बैसरीको पहिरोले बेनी–जोमसोम सडकको यातायात प्रभावित
बेनी : म्याग्दीको रघुगंगा गाउँपालिका–२ बैसरीको अधेरीखोलास्थित पहिरोले बेनी–जोमसोम सडकमा यातायात सेवा प्रभावित बनेको छ । सडक माथिबाट निरन्तर पहिरो खस्न थालेपछि म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम–कोरला सडकमा दैनिक जसो यातायातका साधन आवत जावत बन्द हुने गरेको छ ।
सडक अवरुद्ध हुदा म्याग्दीको रघुगंगा, अन्नपूर्ण गाउँपालिका, मुस्ताङका सर्वसाधारणका साथै तिर्थयात्री र पर्यटकहरु घण्टौ सम्म जाममा पर्ने गरेका छन् । पहिरो खसिरहने र सडक अवरुद्ध हुने समस्याले यात्रुलाई समयमा गन्तब्यमा पुग्न समस्या भएको बेनीका किशोरकुमार श्रेष्ठले बताए ।
‘पहिरो खस्न रोकिएको मेसो पारेर वारपार गर्नुपर्छ,’उनले भने ‘हिँडिरहेको अवस्थामा कुन बेला पहिरो खसेर पुर्छ भन्ने जोखिम र त्रास छ ।’
सडकमाथि पहाडको डिल छ । पहाडमाथिको पाखो सडकबाट देखिदैन् । पाखोबाट खस्ने ढुङ्गा र पहिरोले गुडिरहेका सवारी साधनलाई क्षति पुग्ने, यात्रुलाई चोटपटक लाग्ने गरेको छ । गत वर्षदेखि बैसरीमा नयाँ पहिरो सिर्जना भएको हो ।
जीप र मोटरसाइकलले बैसरी–रिसिनचौतारी–पिप्ले–घुमाउने ताल जोड्ने करिब एक घण्टा घुमाउरो सडक प्रयोग गरेपनि ठूला सवारी साधनलाई वैकल्पिक सडक छैन् । बैकल्पिक सडक जिर्ण,साँघुरो र जोखिमयुक्त छ ।
७६ किलोमिटर दुरीको बेनी–जोमसोम सडकमा सिधा यातायात सञ्चालन नहुँदा आवत जावतका साथै आलु,स्याउलगायत कृषि उपज निकासी प्रभावित भएको छ । बेनी–जोमसोम–कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनका अनुसार पहिरो खस्ने पाखोमा बग्ने अवस्थामा रहेको ढुंगामाटोलाई सेना,प्रहरी र मजदुरले सडकमा खसालेर डोजरले पन्छाएर अस्थायी रुपमा सडक खुलाउने गरिएको छ ।
‘आइतबार १३ घण्टा लगाएर खुलाएको सडक १५ मिनेटपछि पुन बन्द भयो,’उनले भने ‘भिरमाथिको पाखो भूमिगत पानी र पहिरोले चिराचिरा भएर सडकमा पहिरो खसिरहने हुँदा जोखिमका साथै सडक अवरुद्ध हुने गरेको छ ।’
पहिरो पन्छाउन शत्रुभञ्ज्याङ गुल्मका सैनिक र जिल्ला प्रहरी कार्यालयको सुरक्षाकर्मीको साथै आयोजनाका कर्मचारी तथा मजदुर परिचालन गरिएको छ । सडकमा थुप्रिने पहिरो डोजरको सहायताले कालीगण्डकीमा खसालेर पन्छाउने गरिएको छ ।
बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख जगत प्रजापतिको नेतृत्वमा केही दिनअघि भूमिगत पानी पाइपबाट बगाएर पहिरो रोकथामको प्रयास भएपनि सफल भएको छैन।
आकाशबाट पानी पर्ने बित्तिकै पहिरो चल्ने र सडकमा खस्ने समस्या छ । तत्काललाई जोखिम न्युनीकरणको उपाय, अवरुद्ध सडक खुलाउन डोजर तथा मजदुर परिचालनका साथै दिर्घकालिन समाधान गर्न माथिल्लो निकायमा पहल गर्ने आयोजना प्रमुख प्रजापतिले बताए ।