शिवालयमा भक्तजनको घुइँचो
हेटौंडा : साउने सोमबारको चौथो हप्ता आज बिहानैदेखि मकवानपुरका शिवालयहरूमा भक्तजनको घुइँचो लागेको छ।
साउने झरीमा रुझ्दै सयौँको सङ्ख्यामा भक्तजनहरू हेटौंडा– ४ हुप्रचौरस्थित पशुपतिनाथ, हेटौंडा–१० स्थित गोरक्षस्वर मन्दिर, हेटौंडा– ८ कालिकाटोलस्थित शिव मन्दिर र त्रिवेणीधाम लगायत अन्य शिवालयहरूमा पूजा, आराधना एवं दर्शनका लागि लाममा बसेका छन्।
साउनको सोमबार पशुपतिनाथ मन्दिरमा भक्तजनको भीड लाग्ने भएकाले बिहानैदेखि ढोका खुला गरेर भक्तजनहरूलाई पूजा, आराधना गर्ने वातावरण तयार पारिएको मन्दिर व्यवस्थापनले जनाएको छ।
मन्दिर परिसरमा रातो र हरियो पहिरनमा व्रतालु महिला भक्तजनको सङ्ख्या बढी देखिएको छ। विभिन्न जलाशयबाट ल्याइएको शुद्ध जल पशुपतिनाथ मन्दिरमा अर्पण गर्ने भक्तजनहरूको पनि बाक्लो उपस्थिति छ।
साउन महिना र सोमबार भगवान् शिवको महिना तथा बार मानिने भएकोले यस्तो अवधिमा शुद्ध जल चढाएमा भगवान आशुतोष प्रसन्न भई मनोकामना पूरा गरिदिने धार्मिक विश्वास छ।