रेलभित्र बेवारिसे अवस्थामा भेटिए नेपाली बालक : कैलाली घर बताउँछन्, ट्रेनले छाड्यो भन्छन्

रेलभित्र बेवारिसे अवस्थामा भेटिए नेपाली बालक : कैलाली घर बताउँछन्, ट्रेनले छाड्यो भन्छन्
सुन्नुहोस्

विराटनगर : भारतको जोगवनी आउँदै गरेको रेल (ट्रेन)भित्र एक जना नेपाली बालक बेवारिसे अवस्थामा भेटिएका छन्। 

कैलालीको गोदावरी नगरपालिका–२ मालिका टोल घर बताउने १३ वर्षीय विशाल विक रेलभित्र अलपत्र अवस्थामा भेटिएका हुन्। उनलाई विराटनगर ल्याइएको छ। मोरङको ग्रामथान गाउँपालिका–५ का काजी विकले ती बालकलाई सोमबार बिहान विराटनगर ल्याएर रानीस्थित आफन्त नेपाल नामक संस्थाको जिम्मा लगाएका हुन्। 

भारतको पञ्जावबाट जोगवनी आउँदै गर्दा नेपाली बालकलाई रेलभित्र बेवारिसे अवस्थामा देखेपछि आफूले ल्याएर संस्थाको जिम्मा लगाएको काजीले बताए। 

‘म पारिवारिक कामले पञ्जाव गएको थिएँ। फर्किएर आउने क्रममा नेपाली बालकले आफू अलपत्र परेको पीडा रेलभित्र अरूलाई सुनाइरहेका थिए,’ काजी भन्छन्, ‘रेलमा रहेका भारतीयहरुले आसाममा धेरै नेपालीहरु बस्ने भएकाले त्यहाँ लगेर छाडिदिन्छौं भन्दै थिए। तर, बालक अलमलमा परेर डराएजस्तो देखिन्थे।’ 

भारतीयको आसाम लगिदिने कुरा विश्वास नलागेको र नेपाली भएको थाहा पाएपछि माया लागेर बालकलाई आफूले नेपाल ल्याइदिएको उनको भनाइ छ। रेलमा यात्रा गर्ने क्रममा अलीगढ आएपछि आफूले बालकलाई भेटेको काजीको भनाइ छ। ‘दोहोरो कुराकानीका क्रममा बालकले बुवा–आमासँग केही दिनअघि पञ्जाव घुम्न गएको बताए। सँगै घर फर्किदै गर्दा पानी लिन ओर्लिएका बेला ट्रेनले छाड्यो भनेका छन्,’ उनी भन्छन्, ‘बालकको अवस्था देख्दा धेरै माया लाग्यो। अलपत्र छाड्न हुँदैनभन्ने लागेर सहयोग गरेको हुँ।’ 

काजीका अनुसार आफू चढेको रेलले छाडेपछि भारतीय प्रहरीले जोगवनीसम्म आउने अर्को रेल चढाइदिएको बालकले बताउने गरेका छन्। बालकले पनि आफ्नो घर कैलालीको गोदावरी–२ मालिका टोल भएको बताए। बुवा, आमा, दिदी र भाइसँग केही दिनअघि पञ्जाव घुम्न गएको उनले बताएका छन्। ‘पञ्जावमा चार दिनसम्म बसेर सबै जना ट्रेनमा घरतिर फर्किदै थियौं। बीचमा रोकिएका बेला म खानका लागि पानी लिन ओर्लिएको थिएँ,’ बालकले भने, ‘त्यतिबेलै ट्रेन हिँड्यो। मलाई त्यहीँ छाड्यो।’ कुन ठाउँमा आफूलाई रेलले छाडेको हो भन्ने थाहा नपाएको उनले बताए। 

उनले आफू अप्ठेरोमा परेको र नेपाल जाने भनेपछि भारतीय प्रहरीले जोगवनीसम्म आउने अर्को रेल चढाइदिएको बताएका छन्। बालकले आफ्ना बुवाको नाम अर्जुन विक र आमाको नाम सुन्तली विक भनेका छन्। अहिले बालकलाई आफन्त नेपालमै राखिएको छ। 

आफन्त नेपालको विराटनगर शाखा प्रमुख माधुरी लिम्बू प्रहरीसँग समन्वय गरेर बालकका अभिभावक पत्ता लगाउने प्रयास भइरहेको बताउँछिन्। ‘बालकलाई अहिले हामीसँगै राखेका छौं। अलि डराएको र आत्तिएजस्तो देखिन्छ,’ उनले भनिन्, ‘हामीले ‘काउन्सिलिङ’ पनि गरिरहेका छौं। अभिभावक पत्ता लगाएर जिम्मा लगाइने छ।’ लिम्बूका अनुसार बालकले परिवारमा बुवा, आमा, एक जना दिदी र भाइ रहेको बताएका छन्। 

इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक प्रकाश रेग्मीले अभिभावक पत्ता लगाउन बालकले बताएको ठेगानाका जनप्रतिनिधि र प्रहरीसँग समन्वय भइरहेको बताए। ‘अहिले बालकलाई आफन्त नेपालको संरक्षणमा राखिएको छ। अभिभावकको पहिचान नभएकाले सम्बन्धित ठाउँका जनप्रतिनिधि र प्रहरीसँग सहयोग मागेका छौं,’ रेग्मीले भने, ‘अभिभावक सम्पर्कमा आउनेवित्तिकै जिम्मा लगाइने छ। रेलले छाडेकै कारण बालक आफ्ना अभिभावकबाट छुटेजस्तो देखिन्छ।’

अलपत्र अवस्थामा देखेपछि रेलभित्रै यात्रा गरिरहेका एक जनाले विराटनगरसम्म आउन बालकलाई सहयोग गरेको देखिएको रेग्मीको भनाइ छ। कैलालीको गोदावरी नगरपालिका–२ का वडा सदस्य डबलबहादुर साउदले दिनभर खोजी गर्दा पनि बालकका अभिभावकलाई फेला पार्न नसकिएको बताए। ‘वडा नम्बर २ मा मालिका टोलभन्ने ठाउँ छजस्तो लाग्दैन। वडा नम्बर ३ मा चैं यो टोल छ,’ उनले भने, ‘सबैतिर खोजी गर्दा पनि अभिभावक पत्ता लागेका छैनन्। बालकले दिएको ‘लोकेसन’लाई आधार मानेर विभिन्न ठाउँमा खोजी गरिरहेका छौं।’ 

आफन्त नेपालले वडा सदस्य साउदसँग बालकको फोन सम्पर्क गराएको थियो। साउदले आफू दिनभर बालकको घर र अभिभावकको खोजीमा व्यस्त भएपनि केही पत्ता लगाउन नसकेको बताए। भने, ‘घर र अभिभावकको खोजी जारी छ। सबैसँग समन्वय गरेर पत्ता लगाउने प्रयास गरिरहेका छौं।’
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.