हुलाकी राजमार्ग बनाउन माग गर्दै जिल्ला प्रशासन कार्यालय मोरङमा धर्ना
विराटनगर : लामो समयदेखि निर्माणधिन रहेको हुलाकी राजमार्गको काम तत्काल सम्पन गर्न स्थानीय सरोकार बालाहरुले आज देखि अनिश्चितकालका लागि धर्नामा बसेका छन् । जिल्ला प्रशासन कार्यालय मोरङको अगाडी स्थानीय सरोकारबालाको सहभागीतामा नागरिक संघर्ष समिति गठन गरेर धर्नामा बसेका हुन् ।
मोरङको कटहरी खण्डमा निर्माण कार्य लामो समयदेखि रोकिएको भन्दै स्थानीय सरोकारवालाहरूले यसअघि पनि पटकपटक दबाबमुलक आन्दोलनको कार्यक्रम गरिदै आएता पनि कुनै सुनवाही नभएकाले धर्नामा बसेको संयोजक मृतुञ्जय झाले बताए ।
सडक निर्माणका लागि ठेकेदारलगायत सरोकारवाला निकायहरूलाई पटक–पटक ध्यानाकर्षण गराउँदा पनि काम सुचारु नभएको भन्दै स्थानीय संघर्ष समितिले बाध्य भएर धर्नामा बसेको उनलेको भनाइ छ ।
हुलाकी सडक निर्माणका लागि दबाब दिने उद्देश्यले स्थानीय राजनीतिक दल र नागरिक समाजको अगुवाईमा गठन भएको नागरिक संघर्ष समितिले शुक्रबार जिल्ला प्रशासन कार्यालय मोरङ ज्ञापनपत्र बुझाउँदै आइतबार बिहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म धर्ना दिने जानकारी दिइएको हो।
रोकिएको हुलाकी राजमार्ग निर्माण कार्य तत्काल सुचारु गर्नुपर्ने, कटहरी क्षेत्रमा पानीको निकास हुनेगरी कल्भर्ट र नाला निर्माण गर्नुपर्ने, समयमा काम नगर्ने ठेकेदारको धरौटी जफत गरी कालो सूची राखी कारवाही गरिनुपर्ने, सडकका खाल्डाखुल्डी पुरेर धुलो र हिलो नियन्त्रण गर्नुपर्ने र विराटनगर–कटहरी जोड्ने सिंघिया नदीमा पुल निर्माण थालिनुपर्ने माग अघि सार्दे धर्नामा बसेको हो ।
सर्वपक्षीय सर्वदलीय नागरिक संघर्ष समिति कटहरीका संयोजक मृतुञ्जय झाले लामो समयदेखि निर्माण अलपत्र पारेर ठेकेदार बेपत्ता हुँदा दिनहु दुर्घटना हुनुको साथै आवत जावतमा स्थानीयलाई सास्ती खेप्नु परेको बताए ।
स्थानीय प्रशासन र सरोकार निकायले अनुगमन र कारवाही नगर्दा ठेकेदारको मनोमानी बढेको उनले बताए । उनले भने,'सबैको मिलोमतोमा काम अगाडि नबढाएको स्थानीयले महशुस गरेका छौं । 'उनले तत्काल काम सुचारु नभए धर्नालगायतका दबाबमूलक कार्यक्रम निरन्तर जारी रहने उनले थपे ।
यसअघि मोरङबाट निर्वाचित स्थानीय तह, प्रदेश सभा र संघीय संसदका जनप्रतिनिधिले हुलाकी सडक निर्माणमा ढिला सुस्ती भएको भन्दै आपत्ति जनाएका थिए । आन्दोलनमा जनप्रतिनिधि र स्थानीयतहका प्रमुखहरूको समेत सहभागीता रहेको छ ।