बस्तीमा जंगली जनावरको आतंक
टीकापुर : कैलालीको सुदूरपूर्वी टीकापुरमा २०७९ असार ५ गते जंगली हात्तीको आक्रमणबाट टीकापुर नगरपालिका-१ की ५० वर्षीया टंक सोडारीको ज्यान गयो।
वडा नम्बर २ स्थित कर्णाली नदीको सनकट्टीमा तटबन्धमा मजदुरी गर्न गएकी सोडारीको घटनास्थलमै ज्यान गयो। टीकापुर नगरपालिका-१ का ६० वर्षीय मन्सुराम चौधरीको २०७७ चैत्र २१ गते जंगली हात्तीले नै ज्यान लियो। जानकी गाउँपालिका-६ स्थित जंगलमा गएका उनलाई हात्तीले आक्रमण गरेको थियो।
२०७९ मंसिर ८ गते टीकापुर भुराखानी सामुदायिक वनमा घाँस काट्न गएकी ढुन्की कठायत चितुवाको आक्रमणबाट घाइते भइन्। २०७९ चैत २४ गते टीकापुर नगरपालिका वडा नम्बर ८ श्रीलंकाका २७ वर्षीय पवन आउजी चितुवाको आक्रमणमा घाइते भए।
तीन वर्ष अघि चितुवा दिउँसै टीकापुर बजार क्षेत्रमै पसेर स्थानीयलाई आक्रमण गर्यो। चितुवाको आक्रमणमा परेर ट्राफिक प्रहरी देवीराम धिताल घाइते भए।
दुई महिना अघि टीकापुर नगरपालिका-२ विजयनगरको बस्ती नजिकै डमरुसहितको पाटेबाघ देखा पर्यो। गत वर्षको असार महिनामा विश्वमै दुर्लभ मानिने पाटेबाघ टीकापुर नगरपालिका -२ स्थित जनशक्ति सामुदायिक वनभित्र मृतअवस्थामा फेला पर्यो। शनिबार मात्रै जंगली हात्तीले टीकापुर नगरपालिका-२ की कालीदेवी सुनारको घर भत्कायो।
टीकापुर नगरपालिकाको विपद् शाखा प्रमुख निर्मला चौधरीले उपलब्ध गराएका यी त केही प्रतिनिधि घटनाहरू मात्र हुन्। बर्दिया राष्ट्रिय निकुञ्जसँगै जोडिएको टीकापुर क्षेत्रमा वर्षेनी जंगली जनावरको आक्रमण बढ्दै गएको छ।
निकुञ्जबाट कर्णाली नदी तर्दै सजिलै हात्ती, बाघ, चितुवा जस्ता जंगली जनावरहरू बस्तीमै पसेर आक्रमण गर्न थालेका हुन्। ‘निकुञ्जबाट सजिलै वन्यजन्तु टीकापुर क्षेत्रमा प्रवेश गरेर आक्रमण गरिरहेको घटनाहरू बढ्दै गएका छन्’, चौधरीले भनिन्
निकुञ्जलाई कर्णाली नदीले छुट्याएको छ। नदीको कैलाली किनारतर्फ रहेका दर्जन बढी सामुदायिक वनमा निकुञ्जबाट आउने जंगली जनावरहरू बस्तीमा पस्ने गरेका छन्।
कर्णाली जैविक मार्गमा पर्ने कर्णाली नदीमा सत्ती कर्णाली, भगरैया, शाहीपुर, भैरवनाथ, खोटेना भुराखानी, रानी कर्णाली, शितल, जनशक्ति, कैलाशेश्वर, जगतपुर, शिवशक्ति, कालिका, छतिवन, ऐश्वर्य र महिला लगायत सामुदायिक वनहरू छन्।
यी वनहरूमा बाघ, हात्ती, चितुवा जस्ता जनावरहरू नभए पनि निकुञ्जबाट आउने जनावरहरू बस्ती क्षेत्रमा प्रवेश गरेर दुःख दिने गरेको शिलत सामुदायिक वनका अध्यक्ष सिद्धराज ठकुल्लाले बताए।
‘कर्णाली नदी तरेर हरेक वर्षा र हिउँदमा हात्तीको बथान आउँछन्, बाघ, चितुवा देखिने थालेको ७/८ वर्ष भयो’ अध्यक्ष ठकुल्लाले भने ‘जंगल मासिँदै जानु, नदीको उत्खनन बढ्नु र वन्यजन्तुलाई आहारको कमी हुनुले बस्तीतर्फ आउने गरेका छन्।’
अध्यक्ष ठकुल्लाले निकुञ्जसँगै जोडिएको टीकापुर क्षेत्रमा हुने वन्यजन्तुको प्रभावबारे निकुञ्जले ध्यान दिनुपर्ने बताए। ‘निकुञ्जबाट आएर जनावरले क्षति गर्ने, त्यसको न्यूनिकरणका लागि निकुञ्ज जिम्मेवार नहुनुले समस्या निम्त्याएको छ’ ठकुल्लाले भने ‘स्थानीय सरकार, निकुञ्ज र सामुदायिक वनको सहकार्य आवश्यक छ।’
बर्दिया राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत आशिष न्यौपानेले जंगल नजिक भएको बस्ती र जनावर हिँड्ने बाटोमा बस्ती बसाइएका कारण पनि जंगली जनावरले आक्रमण गर्ने गरेको बताए। ‘निकुञ्ज बासस्थान संरक्षण गरिएको क्षेत्र मात्रै हो, जनावरहरू त बाहिर आउनेजाने गर्छन्’ न्यौपानेले भने ‘जनावरको परम्परागत बाटोमा भएका अवरोधका कारण पनि बस्तीमा पस्ने गरेका छन्।’
निकुञ्ज तथा राष्ट्रिय वन क्षेत्रमा वन्यजन्तुबाट क्षति भए क्षतिपूर्ति समेत दिने गरेको छ। ‘ज्यान गए, घाइते भए, भौतिक संरचनामा क्षति भएका खण्डमा निर्देशिका बमोजिम क्षतिपूर्ति दिने व्यवस्था छ’ सूचना अधिकारी समेत रहेका न्यौपानेले भने ‘वन्यजन्तुको संरक्षणका लागि समुदायको सहभागिता आवश्यक हुन्छ।’
निकुञ्ज र राष्ट्रिय वनले क्षतिपूर्ति दिने व्यवस्था निकै झण्झटिलो भएको पीडितहरू बताउँछन्। बर्दिया राष्ट्रिय निकुञ्जमा सन् २०२२ मा गरिएको बाघ गणना अनुसार १ शय २५ बाघहरू रहेका छन्। देशभर ३ शय ५५ बाघ छन्।
विभिन्न अध्ययन अनुसार निकुञ्जमा १ सय २० देखि ५० सम्म जंगली हात्तीहरू रहेका छन्। निकुञ्ज क्षेत्रमा रहेका जनावरहरू बस्तीमा आएर दुःख दिने गरेको स्थानीयहरू बताउँछन्।