सय किलो सुन प्रकरणको अनुसन्धान जिम्मा सीआईबीलाई

सय किलो सुन प्रकरणको अनुसन्धान जिम्मा सीआईबीलाई
सुन्नुहोस्

काठमाडौं : भन्सार पास गरेर त्रिभुवन विमानस्थलबाट बाहिरिएको सय किलो सुनको अनुसन्धानमा सीआईबी जोडिने भएको छ। सरकारले यस प्रकरणमा निष्पक्ष अनुसन्धान गर्न र घटनामा संलग्नलाई कानुनी दायरामा ल्याउनका लागि सीआईबीलाई जिम्मा दिन लागेको हो। 

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ‘सीआईबीका प्रवक्ता’ सञ्जयसिंह थापाका अनुसार सम्बन्धित निकायले अनुसन्धानका लागि आधिकारिक पत्र पठाएपछि सीआईबीले अनुसन्धान सुरु गर्ने बताए। थापा भन्छन्, ‘मौखिक रूपमा कुरा आएको छ। तर, पत्र र फाइल आइपुगेको छैन। अनुसन्धानको आधिकारिक जिम्मा पाए ठूलो परिमाणको सुन तस्करीमा संलग्न जो भए पनि छाडिँदैन।’ संगठित अपराधमा अनुसन्धान गर्ने तयारी सीआईबीको छ।
थापाका अनुसार अहिलेसम्म जे जति अनुसन्धान भए पनि सीआईबीले पुनः जिरो लेभलबाटै नै अनुसन्धान सुरु गर्नेछ। अहिले राजस्वको नियन्त्रणमा रहेका आरोपीहरूलाई पुनः बयान लिएर नयाँ शिराबाट अनुसन्धान सुरु हुनेछ। 

त्रिभुवन विमानस्थलबाट भन्सार पास भएर बाहिरिएको एक सय किलो सुन राजस्व अनुसन्धान विभाग र सशस्त्रको टोलीले बरामद गरेको थियो। सुनको अनुसन्धान प्रधानमन्त्री कार्यालय मातहतको राजस्व अनुसन्धान विभागले गर्दै आएको छ। राजस्व अनुसन्धान विभागले सुनको अनुसन्धान तार्किक निष्कर्षमा पुर्‍याउन नसक्ने भन्दै आलोचना भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल थप अनुसन्धान गर्ने जिम्मा सीआईबीलाई दिन तयार भएका हुन्। सुरुमा सुनको अनुसन्धान गर्न प्रहरीलाई दिनेबारे आनाकानी गरेका प्रधानमन्त्री दाहाल दबाबमा परेपछि अहिले सीआईबीलाई दिन तयार भएका हुन्।

गृहमन्त्री नारायणकाजी श्रेष्ठ प्रधानमन्त्री दाहाललाई भेट्न शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटार गएका थिए। भेटमा गृहमन्त्री श्रेष्ठले सुनको अनुसन्धानको जिम्मा सीआईबीलाई दिनुपर्ने फेरि अडान राखेपछि प्रधानमन्त्री दाहाल सहमत भएका हुन्।

उपप्रधान एवं गृहमन्त्री श्रेष्ठले सुनको अनुसन्धान प्रक्रियामा प्रहरीलाई पनि सामेल गराउनुपर्ने अडान राख्दै आए पनि प्रधानमन्त्री दाहालले उक्त कुराबारे खासै चासो दिएका थिएनन्। प्रधानमन्त्री कार्यालय सिंहदरबारमा सुन अनुसन्धानको विषयलाई लिएर लामो छलफल भएको थियो। उक्त छलफलमा प्रधानमन्त्री दाहाल, गृहमन्त्री श्रेष्ठ, राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगाना, प्रहरी महानिरीक्षक वसन्त कुँवर र सीआईबी प्रमुख किरण वज्राचार्य उपस्थित भएका थिए। 

बैठकमा गृहमन्त्री श्रेष्ठले सुन तस्करीको अनुसन्धान गर्न सीआईबीलाई दिन प्रधानमन्त्रीसँग आग्रह गरेका थिए। तर, प्रधानमन्त्रीले राजस्व अनुसन्धान विभागले नै अनुसन्धान गर्ने भनेपछि उनीहरूबीच केहीबेर सवाल–जवाफ भएको थियो। त्यसपछि उपप्रधानमन्त्री श्रेष्ठ बैठक छाडेर निस्केका थिए। गृहमन्त्री निस्किएपछि पनि प्रधानमन्त्री दाहालले महानिरीक्षक कुँवर र सीआईबी प्रमुख वज्राचार्यसँग छलफल गरेका थिए। त्यसपछि दाहाल सुनको थप अनुसन्धान गर्न सीआईबीलाई दिन तयार भएका हुन्। प्रधानमन्त्री दाहालले अनुसन्धानको सम्पूर्ण रिपोर्टिङ आफूलाई गर्न महानिरीक्षक कुँवरलाई निर्देशन दिएको स्रोतले बताएको छ। 

साउन ३ गते भन्सार जाँच पास भएर बाहिरिएको एक क्विन्टल सुन राजस्व अनुसन्धान विभागको टोलीले बरामद गरेको थियो। बरामद सुन जोख्न नेपाल राष्ट्र बैंकको टक्सार महाशाखा लगिएको थियो। अहिलेसम्म सुनको परिणाम जोखिएको छैन।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.