विपदबाट कोसी प्रदेशमा बर्सेनि जनधनको ठूलो क्षति
विराटनगर : कोसी प्रदेशमा विपदबाट बर्सेनि जनधनको ठूलो क्षति भइरहेको छ। क्षति न्यूनीकरणका लागि दीर्घकालीन उपायको अवलम्बन गर्न सकिएको छैन।
बाढी पहिरो, चट्याङ, आगलागी, जंगली जनावर, हावाहुरीजस्ता विपदबाट गत आर्थिक वर्ष २०७९/०८० मा ५७ जनाको मृत्यु भएको छ। विपद्जन्य घटनाबाट साढे छ अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको कोसी प्रदेशका प्रहरी प्रमुख डीआईजी राजेशनाथ बास्तोलाले बताए।
उनका अनुसार नेपाल तथा सशस्त्र प्रहरी र नेपाली सेनासमेतका सुरक्षा निकायको संयुक्त टोली विपद्का बेला खोज तथा उद्धारमा खटिने गरेको छ। विपदबाट अघिल्लो आर्थिक वर्ष २०७८/०७९ मा ३४ जनाको मृत्यु भएको थियो। त्यो संख्या बढेर २०७९/०८० मा ५७ पुगेको हो। अर्थात अघिल्लोभन्दा गत आर्थिक वर्षमा २३ जना बढीको मृत्यु भएको छ। २०७७/०७८ मा एक सय सात जनाको मृत्यु भएको थियो।
डीआईजी बास्तोलाका अनुसार गत वर्ष बाढी पहिरोमा परेर २३, आगलागीबाट १५, चट्याङबाट नौ र जंगली जनावरको आक्रमणबाट १० जनाको मृत्यु भएको छ। आव २०७८/०७९ मा बाढी पहिरोबाट पाँच, आगलागीबाट १५, चट्याङबाट छ र जंगली जनावरबाट आठ जनाको तथा आर्थिक वर्ष २०७७/०७८ मा बाढी पहिरोबाट ५५, आगलागीबाट २२, चट्याङबाट १५, जंगली जनावरबाट १४ र हावाहुरीबाट एक जनाको मृत्यु भएको थियो।
विपद्का कारण २०७९/०८० मा छ अर्ब ६६ करोड ६० लाख ६१ हजार चार सय ७४ रुपैयाँ बराबरको क्षति भएको डीआईजी बास्तोलाले बताए। उनका अनुसार बाढी पहिरोबाट ५ अर्ब ३४ करोड ७१ लाख २५ हजार चार सय, चट्याङबाट ९८ लाख ७४ हजार, आगलागीबाट एक अर्ब १३ करोड ८१ लाख ८८ हजार सात सय ७४, जंगली जनावरबाट ९१ लाख तीन हजार तीन सय र हावाहुरीबाट १६ करोड १७ लाख ७० हजार रुपैयाँको क्षति भएको छ। विपदबाट २०७८/०७९ मा दुई अर्ब ६२ करोड १८ लाख ६२ हजार दुई सय ६६ र २०७७/०७८ मा पाँच अर्ब ५३ करोड १६ लाख ८२ हजार ४९ रुपैयाँको क्षति भएको थियो।
आव २०७९/०८० मा विपदबाट तीन हजार सात सय ११ परिवार प्रभावित बनेको बास्तोलाको भनाइ छ। उनका अनुसार बाढी पहिरोबाट तीन हजार ३८, चट्याङबाट १९, आगलागीबाट पाँच सय १६, जंगली जनावरबाट एक सय पाँच र हावाहुरीबाट ३३ परिवार पीडित बनेका हुन्। विपद्का कारण २०७८/०७९ मा ३४ हजार चार सय ७२ र २०७७/०७८ मा दुई हजार ५२ परिवार प्रभावित बनेका थिए।
कोसी प्रदेशमा गत वर्ष तीन सय ६० स्थानमा पहिरो गएको छ। २०७८/०७९ मा दुई हजार दुई सय ८९ र २०७७/०७८ मा दुई सय ९१ स्थानमा पहिरो गएको थियो। डीआईजी बास्तोलाका अनुसार २०७९/०८० मा ७३, २०७८/०७९ तथा २०७७/०७८ मा ६४/६४ स्थानमा चट्याङले क्षति गरेको छ।
