हाम्रो पासपोर्ट उत्तर कोरियाको भन्दा कमजोर, किन ?

हाम्रो पासपोर्ट उत्तर कोरियाको भन्दा कमजोर, किन ?

काठमाडौं : कुनै समय यस्तो पनि थियो– नेपालीहरू जर्मनीमा भिसा बिना पुग्थे। त्यहाँ पुगेपछि प्रवेशाज्ञा पाउँथे। तर, अहिले समय फेरिएको छ।

जर्मनीको भिसा पाउन लाखौं खर्चन नेपालीहरू तयार हुन्छन्। किनभने नेपालीको पासपोर्ट अब कमजोर बनेको छ। यो त एउटा उदाहरण मात्रै हो। नेपालको पासपोर्ट युद्धग्रस्त मुलुक सुडान, वैश्विक सम्बन्धबाट अलग्गिएको उत्तर कोरियाभन्दा पनि कमजोर छ। १ सय ९९ देशमध्ये छैटौं कमजोरमा पर्छ नेपालको पासपोर्ट। नेपाली पासपोर्टधारी २ सय २७ देश र गन्तव्यमध्ये १ सय ८९ ठाउँमा पुग्नुपर्दा सीधै जान पाउँदैनन्, भिसा नै चाहिन्छ।

यो हाम्रो नियती होइन, हामीले विगतमा गरेको व्यवहारको परिणाम हो। विगतमा नेपालीले थुप्रै भिसा नियम उल्लंघन गरे। आमसर्वसाधारणमात्र होइन, कूटनीतिज्ञ र सरकारी अधिकारीले नै पासपोर्टको दुरुपयोग गरे। विदेश घुम्न जाँदा उतै लुके। विदेश गएका नेपालीहरू आपराधिक तथा गैरकानुनी गतिविधिमा संलग्न भए। अमेरिका र युरोप भनेपछि लाखौं रुपैयाँ खर्चेर पनि जान तयार भए। महिनौं हिँडेर अमेरिका पुगेको समाचार बाहिरिए।

यस्तै कारण विकसित मुलुकले नेपालीहरू ‘आएपछि फर्कंदैनन्’ भन्ने धारणासम्म बनाए। विज्ञ भन्छन्, ‘यहीकारण आज विश्व मानचित्रमा हामी खस्कियौं।’ हेन्ली एन्ड पार्टनर्सले सार्वजनिक गर्ने तथ्यअनुसार नेपालीहरू जम्मा ३८ देशमा मात्र बिनाभिसा प्रवेश गर्न पाउँछन्। यो वर्षको तेस्रो त्रैमासिक अवधिको वरीयताक्रमअनुसार नेपाल ९९औं स्थानमा छ। यो सूचीमा सिंगापुर पहिलो स्थानमा छ। सिंगापुरका नागरिक संसारकै शक्तिशाली पासपोर्ट बोकर १ सय ९१ देशमा बिनाभिसा प्रवेश गर्न सक्छन्।

नेपाल र भारतबीचको खुला सिमानाका कारण दुई देशबीच स्वतन्त्र आवागमन छ। भारतबाहेक सिंगापुर, पाकिस्तान, फिलिपिन्स जानका लागि भिसा आवश्यक पर्दैन। कुल १० देशमा नेपालीका लागि भिसा आवश्यक पर्दैन। बंगलादेश, कम्बोडिया, श्रीलंका, माल्दिभ्सललगायत २७ देशले नेपालीलाई अन–अराइभल भिसा दिन्छन्। पासपोर्ट वरीयतामा नेपालभन्दा मुनि अफगानिस्तान, सिरिया, यमन, सोमालिया, इराकलगायत द्वन्द्व फैलिएको मुलुक मात्र छन्। अर्थात्, विश्व शान्तिको आह्वान गर्ने, बुद्ध जन्मिएको देशलाई पनि विदेशीले पत्याउन छाडेका छन्।

