सुनसरी र मोरङका जंगलमा शृङ्खलावद्ध लुटपाट

गोली हानेर रोहितको हत्या गरेपछि पत्ता लाग्यो गिरोह

गोली हानेर रोहितको हत्या गरेपछि पत्ता लाग्यो गिरोह

विराटनगर : सुनसरी र मोरङका विभिन्न स्थानमा असारयता मात्रै आधा दर्जनभन्दा बढी शृङ्खलावद्ध लुटपाटका घटना भएका छन्। 

लुटपाटका क्रममा गिरोहले गोली हानेर एक जनाको हत्या नै गरेको छ। जंगल क्षेत्रमा नियमित लुटपाट भइरहेपनि वास्तविकता पत्ता लगाउँदै घटनामा संलग्नलाई पक्राउ गर्न प्रहरीले सकिरहेको थिएन। लुटपाट एवं डकैतीको बढ्दो शृङ्खलाले जंगलको बाटो हुँदै गन्तव्यसम्म पुग्नुपर्ने सर्वसाधारण असुरक्षित बनिरहेका थिए। 

तर, अहिले हत्या, लुटपाट एवं डकैतीमा संलग्न हतियारधारी गिरोहका चार जनालाई प्रहरीले पक्राउ गरिसकेको छ। फरार रहेका अन्य केही व्यक्तिको खोजी जारी छ। मिहीन अनुसन्धान गर्दै प्रहरी गिरोहसम्म पुग्न सफल भएको हो। 

मोरङको लेटाङ नगरपालिका–४ स्थित जंगलमा असार १३ गते साँझ ७ बजेतिर खुकुरी देखाएर अप्सरा भनिने कृष्णमाया तामाङमाथि लुटपाट गरियो। प्रदेश १–०२–०५० प ९३८६ नम्बरको स्कुटरमा कानेपोखरीबाट लेटाङतर्फ जाँदै गर्दा लेटाङ–६ की तामाङको साथमा भएको १५ हजार रूपैयाँ नगद र मोबाइल तीन जनाको समूहले लुटेर लग्यो। 

घटनाका प्रत्यक्षदर्शी लेटाङ–४ का खड्गबहादुर श्रेष्ठमाथि खुकुरी प्रहार गरियो। प्रदेश १–०२–०४४ प ७४७३ नम्बरको मोटरसाइकलमा लेटाङबाट कानेपोखरीतर्फ आउँदै गरेका श्रेष्ठले घटना देखेका थिए। मोटरसाइकल रोकेर बुझ्न खोज्दा दाहिनो पातोमा खुकुरी प्रहार गरेर गिरोह फरार भयो। उपचारपछि श्रेष्ठ घर फर्किसकेका छन्। 

मोरङको केराबारी गाउँपालिका–३ मा असार १३ गते बिहान १०:३० बजेतिर खुकुरी देखाएर लुटपाट गरियो। गाउँपालिकाको कृषि शाखामा कार्यरत कर्मचारी विशाल रिजालको साथबाट मोबाइल र तीन हजार रूपैयाँ नगद लुटेर लगियो। त्यही समूहले साँझ लेटाङ पुगेर अर्को घटना गराएको हुनसक्ने प्रहरीको विश्लेषण छ। 

सुनसरीको धरानस्थित सर्दु खोलादेखि नहडा जाने जंगलको सडकमा असार २३ गते बिहान ९ः३० बजेतिर एक दम्पती लुटिए। धरानबाट प्रदेश १–०२–०४९ प ५७९० नम्बरको मोटरसाइकलमा प्रकाशपुरतर्फ जाँदै गरेका डिल्ली राउत र उनकी पत्नी विमला विष्ट राउतमाथि तीन जनाको समूहले खुकुरी देखाएर लुटपाट मच्चाएको हो। 

राउत दम्पतीको साथबाट मोबाइल, सुनको दुई तोलाको सिक्री, पाँच आनाको अर्को सिक्री, आधा तोलाको औंठी, पर्स, नगद १५ हजारलगायतका सामान लुटिएको कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी ऋषिराम कँडेलले जानकारी दिए। 

उनका अनुसार असार २३ गते नै साँझ ५:३० बजेतिर मोरङको पथरीशनिश्चरे नगरपालिका–१ मा खुकुरी देखाएर लेटाङ नगरपालिका–८ का ३७ वर्षीय ओमप्रकाश रानामगरमाथि लुटपाट गरियो। रानामगरको साथमा भएको मोबाइल र चार हजार रूपैयाँ तीन जनाको समूहले लुटेर लगेको एसपी कँडेलले बताए। उनका अनुसार अनुसन्धानबाट धरानमा लुटपाट मच्चाएकै गिरोहले त्यही दिन पथरीशनिश्चरे पुगेर अर्को घटना गराएजस्तो देखिन्छ। 

