‘जीवनको लक्ष्य’मा निबन्ध लेख्न दिएँ
ऊ देख्छ देशको मात्र नकारात्मक पक्ष
तर ‘म’ भित्रको ‘म’ बन्न खोज्दैन।
ऊ आफ्नै घर उजाडेर
छिमेकीको घर बनाउन धाएको छ
मेरो मार्गदर्शनमा वास्तविकता
नदेखेर दंग खाएको छ
अक्षरलाई जीवनसँग जोड्न सकिनँ
यी अक्षरले उसको सपना मोड्न सकिनँ
र पनि अझै हार मानेकी छैन
पास र फेल हुनुमा कुनै अपराध ठानेकी छैन।
अक्षरले भोक फकाउने माड दिएन
घुँडा टेक्नै लागेको झुपडीलाई आड दिएन
उसलाई माटो सुहाउँदो ज्ञान दिन खोजें
पास र फेल भन्दा’ नि सीपलाई रोजें
म चाहन्छु ऊ ‘पढेर’ भन्दा ‘परेर’ जानोस्
‘लेखेर’ भन्दा ‘गरेर’ जानोस्।
म देखाउन खोजें जिन्दगीको जिउने ढंग
उनीहरू मात्र खोजे परीक्षाका लागि अंक
मेरो सोचले र पढाइको बोझले मेल खाएन
मेरै कारणले उसले खुड्किलो चढ्न पाएन
सरकार ! परीक्षामा सबै विद्यार्थी फेल भए !
म रुनु न हाँस्नु ! आँखामा आँसुका भेल बगे।
- कमला अधिकारी सिग्देल