सम्भव छ फोटोग्राफिक मेमोरी ?
संज्ञानात्मक मनोविज्ञानका अनुसार एकपटक हेरेको, पढेको तथा सुनेको भरमा हुबहु जस्ताको तस्तै स्मरण गर्ने क्षमतालाई फोटोग्राफिक मेमोरी भनिन्छ।
संज्ञानात्मक मनोविज्ञानका अनुसार एकपटक हेरेको, पढेको तथा सुनेको भरमा हुबहु जस्ताको तस्तै स्मरण गर्ने क्षमतालाई फोटोग्राफिक मेमोरी भनिन्छ। यस क्षमताका बारेमा अहिलेमात्र होइन, उहिलेदेखि नै अनेक अद्भूत प्रसंग उठने गरेको इतिहास छ। तर फोटोग्राफिक मेमोरी संज्ञानात्मक मनोविज्ञानको क्षेत्रमा एक विवास्पद विषय हो। संसारका कतिपय मानिसहरूले आफूमा यस किसिमको मानसिक क्षमता भएको दाबी गरेता पनि वैज्ञानिक रूपमा यसको पुष्टि भएको छैन।
फोटोग्राफिक मेमोरीको सम्बन्धमा सबैभन्दा चर्चित र वैज्ञानिक अध्ययन भएको विषय हो, रुसका पत्रकार एस.बी. शेरेस्वस्कीको स्मरण शक्ति। उनी साधारण पत्रकार थिए। उनको आईक्यू पनि सामान्य थियो। तर उनको स्मरणशक्ति ज्यादै अद्भूत थियो। रिपोर्टिङका लागि उनलाई कागजकलम तथा टेपरेर्कडर आदिको आवश्यकता पर्दैनथ्यो। उनले सुनेका, पढेका तथा अनुभव गरेका जुनसुकै विषयहरू पनि हुबहु सम्झन्थे, शब्द–शब्द भन्न सक्थे। उनलाई विदेशी भाषाका कवितासमेत हुबहु याद हुन्थ्यो।
रुसका प्रसिद्ध स्नायुमनोवैज्ञानिक ए.आर. लुरियाले एस.बी. शेरेस्वस्की स्मरणशक्तिका वारेमा लामो अध्ययन अनुसंधान गरेका थिए। अध्ययनका क्रममा डा. लुरियाले १४ वर्ष पहिला बताएको निरर्थक शब्दहरूको समूहलाई समेत शेरेस्वस्कीले सही सही बताएको पाए। डा. लुरियाले आफ्नो अध्ययनबाट शेरेस्वस्कीले याद गर्नुपर्ने कुराहरूलाई सम्बद्ध (लिंक) तथा भिज्यूलाइज गरेर याद गर्ने गरेको तथ्य पनि फेला पारे। उनले याद गर्न पर्ने कुराहरूलाई रगिंन बनाएर र एक अर्कोसँग गाँसेर कल्पना चित्रमा उतार्थे। यो नै अहिले प्रचलित मेमोरी टेक्निक हो।
फोटोग्राफिक मेमोरीको सम्बन्धमा कतिपय कुरा रहस्यमय भएता पनि यस्ता व्यक्तिहरूले मेमोरी टेक्निक प्रयोग गरेर नै शक्तिशाली स्मरणशक्ति बनाएका हुन् भन्ने तथ्य चाहीँ सत्य हो। हिजोआज अद्भूत स्मरणशक्ति प्रदर्शन गरी चर्चामा आउने गरेका तथा स्मरण शक्तिमा गिनिज बुक वल्र्ड रेकर्ड राखेका जति पनि व्यक्तिहरू छन्, उनीहरूले मेमोरी टेक्निकहरू उपयोग गरेर यस्तो स्मरण शक्ति प्रदर्शन गर्न सकेका हुन्। मेमोरी टेक्निकका बारेमा जानकारी नभएका मानिसहरूलाई यस्तो मेमोरी प्रदर्शनी जादु जस्तो लाग्ने गर्छ। तर यो न त जादु हो न त जन्मिँदै पुर्पुरोमा लिएर आएको क्षमता हो। मेमोरी टेक्निक सिक्ने हो भने जोसुकैले पनि यस किसिमको अपत्यारिलो क्षमता प्रदर्शन गर्न सक्छन्, ७–८ वर्षका बालबालिकाले पनि।
वैदिक कालमा ऋषिमुनिहरू तथा उनका चेलाहरूले वैदिक मेमोरी टेक्निकद्धारा श्लोक तथा पाठहरू याद गर्थे। ५औं शताब्दीतिर ग्रीसमा पनि मेमोरी टेक्निकको खुब चर्चा थियो। तर बिचमा आएर मेमोरी टेक्निक मृत प्रायः भयो। अदभूत स्मरणशक्तिका पत्रकार शेरेस्वस्की आवगमनसँगै पुनः मेमोरी टेक्निकले चर्चा पायो। मेमोरिष्ट हैरी लोरेनको किताब, मेमोरी बुकले मेमोरी टेक्निकलाई संसारभरि फैलायो। अहिले त करोडौं मानिसले मेमोरी टेक्निक सिकेर फाइदा लिइरहेका छन्। हुन पनि मेमोरी टेक्निकले कतिपय अवस्थामा कमाल नै देखाउँछ।
