सिन्धुलीमा विपी, मदन भण्डारी र पुष्पलाल राजमार्ग अवरुद्ध
सिन्धुली : लगातारको वर्षात पछि आको पहिरोका कारण तीन ठूला राजमार्ग अवरुद्ध भएका छन्। बाढी, पहिरो र खहरेका कारण बनेपा-सिन्धुली-बर्दिवास (विपी) राजमार्ग, हेटौंडा-सिन्धुली-गाईघाट-चतरा (मदन भण्डारी) राजमार्ग र मध्यपहाडी (पुष्पलाल) लोकमार्गको खुर्कोट-घुर्मी सडकखण्ड अवरुद्ध भएका हुन्।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख राजकुमार सिलवालका अनुसार विपी राजमार्गको बर्दिवासदेखि नेपालथोकसम्म चार ठाउँ बढी स्थानमा पहिरो र लेदो खसेर अवरुद्ध छ। दुम्जा, भिमान र माईस्थानमा पहिरो खसेका छन्। बि.पि.राजमार्गमा सडकमाथिबाट ढुङ्गा माटो सहितको लेदो आएपछि सवारीसाधन होल्ड भएर बसेको प्रहरीको भनाई छ।
मध्यपहाडी लोकमार्गअन्तरगत खुर्कोट-घुर्मी खण्ड अन्तर्गत हैबार, अक्करे र सोखुखोलामा अवरुद्ध छ। मदन भण्डारी राजमार्ग अन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका २ कुसुमटारदेखि मरिण र हरिहरपुर गाउँपालिकास्थित बागमती नदी किनारासम्म दर्जन बढी स्थानमा पहिरो खसेको छ।
राजमार्गको चुरे क्षेत्रमा धेरै पहिरो खसेको र अधिकांश खहरेबाट बाढी आएको प्रहरी प्रमुख सिलवालले जानकारी दिए। अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको बताइएको छ। सडक अबरुद्ध हुँदा सयौं सवारी साधन र यात्रुहरू बीचबाटोमै अलपत्र परेका छन्।
सदरमुकामबाट तिनपाटन, घ्याङलेख, चपौली-मझुवा, खनियाखर्क-तिनकन्या सडकहरू समेत अबरुद्ध भएका छन्।