कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक्सरे मेसिन बिग्रिँदा समस्या
जुम्ला : जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक्सरे मेसिन बिग्रिँदा समस्या भएको छ।
प्रतिष्ठानमा गुणस्तर चेक नगरी फिल्म प्रयोग गर्दा एक्सरे मेसिन बिग्रिएको हो। गत शुक्रबार एक्सरेको फिल्म सकिएपछि अर्को प्रयोग गर्न खोज्दा मेसिन नै बिग्रिएको थियो।
प्रतिष्ठानमा रहेको एक्सरे मेसिनमा एसडीक्यूको फिल्म प्रयोग हुन्छ तर उक्त दिन भने एसडीक्यू२ प्रयोग भएपछि मेसिन बिग्रिएको थियो।
आव २०७९/८० मा टेन्डर गरी प्रतिष्ठानले ३० काटुन फिल्म मगाएको थियो उक्त फिल्म सकिएपछि प्रतिष्ठानले गुणस्तर चेक नगरी कति नम्बरको फिल्म प्रयोग हुन्छ भन्ने कुराको जानकारी नराखी आफूलाई पायक पर्ने स्थानबाट गलत फिल्म खरिद गर्दा मेसिनमा समस्या आएको प्रतिष्ठानका एक कर्मचारीले नाम नखुलाउने सर्तमा जानकारी दिए।
एक काटुनको ४० हजारको हाराहारी पर्ने फिल्मको पाँच काटुनको २ लाख १० हाजर पर्न आउँछ यति धेरै मूल्य बराबरको सामान र त्यसैमा मेडिकल सामान माग गर्दा उक्त कुराको जानकारी भएको रेडियोलोजी विभागसँग कुनै पनि समन्वय नगरी खरिद गरेको देखिन्छ।
शुक्रबार बिग्रिएको एक्सरे मेसिन सोमबार मात्रै बनेको थियो। जसबाट ३ सयजति बिरामी प्रभावित भएका थिए। उक्त सामान कस्ले कुन स्थानबाट खरिद गरेको हो भन्ने कुराको जानकारी माग्न खोज्दा प्रतिष्ठानका कुनै पनि कर्मचारीले जानकारी दिन मानेनन्।
यसरी सामान खरिद गर्दा सम्बन्धित विभागसँग समन्वय नगरी गलत सामान खरिद गर्नु प्रतिष्ठानका कर्मचारीको मिलेमतो देखिन्छ।