प्रदेशमा आगलागीका घटना पनि बढ्दै गइरहेका छन्। गत वर्ष एक हजार एक सय ५४ स्थानमा आगलागी भयो। २०७८/०७९ मा सात सय ३८ र २०७७/०७८ सात सय ७३ स्थानमा आगलागी भएको थियो। जंगली जनावरले गत वर्ष एक सय ५०, अघिल्लो वर्ष एक सय नौ र २०७७/०७८ मा एक सय ११ स्थानमा क्षति पुर्याएको रेकर्ड प्रहरीसँग छ।
हावाहुरीले २०७९/०८० मा ४२ स्थानमा क्षति पुर्याएको छ। २०७८/०७९ मा ३८ र २०७७/०७८ मा एक सय ४८ स्थानमा क्षति गरेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।
आव २०७९/०८० को असारमा बाढी पहिरोले कोसी प्रदेशमा ठूलो क्षति गरेको छ। प्रदेशभरि १८ जनाको मृत्यु भएको छ। २८ जना बेपत्ता छन्। लामो समय भइसकेका कारण बेपत्ता बनेकाहरु जीवितै भेटिने सम्भावना नरहेको प्रहरीले जनाएको छ। बाढी पहिरोमा परेर १० जना घाइते भएका छन्।
सबैभन्दा धेरै मानवीय तथा भौतिक क्षति संखुवासभामा भएको छ। असार २ गतेको बाढी पहिरोमा परेर संखुवासभामा चार जनाको मृत्यु भएको छ भने १९ जना अझैसम्म बेपत्ता छन्।
त्यस्तै, ओखलढुंगामा चार, पाँचथर र ताप्लेजुङमा तीन/तीन, झापा, मोरङ, भोजपुर र तेह्रथुममा एक/एक जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ। बाढी पहिरोमा पाँचथर, ताप्लेजुङ र धनकुटामा तीन/तीन जना बेपत्ता भएका छन्।
गत असारको बाढी पहिरोले तीन सय १२ वटा चौपाया मरेका छन्। ८० वटा घरमा पूर्ण र ५८ वटा घरमा आंशिक क्षति पुगेको छ। एक सय ९४ वटा घर डुबानमा परेका छन्। बाढी पहिरोले पाँच सय दुई परिवारका दुई हजार तीन सय ६८ जना विस्थापित भएका थिए।
प्रदेशभरि पक्की र झोलुंगे गरेर ३८ वटा पुल तथा २७ वटा हाइड्रो पावरमा क्षति पुगेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार सबैभन्दा धेरै क्षति हाइड्रोमा पुगेको हो। पाँचथर एउटा र संखुवासभामा दुईवटा सडक लामो समयदेखि अवरुद्ध छन्।
संखुवासभाको पाँचखपन र चैनपुर नगरपालिकाको सिमानामा रहेको हेंवा खोलामा आएको बाढीले दुईवटा हाइड्रोमा क्षति गरेको थियो भने खोलामाथिको एउटा पक्की पुल बगाएको थियो। चैनपुर र नुनढाकी जोड्ने पिलुवा खोलामाथिको पक्की पुल पनि बाढीले बगायो। पाँचथरको फिदिममा पनि हेंवा खोलाले पुल बगाएको थियो।
विराटनगरस्थित डिग्री क्याम्पसका इकोलोजी, वातावरण र विज्ञान विषयका उप–प्राध्यापक रामचन्द्र अधिकारी पहाडमा विकास निर्माणका नाममा जथाभावी डोजर चलाउँदा विपद्जन्य घटना बढेको बताउँछन्। ‘विकास निर्माणका नाममा भुइँमा कम्पन गराएर र भुइँ थर्काएर डोजर प्रयोग गर्दै घरघरमा सडक पुर्याइएको छ। त्यसले पहिरो निम्त्याएको हो,’ उनले भने, ‘पहिरो झरेर खोला थुनेपछि बाढी आउँछ। पहाडमा गएका ठूलठूला पहिरोको असर तराईसम्म परिरहेको छ।’