असार ८ गते धरान उपमहानगरपालिका–१७ स्थित खैरेनी जंगलमा एक जना महिलामाथि लुटपाट भएको थियो। असार ३१ गते धरानबाट सुनसरीको कालाबन्जार जाँदै गरेका एक व्यक्तिसमेत लुटिए। दुवै घटनाका पीडितको नाम प्रहरीले सार्वजनिक गरेको छैन।

लुटपाटमै संलग्न गिरोहले साउन ५ गते साँझ ५:२० बजेतिर इटहरी उपमहानगरपालिका–२० सेउती पुलनजिकै विराटनगर महानगरपालिका–५ का २८ वर्षीय रोहित चौधरीको गोली हानेर हत्या गर्‍यो। 

गम्भीर घाइते चौधरीलाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पुर्‍याउनसाथ चिकित्सकले मृत घोषित गरेका हुन्। २८ औं जन्मदिन मनाउने क्रममा घुमघामका लागि धनकुटाको मुलघाटसम्म पुगेर फर्कने क्रममा लुटेरा समूहले चारकोसे जंगलको बीचमा गोली हानेपछि चौधरी विराटनगरस्थित घरसम्म जीवितै पुग्न पाएनन्। 

विराटनगर फर्किने क्रममा चौधरी र उनीसँगै रहेकी युवती सेउती पुलनजिकै जंगलमा रोकिएका थिए। युवतीले लगाएको सिक्री र साथमा रहेको ब्याग तीन जनाले लुट्न खोजे। चौधरीले प्रतिकार गरेपछि उनीमाथि लुटेरा समूहले गोली प्रहार गरेको खुलेको छ। 

‘लुटपाट हुन आँटेपछि उनले धेरै हल्लाखल्ला गरे। प्रतिकारमा उत्रिए,’ प्रहरी स्रोतले भन्यो, ‘लागूऔषध सेवन गरेको गिरोहले उनको दाहिने कोखामा गोली हान्यो। छटपटाउँदै र धरखराउँदै सडकमा आइपुगेपछि चौधरी बेहोस भए।’ गिरोहले युवतीको सुनको ४ आनाको सिक्री, मोबाइल र ‘लेडिज ब्याग’ लुटेर लगेको प्रहरीले जनाएको छ। प्राविधिक पक्षसहित विभिन्न कोणबाट घटनाको अनुसन्धान सुरु गरेको प्रहरी अन्ततः गिरोहसम्म पुग्न सफल भएको हो। 

कोसी प्रदेश प्रहरीका प्रवक्ता एसपी कँडेलका अनुसार एक ठाउँमा लुटपाट गरेपछि घटनामा संलग्न गिरोह तत्काल अर्को ठाउँमा स्थानान्तरण भइहाल्ने गरेको पाइयो। ‘एकान्त ठाउँ र जंगलमा ढुकेर बस्ने गिरोहले मानिसको साथबाट नगद, गहना र मोबाइल लुट्ने गरेको देखियो। घटनास्थल आसपासमा प्रहरीको ‘मुभमेन्ट’ बढाएपछि तत्काल अर्को ठाउँमा पुग्दा रहेछन्,’ उनले भने, ‘अर्कोतिर पनि घटना गराइहाल्ने गरेको पाइयो। लुटपाट एवं डकैतीमा लागूऔषध सेवनकर्ता र अपराधिक पृष्ठभूमिका व्यक्तिहरुको संलग्नता रहेको खुलेको छ।’ 

गिरोहलाई साथमा भएको सामान थपक्क दियो भने केही नगरिकन छाडिदिने र प्रतिकार गर्‍यो भने चैं आक्रमणसमेत गर्ने गरेको पाइएको कँडेलले बताए। प्रायजसो घटनामा तीन जनाको प्रत्यक्ष संलग्नता देखिएको छ। ‘हतियार देखाएर त्रसित बनाइसकेपछि वरपर ‘रेकी’ गर्दै लुटपाट गर्ने गरेको पाइयो,’ एसपी कँडेल भन्छन्। 

गिरोहका चार जना पक्राउ 

चौधरीको हत्या घटनाको अनुसन्धान अघि बढाएको प्रहरीले हत्या र शृङ्खलावद्ध लुटपाटमा संलग्न गिरोहलाई पक्राउ गरिसकेको छ। हतियार (पेस्तोल) ‘सप्लाइ’ गर्नेदेखि चौधरीको हत्या र विभिन्न लुटपाटमा संलग्न गिरोहलाई पक्राउ गरिएको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी राजकुमार राईले बताए। उनका अनुसार चौधरीको हत्यामा संलग्न थप दुई जना बिहीबार पक्राउ परे। 

