अभिभावक पढाउँदै जलजला
बेनी : म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिकाले शैक्षिक गुणस्तर बढाउन ‘अभिभावक शिक्षा’ कार्यक्रम सञ्चालन गरेको छ ।
घरमा विद्यार्थीलाई पढ्नका लागि अनुकुल वातावरण बनाउने, छोराछोरीको शिक्षाप्रति अभिभावकको चासो र विद्यालयमा उपस्थिति बढाउने, अभिभावक र शिक्षक शिक्षिका तथा सरोकारवालाहरुको दुरी घटाउन कार्यक्रम सञ्चालन गरेको हो ।
जलजला गाउँपालिकामा रहेको ४७ वटै सामुदायिक विद्यालयका अभिभावकहरुलाई सम्बन्धित विद्यालयमा भेला गरेर शैक्षिक सुधारका लागि उनीहरुको भूमिका सम्बन्धी अभिमुखीकरण गरिएको अध्यक्ष राजुप्रसाद आचार्यले बताए ।
‘सूचना र प्रविधिको बढ्दो प्रयोग, शिक्षा क्षेत्रमा भइरहेका परिवर्तन, बालबालिकाप्रति गर्नुपर्ने व्यवहार, बालबालिका र विद्यालयप्रति अभिभावकलाई जिम्मेवार बनाउने अभियानको उद्देश्य हो,’ उनले भने, ‘पहिलो चरणमा साउन १५ देखि १८ गतेसम्म सञ्चालन भएको कार्यक्रम, दोस्रो र तेस्रो चरणमा चलाउँछौ ।’
अभियानको नेतृत्व गरेर गाउँपालिका अध्यक्ष आचार्य, उपाध्यक्ष दिपक आचार्य, कार्यपालिकाको शिक्षा संयोजक एकिन्द्र खत्रीको नेतृत्वमा तीन वटा समूह बनाएर सम्बन्धित वडाका जनप्रतिनिधि सहित विद्यालयमा पुगेका छन् ।
परामर्शदाता कम्पनी सिटिएफ नेपालका कार्यकारी निर्देशक बद्री दाहाल र निर्देशक अशोक सुवेदीले शैक्षिक सुधारका लागि अभिभावकको दायित्व र भूमिकाका विषयमा सहजीकरण गरेका छन् ।
‘आमाबाबुको शिक्षाले उनीहरूलाई शारीरिक, संज्ञानात्मक, सामाजिक र भावनात्मक पक्षसहित बाल विकासको बारेमा ज्ञान प्रदान गर्छ’, शिक्षा अधिकृत त्रिबिक्रम आचार्यले भने, ‘व्यावहारिक अभिभावकीय सीप र रणनीति प्रदान गरेर प्रभावकारी अभिभावकत्वले बच्चाको व्यवहार, अनुशासन र समग्र मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरेका छौं ।’
अभिभावक शिक्षाले बालबालिकाहरूलाई उनीहरूको पूर्ण क्षमतामा पुग्न मद्दत गर्ने, समग्र रूपमा परिवार र समाजको कल्याणमा योगदान पुर्याउने, अभिभावकत्वका जटिलतालाई न्यूनीकरण गर्ने, बच्चाको वृद्धि र विकासको लागि पोषण र सहयोगी वातावरण सिर्जना गर्ने अपेक्षा गरिएको छ ।
जलजला गाउँपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न उपलब्धी मापन परीक्षा सञ्चालन, शिक्षकहरुलाई सूचना प्रविधि सम्बन्धी तालिम र उपकरण सहयोग गरेको छ ।