बाढी पहिरो नै अहिले नेपालको मूल समस्या रहेको उनले बताए। वातावरण विज्ञ अधिकारीका अनुसार जलवायु परिवर्तनको असरले एकै दिनमा अधिक वर्षा हुने र लामो समयसम्म वर्षा नै नहुने समस्या निम्तिएको छ। ‘अधिक वर्षा हुँदा बाढी पहिरो आउने नै भयो। अर्कोतर्फ पृथ्वीको तापक्रम बढ्दै जाँदा हिमताल फुट्ने क्रम चलिरहेको छ,’ उनले भने, ‘हिमताल फुट्दा बाढी आएर क्षति पुगेको छ। ठूला नदीमा अचानक बाढी आउने प्रमुख कारण हिमताल फुट्नु नै हो।’
विकासका नाममा भइरहेका अव्यवस्थित र अवैज्ञानिक गतिविधि नरोकिए बाढी पहिरोको समस्या झन् भयावह बनेर जाने अधिकारी बताउँछन्। ‘अवैज्ञानिक तवरबाट विकास निर्माण गर्दा भविष्यमा पर्नसक्ने असरको अध्ययन र अनुसन्धान नै छैन। पछिल्लो समय पहाडी क्षेत्रमा हाइड्रोमा सबैभन्दा धेरै क्षति हुनुको कारण यही हो,’ उनले भने, ‘मानवीय गतिविधिका कारण बाढी पहिरो निम्तिएर ठूलो क्षति पुगिरहेको छ। दीगो र वैज्ञानिक विकास निर्माणलाई आत्मसात गर्न नसकिए अवस्था थप जटिल बन्छ।’
विकसित मुलुकमा वातावरण संरक्षण र भौतिक संरचनामाथिको क्षति कम गर्न सुरुङमार्गलाई जोड दिने गरिएको अधिकारीको भनाइ छ। नेपालमा पनि सुरुङमार्फत सडक निर्माण गरिनुपर्नेमा उनको जोड छ। विपदबाट भइरहेको मानवीय क्षति न्यूनीकरणका लागि पूर्वसूचना प्रणालीलाई व्यवस्थित हिसाबले विकास गर्न आवश्यक देखिएको अधिकारीको भनाइ छ।
जलवायु परिवर्तन चैं तत्कालनका लागि मानवको कावुभन्दा बाहिरको विषय भएको उनले बताए। जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि वायु प्रदूषण र ओजन तहको विनाश रोक्नुपर्ने तथा बसोबासलाई व्यवस्थित बनाएर लैजानुपर्ने अधिकारीको भनाइ छ।
वातावरण सन्तुलन कायम राख्न र जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न अनुकूलनका कार्यक्रमहरु लागू गर्दै सम्बन्धित नीतिको पालना गर्नुपर्ने उनले बताए।
अधिकारीले मानव र जंगली जनावरबीचको द्वन्द्व नियन्त्रण गर्न दीगो योजना आवश्यक देखिएको उल्लेख गरे। ‘हात्ती हिँड्ने बाटोमा मानव बस्ती बनेको छ। मानवीय अतिक्रमण बढ्दा हात्तीको बाटोमा अवरोध पुग्यो,’ उनले भने, ‘त्यही भएकाले हात्तीले बस्तीमा पसेर क्षति पुर्याउँछ। मान्छेलाई आक्रमण गर्छ।’ पछिल्लो समय पहाडदेखि मधेससम्म नै बाँदरको समस्या बढिरहेको उनले बताए।
वन्यजन्तुको क्षति न्यूनीकरण गर्न राष्ट्रिय नीति ल्याएर सचेतनाका कार्यक्रम प्रभावकारी ढंगले चलाउनुपर्ने अधिकारीको भनाइ छ। ‘चट्याङबाट बच्न घरमा आर्थिङको व्यवस्थापन गर्नुपर्छ,’ उनले भने, ‘चट्याङको सिजनमा खेतबारीमा काम गर्दा सुरक्षाका उपाय अवलम्बन गर्नुको विकल्प छैन।’
आगलागी, चट्याङ आदिबाट बच्न सचेतना नै महत्वपूर्ण उपाय रहेको अधिकारीको भनाइ छ।