प्रतिष्ठित बनोस् नेपालको राहदानी

प्रतिष्ठित बनोस् नेपालको राहदानी
सुन्नुहोस्

भिसै लागेर कुनै देश पुग्न पनि त्यहाँका विमानस्थलमा थुप्रै केरकारमा नेपाली पर्छन्। हातमा नेपाली पासपोर्ट लिएर जुनसुकै देशको विमानस्थलको अध्यागमनको लाइनमा लाग्दा नेपालीमाथि चर्काे विभेदसमेत हुने गरेका थुप्रै उदाहरण छन्।

आजका नेपाली युवालाई जसैगरी बिदेसिनमात्रै मन छ, तर नेपाली भनेपछि जुन पायो त्यही देशले सजिलै प्रवेशाज्ञा दिँदैन। नेपाली राहदानी (पासपोर्ट)को गरिमा हलुंगो छ। भिसै लागेर कुनै देश पुग्न पनि त्यहाँका विमानस्थलमा थुप्रै केरकारमा नेपाली पर्छन्। हातमा नेपाली पासपोर्ट लिएर जुनसुकै देशको विमानस्थलको अध्यागमनको लाइनमा लाग्दा नेपालीमाथि चर्काे विभेदसमेत हुने गरेका थुप्रै उदाहरण छन्। यस्तो हुनुको पछाडि ती देशको भन्दा हाम्रै कर्मको योगदान धेरै छ।

नेपाली जुनजुन देशमा भ्रमण भिसामा गए, त्यहीं लुकिदिए। फर्किएनन्। कतिपय त अवैध काममा पनि संलग्न भइदिए। अरू त अरू विशिष्ट पदासीनहरूबाट पनि पासपोर्टको दुरुपयोग भयो। पासपोर्टको वरीयता निर्धारण गर्ने संस्था हेन्ली एन्ड पार्टनर्सका अनुसार नेपालीहरूलाई बिनाप्रवेशाज्ञा सजिलै भित्रिन दिने देशको संख्या संसारमा जम्मा ३८ छ। जबकि विश्व दुनियाँबाट एक्लिएको उत्तरकोरियाका नागरिकलाई पनि त्योभन्दा बेसी ३९ देशमा बेरोकतोक प्रवेश सुविधा हुन्छ।

विश्वका झन्डै दुई सय देशमध्ये नेपालको पासपोर्टको श्रेणी पछाडिबाट छैटौं नम्बरमा छ। दक्षिण एसियाकै बंगलादेश र श्रीलंकाभन्दामात्रै नेपालको स्थान क्रमशः ३ र २ अंक माथि छ। ती देश पछाडिबाट नवौं र आठौं नम्बरमा छन्। नेपाली यही देश हो, जसका नागरिकलाई युरोपको विकसित देश जर्मनीले कुनै बेला अनएराइभल भिसा दिन्थ्यो। आज जर्मनी पुग्न नेपालीलाई फलामको चिउरा चपाउनुजस्तो हुन्छ। भारतसँग खुला सीमा भएकाले नेपालीलाई आउजाउ गर्न रोकतोक छैन। सिंगापुर, फिलिपिन्स, कम्बोडिया, श्रीलंकालगायत २७ देशले अनएराइभल भिसा (जाँदाजाँदै प्रवेशाज्ञा) दिन्छन्। जबकि सिंगापुरका नागरिकलाई १ सय ९२ देशमा सजिलै जानेआउने सुविधा छ।

आफ्नै व्यवहारबाट गुमेको विश्वसनीयताको दोष अरूलाई दिएर हुँदैन। देशको अर्थतन्त्र बलियो भयो भने शान्ति र सुविधा भयो भने नागरिकको व्यवहार र साख पनि बौरिन्छ र पासपोर्टले विश्वास आर्जन गर्छ। राज्यले आफूलाई सुशासनयुक्त, आर्थिक रूपमा सबल बनाउँदै नागरिकले पनि व्यवहार बदल्न सके नेपाली पासपोर्ट गह्रुँगो हुने हो। त्यसैले राज्य र नागरिकको पनि व्यवहार बदलिन जरुरी छ। पासपोर्ट केवल प्रवेशाज्ञाको छाप ठटाउने कागजी पुस्तिकामात्रै होइन, यो देशको पहिचान र प्रतिष्ठा हो। हामी आफैंले प्रतिष्ठा र पहिचान उँचो बनाउन जरुरी छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.