पक्राउ पर्नेमा झापाको भद्रपुर नगरपालिका–१ पृथ्वीनगर घर भइ धरान–८ भोटेपुल बस्दै आएका ३० वर्षीय प्रकाश लिम्बू र विराटनगर महानगरपालिका–१५ जनपथ टोलका ४१ वर्षीय अज्जु भनिने अजयकुमार शर्मा रहेको राईले बताए। उनका अनुसार लिम्बू धरान र शर्मा विराटनगरबाट पक्राउ परेका हुन्। 

हत्यामा संलग्न लेटाङ–१ का ३५ वर्षीय दीपक तिम्सिना र धरान– १० का ३४ वर्षीय अनसन तामाङ साउन १६ गते नै पक्राउ परेका थिए। दुवै जनालाई कोसी प्रदेश प्रहरी प्रमुख डीआईजी राजेशनाथ बास्तोलाले गत बुधबार विराटनगरस्थित प्रदेश प्रहरी कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरेर सार्वजनिक गरेका हुन्। बास्तोलाका अनुसार तिम्सिना र तामाङलाई हत्यामा प्रयोग गरिएको सेमी अटोमोटिक पेस्तोल, नौ राउन्ड गोली, दुई थान म्यागजिन, पाँचवटा कालो झोला, चारवटा ‘लेडिज ब्याग’, दुईवटा खुकुरी, पाँचवटा मोबाइल, औंठी र गोलीको खोकासहित पक्राउ गरिएको हो। 

पहिचान गरेर हत्यारालाई पक्राउ गर्न डीआईजी बास्तोलाले प्रदेश प्रहरी कार्यालय विराटनगर, नेपाल प्रहरी प्रदेश कार्यालय धरान, जिल्ला प्रहरी कार्यालय सुनसरी, इलाका प्रहरी कार्यालय इटहरी र धरानबाट संयुक्त टोली परिचालन गरेका थिए। अनुसन्धानलाई नतिजामूलक बनाउन उनले प्रदेश प्रहरी कार्यालयका एसएसपी जयराज सापकोटाको नेतृत्वमा विशेष अनुसन्धान टोलीसमेत खटाए। हत्याराको पहिचान र पक्राउका लागि नेपाल प्रहरी प्रदेश कार्यालय धरानका एसपी भीम दाहाल, जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी प्रभुप्रसाद ढकाल, डीएसपी राजकुमार राई र इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी माधवप्रसाद काफ्लेलगायत सक्रिय भए। 

सुनसरी प्रहरी प्रमुख एसपी प्रभुप्रसाद ढकालका अनुसार रोहितको हत्यामा तिम्सिना, तामाङ र लिम्बूको प्रत्यक्ष संलग्नता देखिएको छ। उनीहरु तीनै जना धरानबाट पक्राउ परेका हुन्। ‘रोहितमाथि अपराधिक पृष्ठभूमिका तिम्सिनाले गोली प्रहार गरेको खुलेको छ,’ ढकालले भने, ‘लुटेरा गिरोहलाई चौधरीको हत्यामा प्रयोग गरिएको पेस्तोल शर्माले उपलब्ध गराएको पत्ता लाग्यो।’ 

लागूऔषध मुद्दामा चार वर्ष आठ महिना कैद सजाय भुक्तान गरेर चार महिनाअघि छुटेका शर्मा पछिल्लो समय अपराधिक समूहलाई हतियार ‘सप्लाई’ गर्ने धन्दामा संलग्न रहेको एसपी ढकालले बताए। उनका अनुसार पक्राउ परेका तिम्सिना जबरजस्ती करणी मुद्धामा १० वर्ष कैद भुक्तान गरेर दुई महिनाअघि छुटेका थिए। तामाङ लागूऔषध मुद्धामा छ महिना कैद भुक्तान गरेर दुई वर्षअघि छुटेका हुन्। 

आपराधिक पृष्ठभूमि खुलिनसकेका लिम्बू लागूऔषधका प्रयोगकर्ता रहेको प्रहरीले जनाएको छ। गोली हानी हत्या गरेको घटनासँग जोडेर पक्राउ परेकाविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउन प्रहरीले अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाएको छ। 

इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी माधवप्रसाद काफ्ले नेतृत्वको टोलीले घटनाको थप अनुसन्धान गरिरहेको हो। गिरोहविरुद्ध चलाइने अरु मुद्दाका बारेमा टुंगो लाग्न बाँकी रहेको प्रहरीले जनाएको छ। 
‘गिरोहले हतियार देखाएर लुटपाट गर्दै पैसा कमाउने उदेश्य राखेको देखिन्छ,’ डीआईजी बास्तोलाले भने, ‘प्रारम्भिक अनुसन्धानबाट उत्तरी मोरङदेखि पश्चिम सुनसरीसम्मको जंगलबीचका लुटपाटलगायतका अपराधमा यही गिरोह संलग्न रहेको पत्ता लाग्यो।’ लुटपाट गर्ने शैली, संलग्न व्यक्तिको संख्या, पीडितबाट प्राप्त उनीहरुको हुलिया, अनुसन्धानबाट जुटाइएको विवरणलगायतले सबैजसो घटनामा एउटै गिरोहको संलग्नता देखिएको उनले बताए। ‘जुन घटनामा पनि हतियार देखाएर मोबाइल, गरगहना र नगद लुटपाट गरेको देखिन्छ,’ डीआईजी बास्तोलाले भने, ‘प्रतिकारमा उत्रिएका कारण रोहितको चैं हत्या नै गरेको पाइयो।’ 

उनका अनुसार गिरोहले विभिन्न लुटपाटका घटनामा संलग्नता स्वीकार गरिसकेको छ। ‘योजनावद्ध तरिकाले घटना गराउने हैनन्। एकान्त  र जंगलको बीचमा बाटो ढुकेर बस्दा भेटिनेहरुमाथि लुटपाट गर्ने गरेको पाइयो,’ बास्तोला भन्छन्, ‘प्राविधिक हिसाबले अनुसन्धान गर्दै जाँदा प्रहरीले ठूलो सफलता प्राप्त गरेको छ। मानवीय चहलपहल कम हुने एकान्त स्थान छानेर गिरोहले घटना गराउने गरेको खुल्यो।’ उनका अनुसार पक्राउ परेका सबै लागूऔषधका दुर्व्यसनी हुन्। 

लुटेका बस्तु जोगवनी पुर्‍याएर बिक्री 

लुटपाट गरिएका मोबाइल, गहनासमेतका वस्तु गिरोहले भारतको जोगवनी पुर्‍याएर बिक्री गर्ने गरेको पत्ता लागेको छ। चौधरीको हत्यामा संलग्नहरु घटनापछि जंगलैजंगल भागेर इटहरी हुँदै विराटनगर निस्किएको अनुसन्धानबाट खुल्यो। सिक्री र मोबाइल भारतको जोगवनीमा लगेर बेचेको प्रहरीले पत्ता लगायो। युवतीबाट लुटिएको ब्याग इटहरीकै जंगलबाट प्रहरीले फेला पारेको छ। 

चौधरीको हत्यामा प्रयोग गरिएको पेस्तोल त्यसअघि लुटिएका गहनासँग साटेर नेपाल भित्राएको समेत खुलेको छ। ‘पेस्तोल जोगवनीबाटै ल्याइरहेको रहेछ। गिरोहले सुन दिएपछि शर्माले पेस्तोल उपलब्ध गराएको पत्ता लाग्यो,’ प्रहरी स्रोतले भन्यो, ‘गिरोहले यताबाट लुटेको गहना र मोबाइल जोगवनीमा पुर्‍याएर बिक्री गर्ने गरेको स्थान तथा किन्ने व्यक्तिको पहिचान भएको छ। थप कारबाहीका लागि भारतीय प्रहरीसँग समन्वय भइरहेको छ।’

भारतको जोगवनीमा अपराधिक पृष्ठभूमि भएका व्यक्तिसँग शर्माको सम्पर्क देखिएको र उनीहरुसँग ‘कनेक्सन’ मिलाएर हतियार नेपाल भित्राउने धन्दामा उनको संलग्नता रहेको प्रहरीको भनाइ छ। जोगवनीमा शर्माको सम्पर्कमा रहेका हतियार कारोबारीको पनि पहिचान भइसकेको प्रहरीले जनाएको छ। 

भारतीय कारोबारीमार्फत अन्य लुटेरा समूहलाई समेत उनले हतियार उपलब्ध गराएको हुनसक्ने प्रहरीको अनुमान छ। ‘शर्मा विगतका अरु दुईचारवटा घटनामा संलग्न रहेको देखिन्छ। उनको अपराधिक पृष्ठभूमिका बारेमा थप अनुसन्धान भइरहेको छ,’ प्रहरीका एक अधिकारी भन्छन्, ‘नेपाल र भारतका अपराधिक गिरोहसँग उनको ‘कनेक्सन’ देखिएको छ। अपराधमा संलग्नले माग गरेअनुसार नेपालमा भित्राएर हतियार बेच्ने गरेको पाइयो।’ 

प्रहरीका अनुसार नेपाल अहिलेसम्म कसकसलाई हतियार दिएभन्ने खुल्न बाँकी छ। तर, नेपालतिर पेस्तोल ‘सप्लाइ’ गर्ने धन्दामा शर्मा संलग्न रहेको बताइएको छ। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.