गिरिराजमणिले प्रचण्डलाई भने- भ्रष्टाचार र भर्याङ माथिबाट बढार्नुपर्छ

काठमाडौं : नेकपा माओवादी केन्द्रका उपमहासचिव गिरिराजमणि पोखरेलले पार्टीका ठूला र शक्तिशाली नेताबाटै भ्रष्टाचारको छानविन सुरू गर्नुपर्ने बताएका छन्। काठमाडौंमा जारी केन्द्रीय कमिटीको बैटकमा उनले शीर्ष नेताहरूबाटै छानविन सुरू गर्न अध्यक्ष पुष्पकमल दाहाललाई प्रस्ताव गरेका हुन्।
सुन तस्करी प्रकरणमा पार्टी उपाध्यक्ष कृष्णबहादुर महरा, उपमहासचिव वर्षमान पुन र पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन मुच्छिएको खबर आइरहेका बेला उनले भने, 'भ्रष्टाचार र भर्याङमाथिबाट बढार्नुपर्छ। भ्रष्टाचारविरुद्ध अभियान सुरु गरेर भित्र र बाहिर बढारेर एउटा सकारात्मक तरंग सिर्जना गर्नुपर्छ।'
उनले पार्टी अध्यक्षले नै सरकारको नेतृत्व गरिरहेका बेला जनताको दिल जित्नेगरी काम गर्नुपर्ने बताए। 'शक्तिमा हुँदा व्यक्ति कठिन संघर्षसँग जुध्नुपर्छ। त्यो आफ्नैविरुद्ध र आफैंलाई नियन्त्रणमा राख्ने संघर्ष हो। चीन आज जुन प्रगतिको ठाउँमा छ। भ्रष्टाचारविरुद्ध एक ढंगले भूमिका खेलेर यहाँ पुगको छ। माओले भन्नुभएको थियो- क्रान्तिको पहिलो निशाना आफैंलाई बनाऊ,' उनले दाहाललाई स्मरण गराए।
सरकारले थालेको भ्रष्टाचारविरुद्धको अभियान राजनीतिको अपराधीकरण र भ्रष्टाचारमा आधारित जीवनशैलीविरुद्धको रहेको उनको भनाइ छ। अहिलको निर्वाचन प्रणालीले राजनीतिककर्मीलाई भ्रष्ट र विकृत पारेको उनले बताए। ‘प्रगतिशील निर्वाचन प्रणाली खोज्नेबारे बहस प्रारम्भ गर्नुपर्छ,’ उनले भने, ‘पुँजीवादी पार्टीले समाजवादी क्रान्ति गर्दैन। सबै समस्याको समाधान निर्वाचनबाटै खोज्ने प्रक्रियामा जानुभन्दा पहिला पार्टी भित्र सर्वाहारा जनतन्त्रको एउटा पूर्व शर्त तयार गर्नुपर्छ।’
दाहाल नेतृत्वको सरकारले यो वर्ष ६ प्रतिशत आर्थिक वृद्धिदरको प्रक्षेपण गरेको छ। उनले भने, 'यो कसरी प्राप्त हुन्छ? सरकार र पार्टी दुवैतिर छलफल गर्नुपर्छ।’
उनका अनुसार अर्थ व्यवस्थाको समग्र इकोसीस्टमको बारेमा माओवादी पार्टी सुसुचित हुनुपर्छ। उनले प्रधानमान्त्री र उपप्रधानमन्त्रीसँग कुरो गर्दा शक्तिशाली आर्थिक रुपान्तरण आयोग बनाउने चर्चा भइरहेको बताएका छन्। ‘आयोगमा प्रधानमन्त्रीको नेतृत्वमा संसदमा रहेका सबै दल र गैरआवासय नेपाली प्रतिनिधि राख्नुपर्छ,’ उपमहासचिव पोखरेलले भने, ‘विदेशमा रहेका नेपालीहरुको ज्ञान, सीप, क्षमता र पूँजी नेपाल राष्ट्रको निर्माणमा लगाउने यो राम्रो प्लेट फर्म हुन्छ।’ तर यस विपरीत आयोग गठनको कानुनी मस्यौदा निर्माण भइरहेको पार्टी अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण गराए।
प्रतिक्रिया दिनुहोस !