कति देशमा बिनाभिसा वा अन–अराइभल भिसाको भरमा प्रवेश गर्न सकिन्छ ? भन्ने आधारमा हेन्ली एन्ड पार्टनर्सले पासपोर्टको वरियताक्रम निर्धारण गर्छ। कुनै पनि देशले त्यस्तो देशलाई मात्र बिनाभिसा वा अन–अराइभल भिसाको आधारमा प्रवेश अनुमति दिन्छ, जसलाई उसले पत्याउँछ। नेपाललाई पत्याउने देशहरू नेपालकै समकक्षी, नेपालभन्दा कमजोर आर्थिक स्थिति भएका मुलुकमात्र छन्। सिंगापुर एउटामात्र देशले जसले नेपाललाई माया गर्दै आएको छ, त्यो पनि गोर्खा सैनिकका कारण। छिमेकी मुलुक भुटानले समेत नेपाललाई बिनाभिसा प्रवेश दिँदैन।

युरोपेली मुलुकहरूले नेपालीलाई अन–अराइभल भिसा दिने गरेकोमा नेपालीहरू भिसा सकिएपछि पनि त्यही लुकेर बस्न थाले, पासपोर्ट च्यातेर अनागरिक बने। आज एउटा पनि त्यस्तो देश छैन, जहाँ एउटा नेपाली बिना भिसा प्रवेश गर्न पाउँछ।

पासपोर्टको वरियताक्रम कम हुनु भनेको देश र नागरिकको पहिचान खस्किएको छ भन्ने इंगित गर्छ। अन्तर्राष्ट्रिय स्तरमा नेपाललाई हेर्ने नजर खस्किएको जनाउँछ। नेपालीहरू के काम गर्छन् ? वैदेशिक रोजगारीमा कुन देश जान्छन् ? संगठित अपराधमा कति संलग्नता छन् ? सिमापार व्यापारमा कस्तो हैसियत छ ? राष्ट्रिय अर्थतन्त्र कस्तो छ ? कतिको खर्च गर्न सक्छन् ? यी यस्तै आधारमा पासपोर्टको स्तरले गर्दा कमजोर साबित भएको हो।

पासपोर्ट यति कमजोर किन भयो ?

विदेशीले अन–अराइभल भिसा कुन–कुन मुलुकका नागरिकलाई दिन्छ भन्ने सबैको आआफ्नै प्राथमिकता र मान्यता छ। जुन देश बढी शक्तिशाली छ, जसको अर्थतन्त्र बढी सबल छ, जुन मुलुकमा आतंकवादी गतिविधि कम छ, जुन देशका नागरिक भ्रमणको कारणमा पारदर्शी छन्, ती देशका नागरिकलाई धेरै देशले अन–अराइभल भिसा दिन्छन्। तर, नेपाल न त शक्तिशाली मुलुक हो, न आर्थिक रूपमा सबल नै छ।

हाम्रा नागरिक भ्रमणको कारणमा पारदर्शी पनि छैनन्, किनभने विदेशमै लुकेको धेरै घटना छ। मात्र एउटा राम्रो पक्ष छ, शान्ति छ। त्यो पनि १० वर्षे जनयुद्ध र संक्रमणकालीन दिनका कारण धेरै देशको नजर फेरिएको छ।

पासपोर्टको वरीयता देशको क्रेडिबिलिटी (शाख)सँग जोडिएको विषय हो। नक्कली पासपोर्ट बनाउने, कूटनीतिक (रातो) पासपोर्ट बिक्री गरेको जस्ता विषयले अन्तर्राष्ट्रिय समुदायमा नेपाली पासपोर्टको शाख गिरेको छ। यसर्थमा पासपोर्टको वरीयता नेपालको औकात देखाउने सूचक बनेको जानकारको दाबी छ।

परराष्ट्रविद् दिनेश भट्टराई नेपालीहरूले आफ्नो शाख आफ्नै कुकर्मले गुमाएको बताउँछन्। भट्टराईले भने, ‘नेपालको पासपोर्ट कमजोर एकैदिन वा एकै वर्षमा भएको होइन, हाम्रै कारणले विस्तारै कमजोर बन्दै गएका हौं।’ यसबाहेक विभिन्न देशहरू निकै सचेत भइसकेका छन्। आफ्नो देशमा अराजक गतिविधि हुन नदिन भिसामा निकै कडाइ गरिरहेका छन्। उनीहरू सुरक्षाको मामलामा बढी संयमित भएकाले पनि नेपाली पासपोर्टको वरीयता निकै खस्किएको भट्टराईको भनाइ छ।

