
काठमाडौं : तीन दशकदेखि नेकपा माओवादी पार्टीमा पुष्पकमल दाहालको एकछत्र नेतृत्व छ । द्वन्दकालदेखि शान्ति प्रक्रियासम्म,संविधानसभादेखि संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था आउँदासम्म पार्टीको सुप्रिम कमाण्डरको जिम्मेवारी दाहाललाई नै छ । २०७८ सम्पन्न आठौं महधिवेशनबाट सामूहिक नेतृत्वमा जाने निर्णय भएको थियो । तर, संगठनभित्रको नर्सरीमा उत्तरधिकारी बिउ उर्मिन खोज्दा दाहालले नै निमोठ्दै आएको आरोप लाग्दै आएको छ ।
दाहालले आफू पार्टीको नेतृत्वमा रहिरहन कहिले बाबुराम भट्टराईलाई कारवाही गरे भने कहिले नेत्रविक्रम चन्द 'विप्लव' त कहिले मोहन वैधलाई पार्टीबाट पाखा नलगाएका होइनन् ।
दाहालले पार्टीलाई आफूभन्दा अरुले चलाउनै नसक्ने बनाए। दाहालविरुद्ध आवाज उठ्दा बैठकपिच्छे नेताहरूलाई पद बाँड्दै मिलाउँदा मिलाउँदै शक्तिशाली माओवादी टुक्रा, टुक्रामा विभक्त भयो । दाहालकै कारण पार्टी कमजोर स्थितिमा पुगेको भन्दै माओवादी केन्द्रीय समितिको बैठकमा चर्को विरोध भइरहेको छ ।
कमलादीस्थित प्रज्ञा भवनमा जारी केन्द्रीय सदस्यको बैठकमा दाहालमाथि प्रश्नको वर्षात् भइरहेको छ । शनिबारको बैठकमा पदाधिकारी स्तरका नेताहरूले नै दाहालको मनोमानी,परिवारवादविरुद्ध आवाज उठाएका छन् । पार्टीलाई कमजोर बनाएर अरु पार्टीको बैशाखी टेकेर रमाउने प्रवृत्तिले पार्टी कमजोर भएको नेताहरूले कडा आलोचना गरेका छन् । यसबारे बैठकमा उपमहासचिव वर्षमान पुन,जनार्दन शर्मा र गिरिराजमणि पोखरेलले आफ्नो धारण राखेका थिए ।
पार्टीमा उत्तराधिकारी निर्माण गर्न जरुरी पार्टीका उपमहासचिव वर्षान पुनले अध्यक्ष दाहालको विकल्प तयार गर्नुपर्ने आवश्यक रहेको बताए । उनले तत्कालै अध्यक्षको विकल्प कसैले नखोजेको तर, अध्यक्षको उत्तराधिकारी निर्माण जरुरी भइसकेको उनले बताए ।
पुनले घुमारो शैलीमा भने,‘तत्कालै कसैले अध्यक्षको विकल्प खोजेको छैन । अध्यक्षलाई सम्पूर्णरूपले सहयोग गरेर जान म तयार छु । उत्तराधिकारी तयार पार्न विधिको विकास गरेर जाऔं ।’ पार्टीमा विद्यमान समस्या विचारको छैन तर, विधिपद्धतिको आवश्य उठेको उनले बताए ।
उनका अनुसार पार्टी पुनरनिर्माणको ऐतिहासिक सम्भावना छ । वर्ग संघर्ष र राजनीतिक संघर्षको रूप फेरिएको छ । यस्तो अवस्थामा सरकार प्रमुख मोर्चा छ । डिजिटल युग सुहाउँदो पार्टी बनाउनु आवश्यक रहेको छ ।
उनले भने, 'पार्टी संगठनमा तीन एकको (पाका, प्रौढ र युवा) नीति लागू पर्छ । पार्टीमा देखिएका समस्याको समाधान आगामी विधान सम्मेलनबाट हल गर्नुपर्छ,'उनले बैठकमा भने । अर्का उपमहासचिव जनार्दन शर्माले पार्टीले पार्टी अध्यक्ष दाहालसँग उत्तराधिकारीहरूको लामबन्दी तयार गर्नुपर्ने माग राखेका छन् । पार्टीभित्र अधिकार खोज्दा पार्टी अध्यक्षले नेताहरूमाथि अविश्वास गर्ने गरेको उनले दुःखेसो पोखे । ‘पार्टीभित्र आलोचना र आत्मालोचना हुँदैन । लागेका कुरा छलफल गराई सही वा गलत के हो भन्ने कुरा स्पष्ट पार्ने वातावरण छैन,’उनले भने, ‘नेतृत्वले एक वा अर्कोलाई अविश्वास र आशंकाले होइन विश्वासका आधारमा व्यवहार गर्ने पद्धतिको विकास गर्नुपर्छ ।’
