर्ष उमेर पूरा नहुँदै विवाह गरिदिन नहुने लगायतका विषयहरू सिक्न पाएको उनको भनाइ छ। ‘पहिला पत्नि, छोराछोरी र गाउँका अन्य बच्चाहरूलाई हिंसा गरिरहेका रहेछौँ, अब जान्ने भयौँ आफू पनि कसैलाई हिंसा गर्दैनौं, अरूलाई पनि हिंसा गर्न दिन्नौं,’ उनले भने।
उनले छोरीहरूको कलिलै उमेरमा विवाह नगर्ने र हिंसाविरुद्ध सक्रिय रहने प्रण गरेका छन्। हिंसारहित कक्षामा हरिलालमात्रै सहभागी भएनन्। उनकी जेठी छोरी मञ्जु नेपाली पनि सहभागी हुने अवसर पाइन्। गाउँकै जेपी प्राविमा कक्षा पाँचमा अध्ययनरत मञ्जु भन्छिन् ‘कक्षामा सहभागी भएपछि बुबाआमा र गाउँका अन्य व्यक्तिहरूले गर्ने व्यवहारमा परिवर्तन आएको छ,’ उनले भनिन्।
हरिलाल र उनकी छोरी जस्तै स्थानीय सरिता नेपाली पनि हिंसा रहित कक्षामा सहभागी हुने अवसर पाइन्। चार महिना कक्षामा नियमित सहभागी भएकी सरिता भन्छिन् ‘बालबालिकालाई माया गर्नुपर्छ, हिंसा गर्नुहुन्न, कसरी संरक्षण गर्ने, सरसफाइमा कसरी ध्यान दिने भन्ने बारे थाहा नै थिएन्, कक्षामा सहभागी भए पनि मेरो आँखा खुलेको छ।’
बालविवाह गर्नु गराउन हुँदैन भन्ने बारे कक्षामै सिकेको उनको भनाइ छ। महिनावारी हुँदा बार्ने गरेकी उनी भन्छिन् ‘कक्षामा महिनावारी बार्नु गलत हो भन्ने सिकेका छौँ, म आफैले महिनावारी बार्न छाडिसके, गाउँमा महिनावारी बार्नु गलत हो भनेर सिकाउने गरेको छु,’ उनले भनिन्।
उनका तीन सन्तान छन्। दुई छोरा र दुई छोरी। उनका श्रीमान खेती किसानी गर्छन्। छोराछोरीबीच विभेद गर्नु हुँदैन भन्ने ज्ञान पनि कक्षाबाटै पाएको सरिता बताउँछिन्। हाल हिंसाविरुद्ध अग्रपंतीमा उभिएकी छन्।
यी केही प्रतिनिधिमुलक पात्र हुन्। उनीहरू जस्तै गुराँस गाउँपालिकाका विभिन्न टोलमा सञ्चालित हिंसारहित कक्षामा सहभागी अभिभावकहरू बालबालिकामाथि हुने हिंसाबारे सचेत बनेका छन्। उनीहरू घरपरिवार र समाजलाई नै सचेत बनाउने अभियानमा होमिएका छन्। यहाँ सञ्चालित हिंसा रहित कक्षा अभिभावक र बालबालिकाका लागि छुट्टा छुट्टै चलेको थियो।