स्कार्पियोमा गाँजा तस्करी गर्ने चार भारतीयसहित ७ जना पक्राउ
वीरगन्ज : स्कार्पियो गाडीमा लागूऔषध गाँजा ओसारपसार गर्ने ७ जनालाई प्रहरीले ठूलो परिमाणमा गाँजासहित पक्राउ गरेको छ।
बाराको जितपुरसिमरा उपमहानगरपालिका-११ अमलेखगञ्जबाट प्रहरीले १५७ केजी गाँजासहित चार भारतीय र तीन नेपालीलाई पक्राउ गरेको हो।
बाराका प्रहरी उपरीक्षक होविन्द्र बोगटीका अनुसार गोप्य सूचनाका आधारमा आइतबार साँझ इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरी टोलीले अमलेखगञ्मा पुगेर बा ११ च ४९९२ नम्बरको स्कार्पियोमा ६ वटा पोकामा रहेको १५७ केजी गाँजासहित मकवानपुरको हेटौडा उपमहानगरपालिका वडा नम्बर १ घर भएका ३९ वर्षीय रोशन नेगीलाई पक्राउ गरेको थियो।
गाँजा लोड गरेको स्कोर्पियोसहित पक्राउ परेका चालक रोशन नेगीकै बयानका आधारमा अन्य ६ जनालाई पनि पक्राउ गरिएको प्रहरी उपरीक्षक बोगटीले बताए।
पक्राउ पर्नेहरुमा स्कार्पियोका चालक गिरीसंगै मकवानपुरको भिमफेदी गाउँपालिका-९ का ३० वर्षीय मुकेश लामा, बाराको जितपुरसिमरा उपमहानगरपालिका-२२ का ३३ वर्षीय बुद्ध पाख्रिन, भारतको बहराईच जिल्लाका २६ वर्षीय अलि अहमद, मोतिहारीका २३ वर्षीय जमालुदिन खान, १८ बर्षिय देव कुमार र ३५ वर्षीय जागिरदिन मियाँ रहेको प्रहरी उपरीक्षक बोगटीले बताए।
गाँजासहित पक्राउ परेकाहरुको साथबाट बा ११ च ४९९२ नम्बरको स्कार्पियोसंगै बीआर ०५ जी ८६५६ नम्बरको भारतीय पिकअप गाडी र बिआर ०५ जेड ८९६१ भारतीय नम्बर प्लेटको पल्सर मोटरसाईकलपनि बरामद गरिएको बोगटीले जानकारी दिए।
गाँजासहित पक्राउ परेकाहरुलाई प्रहरी हिरासतमा राखेर अनुसन्धान प्रकृया अगाडि बढाइएको बोगटीले बताए।