नेतृत्वले नै पार्टीलाई विधिसम्मत नचलाएको नेता शर्माले बताए । चुनावी प्रतिस्पर्धाका आधारमा तलदेखि माथिसम्म नेतृत्व चयन गर्नुपर्नेमा नेता शर्माले पार्टी अध्यक्षसँग माग राखे । उनले भने,‘अब विधान नमिच्ने सङ्कल्प नेतृत्वले नै गर्नुपर्छ । नेतृत्व चयनका लागि पार्टीभित्र मनोनयनको सट्टा निर्वाचनको प्रक्रिया प्रारम्भ गर्नुपर्छ । समावेशी प्रतिनिधित्वको लागि सम्बन्धित क्लष्टरमा निर्वाचन गर्नुपर्छ ।’ माओवादी धारलाई अब समाजवादी धारमा रूपान्तरण गर्दै सोही अनुसार माओवादी पार्टीको सैद्धान्तिक मार्ग निर्देशन तयार गर्नुपर्ने उनले बैठकमा प्रस्ताव राखेका छन् ।
नेता शर्माले पार्टी नेतृत्वले हालसम्म प्राप्त उपलब्धिबारे जनताका बीचमा राम्रोसँग प्रचार गर्न र संस्थागत गर्न चासो नलिएकोमा आपत्ति जनाए । ‘जनयुद्ध, शान्ति सम्झौता, संविधान निर्माण र कार्यान्वयनका ऐतिहासिक उपलब्धिहरूको संश्लेषण नगरेर इतिहासको अवमूल्यन गरिएको छ,’उनले भने,‘यसलाई सच्याउनुपर्छ । पुष्पलालदेखि पुष्पकमलसम्मको उपलब्धिको संश्लेषण जरुरी छ ।’
वामपन्थी तथा प्रगतिशील जनमतलाई माओवादी नेतृत्वले बिर्सेको उनले चर्चा गर्दै भने,‘नेतृत्व हतबाटै उन्नत लोकतन्त्रको अभ्यास गर्नुपर्छ ।’अर्का उपमहासचिव गिरिराजमणि पोखरेलले नेताहरुको कामले आशा र विश्वास जगाउनु पर्नेमा जोड दिए ।
‘हाम्रो कामले आशा जगाउने र जनतामा साहस बढाउनुपर्छ । यो बैठकसम्म आइपुग्दा पार्टीमा आशा जगाएको छ जनाता सहस पैदा हुँदै गएको छ ,'उनले बैठकमा भने, ‘अध्यक्षबाट आएको प्रस्तावबाट दुईवटा माइल स्टोन छ, एउटा विधान सम्मेलन र अर्को विशेष महाधिवेशन । यि एक अर्कासँग सम्बन्धित छन् ।’
एकाईसौं शताब्दीको समाजवाद,त्यसको नेपाली मोडेल र नेपाली विशेषताको समाजवादलाई विशेष महाधिवेनमा ठोस र मूर्त बनाउनुपर्नेमा उनले जोड दिए । पार्टी नेतृत्वको सवालमा उनले दाहालको वरिपरी आफूलाई विकास गर्नुमा जोड दिए ।
‘हामी एउटा महत्वपूर्ण लिडर सीप प्राप्त गरेका छौं । यस्तो लिडरसीप अन्तराष्ट्रिय कम्युनिष्ट आन्दोलन दुर्लभ ढंगले प्राप्त भएको हुन्छ । यो लिडर सीपको वरिपरि आफूलाई पुरो हेर्ने र परिवर्तनको दिसामा लैजाने, नेतृत्वको रुपमा विकास गर्नु सोच्नुपर्छ
भ्रष्टाचार र भर्याङ माथिबाटै बढार्नुपर्छ
उपमहासचिव पुनले माओवादी पार्टीभित्र पनि भ्रष्ट्राचारी विरुद्ध अभियान चलाउनुपर्नेमा जोड दिएका छन् । पार्टी बैठकमा बोल्दै नेता पुनले भ्रष्टाचारमा संलग्न भएको पुष्टि भए माओवादी नेताहरूलाई पनि सरकारले उन्मुक्ति दिन नहुनेमा जोड दिए ।
‘सरकारले थालेको भ्रष्टाचारविरोधी अभियानले जनतामा उत्साह पैदा गराएको छ । अध्यक्ष कमरेड तपाईंको अभियानमा हाम्रो दह्रो साथ छ,'उनले भने, ‘कुनै पनि हालतमा यो अभियान रोकिँदैन र रोकिनु हुँदैन । छानबिन गर्दा पार्टीकै कोही नेता परे पनि सजाय भोग्न तयार हुनुपर्छ । यो अभियानले हामी कसैको बलिदान माग्छ भने पनि तयार हुनुपर्छ ।'हालै सय किलो सुन तस्करी प्रकरणमा नेता पुनको नाम मुच्छिएको छ ।
