नवलपरासीमा दुर्घटना घट्यो
परासी : नवलपरासीमा ट्राफिक चेकजाँच र सचेतना कार्यक्रम बढेसँगै सवारी दुर्घटनामा कमी आएको छ।
अघिल्लो वर्षको तुलनामा गत वर्ष २०७९/०८० मा दुर्घटनामा कमी आएको हो। अघिल्लो वर्षभन्दा गत वर्ष आधाभन्दा बढीले दुर्घटनामा कमी आएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
दुर्घटना बढेपछि ट्राफिक प्रहरीले जिल्लाका विद्यालय/कलेजहरूमा ट्राफिक नियमबारे जानकारी दिनुका साथै चालक, परिचालक, साइकलयात्री, पैदलयात्रीलाई ट्राफिक सचेतना प्रशिक्षण कार्यक्रम गर्दै आएको जिल्ला ट्राफिक कार्यालयका प्रमुख निरीक्षक प्रसिद्धिका कँडेलले बताइन्।
सचेतासँगै दुर्घटना बढी हुने क्षेत्रको पहिचान गरी त्यस स्थानमा गस्ती बढाएर चेकजाँचलाई निरन्तरता दिइदै आएको र त्यसले दुर्घटनामा कमी आउनमा सघाउ पुगेको कँडेलको भनाई छ।
दुर्घटना न्यूनीकरणका लागि लामो दूरीमा चल्ने सवारी साधनलाई रोकेर प्रशिक्षण एवं रिफ्रेस गर्ने गरिएको पनि ट्राफिक प्रहरी निरीक्षक कँडेलले बताइन्।
दुर्घटनामध्ये सबैभन्दा बढी मोटर साइकलमा घटना बढी छन्। अघिल्लो वर्ष कुल १८७ वटा सवारी दुर्घटनाबाट ३४ जनाको मृत्यु भएको थियो। २७८ घाइते भएका थिए। सो अवधिमा १५४ वटा मोटर साइकलबाट भएका दुर्घटना छन्।
गत आवमा ७४ वटा सवारी दुर्घटनाबाट ४० जनाको मृत्यु भएको छ। ८१ जना घाइते भएका छन्। सो अवधिमा ५४ वटा मोटर साइकलबाट भएका दुर्घटना छन्।