सोसल मिडियामा जमेका सन्तोष

संघर्ष

सोसल मिडियामा जमेका सन्तोष
सुन्नुहोस्

विदेशमा शिक्षा हासिल गर्न गए पनि आफ्नै देशमा रहेर केही गर्नुपर्छ भन्ने चिन्ताले धेरै युवालाई पिरोलिरहेको हुन्छ। सन्तोष सापकोटा पनि त्यस्तै युवाभित्र पर्छन्। २५ वर्षीय उनी पर्वत जिल्लामा जन्मिए पनि बुटवलबाट एसएलसी उत्तीर्ण गरे। उच्च शिक्षा हासिल गर्न छिमेकी मुलुक भारतको बैंगलोर गए। त्यहाँ सन् २०१६ सालमा मेकानिकल इन्जिनियरिङमा डिप्लोमा गरे। भारतमै राम्रो कम्पनीमा जागिर गर्न थाले।

मेकानिकल इन्जिनियरिङ गरेका सापकोटा सन् २०१७ मा लोकगायक अर्जुन सापकोटाको फेसबुक पेजमा भ्युज र लाइक बढाउन एडमिन बनेर भारतमै रहेर सोसल मिडिया म्यानेजिङ सिक्न थाले। ‘त्यसबखत सर्भिस इन्जिनियरको रूपमा कार्यरत म समय मिल्नेबित्तिकै अर्जुनको फेसबुक पेजमा समय बिताउँथें’, उनी भन्छन्, ‘देशमा रहेर केही गर्ने चाहना लिएर एक वर्षपछि म नेपाल नै फर्किएँ।’

दुई वर्ष जति नेपालमै बसेर लोकदोहोरी गायक अर्जुनका लागि साह्रै मिहेनत र लगनका साथ काम गरे उनले। उनको मिहेनत सफल भयो र अर्जुनको पेजले निकै प्रगति गर्‍यो। ‘मेरो एडमिन यात्रा विस्तारै अडियन्स इंगेजमेन्ट, एकाउन्ट भ्यालिडेसन, सेक्युरेटी इस्यु, मोनिटाइजेसनतर्फ पनि मोडियो’, सापकोटा भन्छन्, ‘फलस्वरूप अरू कलाकारको पनि सोसल मिडिया म्यानेज गरी दिनुपर्ने अनुरोध आउन थाल्यो। विधिवत् सोसल मिडिया म्यानेजमेन्टमा सक्रिय भएर लागें।’

सोसल मिडिया म्यानेजमेन्टतर्फ निकै सक्रियता साथ काम गरिरहेका सन्तोष भन्छन्, ‘अहिले साइग्रेस पोखरेल (कथावाचक), कुशल भुर्तेल (खेलाडी), अनिल गुरुङ (खेलाडी), अर्जुन सापकोटा (गायक), शिरीष देवकोटा (गायक) जस्ता सेलिब्रेटीका सोसल मिडिया हेर्छु। यसका साथै हालसम्म काम गरेका कलाकार पशुपति शर्मा, हेमन्त शर्मा, देवी घर्ती मगर, राजु ढकाल, भूमिका गिरी, टीका सानु, सूर्य खड्का, मुस्कान खातुन आदिका सोसल मिडिया पनि म्यानेज गर्छु।’

‘सोसल मिडियाको आजको समयमा धेरै महत्त्व र उपयोग छ’, थप्छन्, ‘सोसल मिडिया म्यानेजर भई काम गर्नु त्यति सहज पनि छैन। यो काम गर्दा एकदमै सक्रिय र सचेत पनि हुनुपर्छ। कुनै सामग्री पोस्ट गर्नु, लाइक÷भ्युज बढाउनु मात्र हैन, आफूले हेर्ने गरेको प्रोफाइललाई साइबर सेक्युरेटी पनि प्रदान गर्नुपर्छ। सोसल मिडिया मोनिटाइज गर्नु पनि यसमध्येकै एउटा जिम्मेवारी हो।’

आफूले जिम्मा लिएको प्रोफाइललाई ह्याकिङ, फिसिङबाट बचाउनु पनि सोसल मिडिया म्यानेजरकै जिम्मेवारी हुन्छ। विशेषगरी ‘पब्लिक फिगर’ भएका व्यक्तिहरूका सोसल मिडिया म्यानेज गर्दा फेक प्रोफाइलले समस्या निम्त्याउने गर्छ, उनी भन्छन्, ‘जसलाई समाधान गर्नु पनि सोसल मिडिया म्यानेजरकै दायित्वभित्र पर्छ। सोसल मिडिया म्यानेजरका रूपमा काम गर्दा आइपर्ने चुनौतीहरू पनि धेरै हुन्छन्।’

सुरुवाती दिनहरूमा उनलाई आफूले के काम गरिरहेको छु यस क्षेत्रमा कसरी आम्दानी गर्न सकिन्छ भनेर समाजलाई बुझाउनु नै चुनौतीपूर्ण थियो। यसका साथै सोसल मिडियामा समयसमयमा भइरहने पोलिसी र नियम परिवर्तनहरू चुनौतीकै रूपमा हुन्छन्। सेलिब्रेटीहरूका आईडी र प्रोफाइललाई ह्याकरहरूले नयाँनयाँ तरिकाले ह्याकिङ गर्ने प्रयास गरिरहेका हुन्छन्। ह्याकरहरूबाट आईडी र प्रोफाइललाई जोगाउन आफूले पनि नयाँनयाँ तरिका सिक्नुपर्ने हुन्छ।

नेपालमा सोसल मिडिया मोनिटाइज गर्न पनि एकदमै चुनौतीपूर्ण छ। साथै नेपालबाट सोसल मिडिया प्रमोट, बुस्ट गर्न पनि त्यति सजिलो छैन। सापकोटा भन्छन्, ‘म लगभग पाँच वर्षदेखि फ्रिल्यान्स सोसल मिडिया म्यानेजरको रूपमै कार्यरत छु। गहिरो इच्छा शक्ति र धैर्यसाथ काम गर्ने हो भने यो क्षेत्र गुणस्तरीय जीवनयापनका लागि उत्कृष्ट बाटो र आयस्रोतको माध्यम बन्न सक्छ भन्ने कुरामा विश्वस्त छु।’ उनका अनुसार सोसल मिडिया म्यानेजर बन्न दिनरात नभनी खट्नु पर्छ र चौबिसैघण्टा इन्टरनेटमा बस्नुपर्छ किनकि ह्याकरहरूले जतिबेलै हमला गर्ने चुनौती हुन्छ।

सब–इन्जिनियर सन्तोष सापकोटाबाट सोसल मिडिया म्यानेजर बनेदेखि फेसबुक, इन्स्टाग्रामलगायतका सामाजिक सञ्जाल चलाउनु नै उनको मुख्य पेसा अर्थात् आयआर्जनको मुख्य स्रोत भइसकेको छ। जुन पेसा अँगालेर उनी आफू कमाउन सकेका त छन् नै। समाज र सामाजिक क्षेत्रमा लागेका सोसल फिगरहरूका कन्टेन्ट पोस्ट गरी, लाइक भ्युज बढाई, आफूले हेर्ने गरेको प्रोफाइललाई साइबर सेक्युरेटी पनि प्रदान गरी यसका साथै सोसल मिडिया मोनिटाइज गर्नुपर्छ। आफूले हेर्ने गरेको प्रोफाइललाई ह्याकिङ, फिसिङ र फेक प्रोफाइलबाट बचाउनका लागि विशेष योगदान पुर्‍याउने काम गरिरहेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.