त्यसैगरी उपमहासचिव शर्माले २०४७ पछिका नेताहरूको सम्पत्ति छानविन गरिनुपर्ने बताए । उनले भने,‘पार्टीभित्रका नेताहरुको पनि सम्पत्ति छानबिन गर्नुपर्छ । म फेरि पनि भन्छु– छानबिन गरौँ कसको सम्पत्ति कति छ ? कसका घर कति छन् ? कसका के—के व्यवसाय छन् ? कसका बैक ब्यालेन्स कति छ ? म तयार छु ।’
उप महासचिव पोखरेलले पार्टीका माथिल्लो तहकै नेताबाट भ्रष्टाचारको छानबिन गर्नुपर्ने बताएका छन् । ‘भ्रष्टाचार र भर्याङ माथिबाटै बढार्नुपर्छ । भ्रष्टाचार विरुद्ध अभियान सुरु गरेर भित्र र बाहिर बढारे एउटा सकारात्मक तरंग सिर्जना गर्नुपर्छ ,'उनले भने,‘पार्टी एकतादेखि नै नारायणकाजी श्रेष्ठको नेतृत्वसहितको पार्टीमा अध्यक्षको भूमिका प्रभावशाली हुन्छ भनेर भन्दै आएको छु । आज व्यवहारमा आइपुग्दा साँच्चै एउटा सन्देश पैदा गरेको छ । यो वर्ग संघार्ष पनि हो । वर्ग संघर्षलाई नयाँ ढंगले विस्तार गर्न जरुरी छ ।’
पार्टी सरकारमा रहेको बेला पार्टी अध्यक्ष दाहालले आफ्नै पार्टीको धुलोमैलो सफाइ गर्नुपर्नेमा जोड दिँदै भने,‘शक्तिमा हुँदा व्यक्ति कठिन संघर्षसँग जुट्नुपर्छ । त्यो आफ्नैविरुद्ध र आफैलाई नियन्त्रणमा राख्ने संघर्ष पनि हो ।’
क्रान्तिको पहिलो निशाना आफैलाई बनाउन दाहाललाई उपमहासचिव पोखरेलले आग्रह गरेका छन् । उनले भने, ‘भ्रष्टाचार विरुद्धको यो अभियान राजनीतिको अपराधीकरण र भ्रष्टाचारमा आधारित जीवनशैलीविरुद्ध पनि लक्षित छ । ’
अहिलको निर्वाचन प्रणालीले राजनीतिककर्मीलाई भ्रष्ट र विकृत पारेको भन्दै उनले थपे,‘निर्वाचन प्रणालीलाई प्रगतिशील बनाउन बहस प्रारम्भ गर्नुपर्छ। ’ अध्यक्ष दाहालले भने पार्टी एक ढिक्का भएको दावी गरिरहेका छन् । शनिबारको बैठक सकेर निस्किदै गर्दा उनले माओवादी पार्टी अब एक ढिक्का भएको आफूलाई महशुस भएको उल्लेख गरे ।
माओवादी बैठक वाद, विवाद र सम्बाद हुँदै टुंगिन लागेको उनको दावी थियो । ‘हामीले लोकतन्त्रको भने पनि जनवादको भने पनि धेरै ठूलो र सर्वोच्च अभ्यास गर्यौं,’उनले भने, ‘पार्टी अब एक ढिक्का भयो भन्ने सबैलाई महशुस भएको छ । वादविवाद र सम्बादमा यो बैठक टुंगिदैछ ।’
बैठकको चौथो दिन शनिबार ७४ जना केन्द्रीय सदस्यले आफ्नो धारणा राखेको पार्टी प्रवक्ता कृष्णबहादुर महराले बताए । उनका अनुसार बैठकमा सहभागी सदस्यहरूले पार्टी रुपान्तरण,भ्रष्टाचार नियन्त्रण,आर्थिक सुशासन र युवा सहभागीतालगायत विषय उठाएका छन्।
बैठकमा सबै सदस्यहरूले अध्यक्ष दाहालको राजनीतिक प्रस्तावमा समर्थन जनाएका छन्। त्यस्तै माओवादी नेतृ रेखा शर्माले केन्द्रीय सदस्यहरूले बोल्ने क्रम लगभग सकिएको बताइन् ।
उनले सरकार सञ्चालनका विषयमा सबैजनाले धन्यवाद दिएको र पार्टी निर्माणमा ठोस अवधारणा ल्याउन सुझाव दिएको बताइन् । केन्द्रीय समिति बैठक आज दिउँसो १ बजे बस्दैछ। बैठकमा अध्यक्ष दाहालले केन्द्रीय सदस्यहरूले उठाएका विषयवस्तुको जवाफ र भावी कार्ययोजनाबारे जवाफ दिनेछन्।
प्रतिक्रिया दिनुहोस !