‘नेपालबाट जोखिम भएका मान्छे बढी आउँछन्, उनीहरूको रोजगारी छैन, खर्च गर्न सक्दैनन, आए पनि लुक्छन् भन्ने जस्ता बुझाई उनीहरूमा छ,’ उनले थपे, ‘हामी अर्कोले के सोच्छ भन्नेतर्फ ध्यान दिँदैनौं तर उनीहरूले हाम्रोबारे धारणा बनाइरहेका हुन्छन्।’

विस्तारै मध्यमस्तरीय आय भएको, विकासशील मुलुक बनेपछि विश्वले नेपाललाई हेर्ने नजरिया फेरिन्छ। नेपालीहरू शिक्षित, सभ्य, नियम कानुन मान्ने भएपछि उनीहरूले पत्याउँदै जाने भट्टराईको अनुमान छ। ‘नेपालीहरू अनुशासित, परिश्रमी, इमानदार छन् भन्ने कुरा बैध बाटोबाट वैदेशिक रोजगारीमा जानेले स्थापित गरेका छन्,’ उनले थपे, ‘तर, विमानस्थलबाट सुनको हात्ती छिराउँछु भन्ने अभिव्यक्ति आपराधिक घटनामा संलग्न व्यक्तिले दिने र यही विमानस्थलबाट क्विन्टलका  क्विन्टल सुन तस्करी हुने भएपछि कसले पत्याउँछ ?’

हाम्रो विगत र विरासत विस्तारै खस्किएको बताउँदै उनले भने, ‘पासपोर्ट कमजोर हुनु पनि त्यही विरासत गुमेको संकेत हो।’ त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति विभागका पूर्वप्रमुख प्रेमराज खनालका अनुसार पासपोर्टको वरीयता नेपालको कूटनीति अभ्यास र अन्तर्राष्ट्रिय मञ्चमा नेपालको छविको सूचक हो। पछिल्लोपटक नेपालको कूटनीतिक अभ्यास झन्–झन् कमजोर बन्दै गएको छ। ‘नक्कली पासपोर्ट बनाउने, गैरकानुनी गतिविधिमा संलग्न हुने, नेपाली पासपोर्ट बोकेर आपराधिक गतिविधि गर्ने जस्ता गतिविधिले नेपालको शाख गिरेको छ,’ खनालको भनाइ छ।

पासपोर्टको रंग फेरियो, हैसियत फेरिएन

२०७८ मंसिर अघि नेपाली पासपोर्टको रंग हरियो थियो। हरियो पासपोर्टधारीलाई विदेशको अध्यागमनमा फरक दृष्टिकोणले हेरिन्छ। विश्वमा चार रंगका पासपोर्ट प्रचलनमा छन्, रातो, हरियो, नीलो र कालो। हरियो पासपोर्ट मुस्लिम देशहरूको हुने गरेको छ।

हरियो पासपोर्टको विषयमा नेपालमा थुप्रै ब्यंग्यात्मक गीत, कविता लेखिएका पनि छन्। २०७७ साउन २६ गते राहदानी नियमावली २०७७ नेपालको राजपत्रमा प्रकाशित भएसँगै हरियो पासपोर्ट बोक्नुपर्ने दिन अन्त्य भएको हो। जसको कार्यान्वयन भने २०७८ मंसिर १ गतेदेखि भएको थियो। चकलेटी खैरो रंगको पहिलो पासपोर्टधारी व्यक्ति स्व. सत्यमोहन जोशी हुन्। त्यतिबेला नेपाली पासपोर्टको हैसियत पुच्छरबाट छैटौं स्थानमा थियो। साढे २ वर्षमा पनि सोही वरीयता रहेर हैसियत फेर्न सकेको छैन।


 

