एकीकृत समाजवादीको मुख्य प्रतिद्वन्दी दक्षिणपन्थी शक्तिका रुपमा रहेको कांग्रेस
एमालेसँग वैचारिक सैद्धान्तिक भिन्नता नदेखिँदा नेता कार्यकर्ताहरु फर्किए : झलनाथ खनाल
कांग्रेसलाई दक्षिणपन्थी शक्ति भएको संकेत गर्दै खनालले एकीकृत समाजवादी दक्षिणपन्थी र माओवादीको पिछलग्गु बनेका टिप्पणी गरे।
काठमाडौं : पूर्वप्रधानमन्त्री एवम् नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले एमालेका सैद्धान्तिक र नीतिगत सवालमा भिन्नता के छ देखाउन नसकिएको बताएका छन्। पार्टीको स्थायी कमिटी बैठकमा छुट्टै १६ पेजको लिखित दस्तावेजमा प्रस्तुत गर्दै खनालले एमालेसँग वैचारिक सैद्धान्तिक भिन्नता नदेखिँदा ठूलो संख्यामा विद्रोह गरेर अघि आएका नेता कार्यकर्ताहरु फर्किनेक्रम बढेको बताएका हुन्।
‘हाम्रो पार्टी र विद्रोह गरिएको पार्टी (एमाले) का सैद्धान्तिक र नीतिगत सवालमा भिन्नता के छ देखाउन सकिएको छैन। हाम्रो पार्टीमा पनि जबज कै धङधङी छ र ( एमाले ) मा पनि जबज कै धङधङी छ। त्यसले गर्दा पनि ठुलो संख्यामा विद्रोह गरेर अघि आएका नेता कार्यकर्ताहरु वैचारिक सैद्धान्तिक भिन्नता नदेखेर एमालेमा फर्किने क्रम देखिन्छ।’ उनले लिखित दस्तावेजमार्फत भनेका छन्,‘किन यस्तो भइरहेको छ ? हामी भित्र कहाँ कमजोरी छ ? कुन कमजोरीका कारणले यस्तो भइरहेको छ ? हामीले यी सम्पुर्ण कमि कमजोरीहरुलाई क्रान्तिकारी वर्ग दृष्टिकोणका आधारमा विश्लेषण गर्नुपर्छ, तिनीहरुलाई निर्ममता पुर्वक हटाउनुपर्छ, बैचारिक तथा संगठनात्मक दुबै क्षेत्रबाट यस्ता कमजोरीहरुलाई हटाएर हामीले हाम्रो पार्टीलाई एउटा सबल, संशक्त र धारिलो क्रान्तिकारी जगमा उभ्याउनुपर्छ र प्रधान अर्न्तविरोध र प्रधान प्रतिद्धन्दीका विरुद्ध क्रान्तिकारी धारलाई सोझ्याउदै अघि बढ्नुपर्छ। तब मात्र पार्टी पंक्तिमा नयाँ उत्साह, उमङ्ग र जोसको संचार हुनेछ।’
उनले पार्टीलाई दक्षिणपंथी कार्यदिशाबाट होइन प्रष्ट रुपले क्रान्तिकारी कार्यदिशा, नीति र सिद्धान्तका आधारमा अघि बढाउनुपर्ने धारणा राखे। कांग्रेसलाई दक्षिणपन्थी शक्ति भएको संकेत गर्दै खनालले एकीकृत समाजवादी दक्षिणपन्थी र माओवादीको पिछलग्गु बनेको टिप्पणी गरे।
‘अब सबै वामपंथीहरु (एमाले लगायत) लाई नयाँ धरातलबाट मुक्त मनले विश्लेषण गरेर जाऔं, प्रतिगमन विरोधी आन्दोलन सकियो, अन्र्तविरोध बदलिइसक्यो। त्यसैले अब गठबन्धनमा बाधिएर होइन, नयाँ स्वतन्त्र र क्रान्तिकारी ढङ्गले जानुपर्छ भन्ने कुरा चुनाव पुर्व कैबैठकमा मैले राखे। तर त्यसलाई सुनिएन। आखिर हाम्रो पार्टी दक्षिणपंथी र माओवादीको पिछलग्गु जस्तो भएर अघि बड्यो।’ खनालले भने, ‘नेपाली कांग्रेस र माओवादी दुवैले हाम्रो पार्टीलाई देशैभरि धोखा दिए। हाम्रो पार्टीलाई मतदाता मात्र बनाए। त्यसले हाम्रो पार्टीको बन्दै गरेको क्रान्तिकारी छवी र साख नराम्ररी गिराई दियो। कार्यकर्ताहरु देशव्यापी रुपमा निरास भए। त्यसपछि “बरु एमाले तिरै जाने” भन्ने चिंतनको विकास हुन थाल्यो र पलायन बढदै गयो।’
खनालले एकीकृत समाजवादी र सबै बामपन्थी समूहरुको मुख्य प्रतिद्वन्दी शक्ति भनेको दक्षिणपन्थी शक्तिका रुपमा रहेको नेपाली काँग्रेसबाहेक अरु कुनै हुन सक्दैन टिप्पणी गरे।
‘नेपाली समाजको ठोस राजनीतिक स्थितिमा हाम्रो पार्टीको र सबै बामपन्थी समूहरुको मुख्य प्रतिद्वन्दी शक्ति भनेको मुख्यतः दक्षिणपन्थी शक्तिका रुपमा रहेको नेपाली काँग्रेस बाहेक अरु कुनै हुन सक्दैन। यस बारेमा हामी लगायत सबै बामपन्थी समूहरुले प्रष्ट क्रान्तिकारी दृष्टिकोण र अडान राख्न सक्नुपर्छ। तर अन्य अधिकांश बामपन्थी समूहहरु ठीक यही बिन्दुमा चुकिरहेका छन्। उनीहरु मुख्य प्रतिद्वन्दी शक्तिसँग “गठबन्धन”,“कार्यगत एकता” वा “मोर्चा” बनाउँदै सत्ताका चुस्की लिइरहेका छन्। यो दक्षिणपन्थी कार्यदिशा हो।’ उनले भने, ‘यो दक्षिणपन्थी कार्यदिशाले वामपन्थीहरुलाई निरन्तर अधोगति सुस्तता, विभाजन र पलायन तिर लगीरहेछ। दक्षिणपन्थीहरुलाई लगातर फाइदा पुगी रहेछ। उनीहरु वामपन्थीहरुलाई विभाजन गर्न र त्यसको एक हिस्सालाई उपयोग गरेर आफ्नो शक्ति वृद्धि गर्न सफल भइरहेछन। यसरी बामपन्थी समूहरु दक्षिणपन्थी शक्तिका प्यादा र बैशाखी जस्ता बनेका छन् र आफ्नो शाख निरन्तर गिराइरहेका छन्।’