तस्करीको सुन अनुसन्धान गर्ने जिम्मा सीआईबीलाई दिन प्रधानमन्त्री तयार
काठमाडौं : राजश्व अनुसन्धान विभागले समातेको तस्करीको १०० किलो सुनको थप अनुसन्धान प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले गर्ने भएको छ। अहिलेसम्म बरामद भएको सुनको अनुसन्धान प्रधानमन्त्री कार्यालय मातहतको राजश्व अनुसन्धान विभागले गर्दै आएको छ।
राजश्व अनुसन्धान विभागले सुनको अनुसन्धान तार्किक निष्कर्शमा पुर्याउन नसक्ने भन्दै आलोचना भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल थप अनुसन्धान गर्ने जिम्मा सीआईबीलाई दिन तयार भएका हुन्। सुरुमा सुनको अनुसन्धान गर्न प्रहरीलाई दिनेबारे आनाकानी गरेका प्रधानमन्त्री दाहाल दबाबमा परेपछि अहिले सीआईबीलाई दिन तयार भएका हुन्।
गृहमन्त्री श्रेष्ठ प्रधानमन्त्री दाहाललाई भेट्न आज बिहान प्रधानमन्त्री निवास बालुवाटार गएका थिए। भेटमा गृहमन्त्री श्रेष्ठले सुनको अनुसन्धानको जिम्मा सीआईबीलाई दिनुपर्ने फेरि अडान राखेपछि प्रधानमन्त्री दाहाल सहमत भएका हुन्।
उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुनको अनुसन्धान प्रक्रियामा प्रहरीलाई पनि सामेल गराउनुपर्ने अडान राख्दै आएपनि प्रधानमन्त्री दाहालले उक्त कुराबारे खासै चासो दिएका थिएनन्।
बिहीबार प्रधानमन्त्री कार्यालय सिंहदरवारमा सुन अनुसन्धानको विषयलाई लिएर लामो छलफल भएको थियो। उक्त छलफलमा प्रधानमन्त्री दाहाल,गृहमन्त्री श्रेष्ठ,राजश्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगाना, प्रहरी महानिरीक्षक वसन्त कुँवर र सीआईबी प्रमुख किरण बज्रचार्य उपस्थित थिए।
बैठकमा गृहमन्त्री श्रेष्ठले सुन तस्करीको अनुसन्धान गर्न सीआईबीलाई दिन प्रधानमन्त्रीसँग आग्रह गरेका थिए। तर, प्रधानमन्त्रीले राजश्व अनुसन्धान विभागले नै अनुसन्धान गर्ने भनेपछि उनीहरूबीच केहीबेर सवाल-जवाफ भएको थियो।
त्यसपछि उपप्रधानमन्त्री श्रेष्ठ साढे ७ बजे बैठक छाडेर निस्केका थिए। गृहमन्त्री निस्किएपछि पनि प्रधानमन्त्री दाहालले महानिरीक्षक कुँवर र सीआईबी प्रमुख बज्राचार्यसँग छलफल गरेका थिए। त्यसपछि दाहाल सुनको थप अनुसन्धान गर्न सीआईबीलाई दिन तयार भएका हुन्।
प्रधानमन्त्री दाहालले अनुसन्धानको सम्पूर्ण रिपोर्टिङ आफूलाई गर्न महानिरीक्षक कुँवरलाई निर्देशन दिएको स्रोतले बताएको छ।
साउन ३ गते भन्सार जाँच पास भएर बाहिरिएको १ क्वीन्टल सुन राजश्व अनुसन्धान विभागको टोलीले बरामद गरेको थियो। बरामद सुन जोख्न नेपाल राष्ट्र बैंकको टक्सार महाशाखा लगिएको थियो। अहिलेसम्म सुनको परिणाम जोखिएको छैन। सुन हङहङबाट क्याथे प्यासिफिकको कार्गोबाट ब्रेकसुको नाममा भित्रिएको अनुसन्धानबाट खुलेको छ।
सुन प्रकरणमा हालसम्म १८ जना पक्राउ परिसकेका छन्।