तर, मेमोरी टेक्निकका पनि सीमा छन्। हरेक कुराहरू याद गर्न मेमोरी टेक्निकको उपयोग गर्न कठीन हुन्छ। एक सेकेण्डमा एक पृष्ठ पढेर कुनै किताब याद गर्न सकिँदैन। त्यो किनभने कुनै पनि विषय स्मरणको लागि पञ्च ज्ञानेन्द्रिय (आँखा, कान, नाक, जिब्रो तथा त्वचा) मार्फत् विषय मनमस्तिष्क स्टोर हुन आवश्यक छ। देखेर, सुनेर, पढेर तथा अनुभव गरेर नै सूचना मनमस्तिष्कमा स्टोर हुन्छन्। र, मनमस्तिष्कमा स्टोर भएका सूचना नै स्मृतिमा आउने हो। सामान्यतया औसत मानिसले एक मिनेटमा ३ सय शब्द पढ्न सक्छन्। तर मेमोरी टेक्निकको स्पीड रिडिङ सिकेका व्यक्तिले एक मिनेटमा १५ सय शब्द पढ्न सक्छन्। कसैकसैले त एक मिनेटमा १०औं हजार शब्द पढ्न सक्ने दावी गर्छन्।
डा. पाउल आर. शेलेको एउटा चर्चित किताब छ, फोटोरिडिङ। यस किताबमा लेखकले फोटोरिडिङको टेक्निक सिकेर अभ्यास गर्ने हो भने फोटोरिडरले एक मिनेटमा २५,००० शब्दभन्दा बढी शब्द पढ्न सक्षम हुने दाबी गरेका छन्। यसको मतलब एक पृष्ठ किताब पढ्न १ सेकेण्ड लाग्छ। १६९ पृष्टको उनको किताब फोटोरिडिङ पढ्न सिर्फ ३ मिनेट लाग्छ। तर यस किसिमको पढाइ स्टन्ट देखाउन उपयुक्त भए पनि यसको व्यावहारिक अर्थ भने खासै छैन। त्यो किनभने पढ्नु भनेको सिर्फ पढ्नुमात्र होइन, बुझ्नु पनि हो।
फोटोरिडिङ टेक्निकमार्फत् पढेका शब्दहरूको निचोडलाई मात्र मस्तिष्कले चित्रका रूपमा स्टोर गर्दछ, शब्द शब्दलाई होइन। शब्द शब्दलाई स्टोर गर्न हरेक शब्दहरू पढ्न (हेर्न) आवश्यक हुन्छ। समान्यतया एक शब्द हेर्न र स्टोर गर्न ०.३ सकेण्ड जति समय लाग्छ। त्यसैले कुनै पनि व्यक्तिले सर्र पाठहरू हेरेको भरमा १ हजार पृष्टको किताब १०, १५ मिनेटमा शब्द शब्द हुबहु याद गर्न सक्ने प्रश्न नै उठ्दैन। सामान्यतया कुनै पनि किताब शब्द शब्द नपढीकन किताब हुबहु याद गर्न सम्भव छैन।
वैज्ञानिक रूपमा अहिलेसम्म फोटोग्राफिक मेमोरी सत्य सावित नभएता पनि मेमोरीसँग सम्बन्धित कतिपय किताबको पाना पल्टाउने हो भने फोटोग्राफिक मेमोरीका वारेमा यस्ता हजारौं घटना छन्। तर, पत्रकार शेरेस्वस्कीवाहेक कुनै पनि यस्ता व्यक्तिको स्मरण शक्तिका बारेमा वैज्ञानिक अध्ययन भएको छैन। कतिपय संज्ञानात्मक मनोवैज्ञानिक फोटोग्राफिक मेमोरीको यस कथित क्षमतालाई वाहियात र अफवाहको संज्ञा पनि दिने गर्छन्।
त्यसैले हजार पृष्ठको कुनै पनि भाषाको किताब १०, १५ मिनेटमा पढेर अघिपछि जताबाट सोधे पनि हुबहु बताउन सक्ने क्षमतामाथि विश्वास गर्न सकिने ठाउँ छैन। मूल कुरो यस किसिमको क्षमता विकास गर्न कसैलाई पनि आवश्यक छैन, विद्यार्थीलाई पनि। पढेर सबै कुरा याद भए पनि यदि पढेको बुझिएन भने त्यसको कुनै अर्थ हुँदैन।