सरकारले अपराध नियन्त्रण गर्न सकेन

- प्रदीप ज्ञवाली, पूर्वपरराष्ट्रमन्त्री

पासपोर्टको शक्ति देशको प्रोफाइलसँग जोडिएको विषय हो। नेपाल लामो समयदेखि द्वन्द्व र संक्रमणमा अल्झियो। जसकारण नेपाललाई हेर्ने विश्वको नजर त्यति धेरै सकारात्मक बन्न सकेन। संक्रमण छ, अस्थिरता छ भन्ने सन्देशमात्र गयो।

यसैबीचमा नेपालबाट विभिन्न मुलुकमा जाने नेपालीको व्यवहारले पनि हाम्रो छवि राम्रो बन्न सकेन। भिसा अवधिभन्दा बढी बस्ने, उतै लुक्ने जस्ता काम भए। अवैध बाटोमार्फत विदेश जाने। कतिपय देशमा नेपालीहरू गैरकानुनी क्रियाकलापमा संलग्न भए। यस्तो क्रियाकलापले गर्दा धेरै देशमा नेपालीलाई बिना भिसा प्रवेश दिन बन्द गरियो।

सोही अवधिमा सरकारले भ्रष्टाचार, लागुऔषध दुरुपयोग, संगठित अपराध जस्ता गतिविधि नियन्त्रण गर्न सकेन। कडा कदम चाल्न सकेन, त्यहाँ पनि कमजोरी भयो। पछिल्लो समय विकृति अझै धेरै बढेको छ। यस्ता गतिविधिले नेपालको छवि झन्झन् बिगारिरहेको छ। नेपालीलाई अन्य देश जान मुस्किल भइरहेको छ। सीमित व्यक्तिका कारण असल मनसायका साथ तथा आवश्यक काममा जानेलाई पनि ती देशले शंकाको नजरबाट हेरिरहेका छन्। 

पासपोर्टबारे केही रोचक तथ्य

  •  बेलायती महारानी एजिजाबेथको निधनपछि राजा चार्लस् तृतीयलाई बिना पासपोर्ट विश्व भ्रमणको अनुमति छ। यसअघि एलिजवेथलाई यो सुविधा थियो।
  • पहिलो विश्वयुद्धपछि मात्र पासपोर्टमा फोटो अनिवार्य बनाइएको हो। सोही विश्वयुद्धपछि अर्को देश भ्रमण गर्न भिसा आवश्यक पर्न थालेको हो।
  • मृत्युपछि पासपोर्ट पाउने व्यक्ति राम्सेस २ हुन्। उनी प्राचीन इजिप्टका फारोह थिए। सन् १९७० को दशमा उनको मम्मी मर्मतका लागि इजिप्टबाट फ्रान्स लैजान इजिप्सियन पासपोर्ट बनाइएको हो।
  • अनुहारमा ट्याटु बनाउने वा फेस सर्जरी गर्ने व्यक्तिले नयाँ पासपोर्ट बनाउनु पर्ने हुन्छ।
  •  अमेरिकालगायत केही देशका राष्ट्रपतिले आजीवनका लागि कूटनीतिक पासपोर्ट पाउँछन्।
  • पासपोर्टमा मुस्कुराएको फोटो राख्न सन् २००४ देखि प्रतिबन्ध लगाइएको हो।

नेपाली पासपोर्टका विवरण 
म्यादः १० वर्ष
मूल्यः

  • ५ हजार – ३४ पृष्ठ
  • १० हजार – ६६ पृष्ठ
  • १२ हजार – ३४ पृष्ठ (फास्ट ट्र्याक सेवा)
  • २० हजार – ६६ पृष्ठ (फास्ट ट्र्याक सेवा)

प्रकारः

  • साधारणः चकलेटी खैरो रंग
  • कूटनीतिकः सिम्रिक रातो रंग
  • विशेषः आकाशे नीलो रंग
  •  सर्भिस : सुन्तला रंग
  • यात्रा अनुमतिपत्र : कालो रंग
  •  सिम्यान्स : स्लेट खैरो रंग
  • अस्थायी : चकलेटी खैरो रंग

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.