अस्पतालमा बिरामीको चाप, केही विद्यालय बन्द

प्रकोप बन्दै आँखा पाक्ने रोग

प्रकोप बन्दै आँखा पाक्ने रोग
धनगढी आँखा उपचार केन्द्रमा आँखा पाकेर उपचारका लागि बिरामीहरू । तस्बिर : शिवराज भट्ट

केही दिनयता देशका अधिकांश जिल्लामा आँखा पाक्ने रोग फैलिरहेको छ । चिकित्सकीय भाषामा यो रोगलाई ‘एडिनो भाइरस कन्जन्टिभाइटिस’ पनि भनिन्छ । प्रायः गर्मी मौसममा बढी फैलिने यो रोगबाट युवायुवती र बालबालिका बढी संक्रमित छन् । भाइरलको रूप रहेको यो रोग लागे जथाभावी औषधि किनेर प्रयोग नगर्न चिकित्सक सुझाव दिन्छन् ।

कसैको रातो आँखा देखिन्छ। कतिपयको आँखा एकदमै चिलाएर सुन्निएको छ। कोही सुतेर उठ्दा आँखामा कचेरा (चिप्रा) परेको बताउँछन्। कोही बिझाएको र दुखेको भन्दै अस्पताल पुगेका छन्। अहिले देशका अधिकांश जिल्लाका अस्पतालमा यस्तै दृश्य देखिन्छन्। आँखा रोग विशेषज्ञलाई यो समस्याको उपचार गर्न भ्याइनभ्याइ छ। आँखा पाक्ने रोग मुलुकभर फैलिएको छ।

आँखा पाक्ने (भाइरल कन्जक्टिभाइटिस)को समस्या लिएर काठमाडौं उपत्यकालगायत मुुलुकभरका आँखा अस्पताल धाउने बिरामीको पछिल्लो समय दैनिक बढ्दैछ। जेठदेखि फैलन थालेको आँखा पाक्ने समस्या काठमाडौं उपत्यकामा भने असारको दोस्रो सातादेखि फैलिएको चिकित्सकहरू बताउँछन्।

गत असार १५ देखि साउन २० गतेसम्म तिलगंगा आँखा अस्पतालमा जँचाउन आएकामध्ये ६ सय ३० जनामा आँखा पाक्ने रोग (भाइरस कन्जक्टिभाइटिस) पुष्टि भएको छ। तिलगंगा आँखा प्रतिष्ठानकी वरिष्ठ जनसम्पर्क अधिकृत सुनिता (सोनु) केसीका अनुसार, आँखा पाक्ने समस्या लिएर आइतबार मात्र सयभन्दा बढी पीडित जँचाउन आएका छन्। 

पछिल्लो एक महिनाको अवधिमा आँखा पाक्ने समस्या लिएर ६ सय ३० जना पीडितले जँचाइसकेको तिलगंगा आँखा अस्पतालले जनाएको छ। जसमध्ये ३ सय ७१ पुरुष र र २ सय ५९ महिला छन्। संक्रमण बढेपछि तिलगंगा अस्पतालमा इन्मरजेन्सीमा छुट्टैे युनिट खडा गरिएको छ। त्यस्तै कीर्तिपुर आँखा अस्पतालको बहिरङ विभागमा २० देखि ३० प्रतिशत बिरामी आँखाको संक्रमणकै समस्या लिएर आउन थालेका छन्। 

युवायुवती बढी पीडित

उपत्यकामा आँखा पाक्ने समस्या जुनसुकै उमेरका व्यक्तिमा पनि पाइएको छ। तर, अधिकांश युवायुवती रहेको अस्पतालले जनाएका छन्। तिलगंगा आँखा अस्पतालमा पनि आँखाको संक्रमण लिएर आएकामध्ये अधिकांश युवायुवती नै छन्। वरिष्ठ जनसम्पर्क अधिकृत केसीका अनुसार, १९ वर्षमाथिका युवायुवतीमा आँखा पाक्ने समस्या बढी देखिएको छ। 

अस्पतालमा आएका पीडितमध्ये १९ देखि ६० वर्ष उमेर समूहका ४ सय ३६ जनामा आँखा पाक्ने समस्या पाइएको छ। जसमध्ये २ सय ५६ जना पुरुष र १ सय ८० जना महिला छन्। त्यस्तै १८ वर्षमुनिका १ सय ४४ जनाले जँचाएका छन्। तीमध्ये ९२ जना पुरुष र ५२ जना महिला छन्। त्यस्तै ६० वर्षमाथिका ५० जनामा आँखा पाक्ने समस्या लिएर जँचाउन आएका छन्। तीमध्ये ३ सय ७१ जना पुरुष र २ सय ५९ जना महिला छन्। तिलगंगा आँखा अस्पतालकी आँखा रोग विशेषज्ञ डा. अनु मानन्धरका अनुसार, यताउती घुमफिर बढी गर्ने सक्रिय जनशक्ति युवायुवती भएकाले बढी संक्रमित भएका हुन्। 

कोसीमा प्रदेश सरकार बेखबर 

कोसी प्रदेशमा आँखा पाक्ने रोग प्रकोपका रूपमा फैलिएर संक्रमण तीव्र भइरहँदा पनि प्रदेश सरकार बेखबरजस्तै देखिएको छ। सुरुमा बालबालिकामार्फत फैलिएको सरुवा रोगको संक्रमणबाट अहिले सबै उमेर समूह प्रभावित बनिरहेका छन्। 

चिकित्सकका अनुसार ‘एडिनो’ भाइरसका कारण निम्तिएको संक्रमण विद्यालय, आँखा अस्पताललगायत भीडभाड धेरै हुने सार्वजनिक स्थलबाट समुदायस्तरमै फैलिइरहेको छ। कतिपय स्थानका विद्यालयहरू बन्द गरिएको छ।  संक्रमण रोकथामका लागि प्रदेश सरकारले भने सामान्य जनचेतनामूलक कार्यक्रम पनि गरेको छैन। संक्रमण अनियन्त्रित रूपमा फैलिरहँदा पनि सरकार मौन छ। मानव शरीरको महत्वपूर्ण अंगमध्येको आँखा जोगाउन अपनाउनुपर्ने सावधानीलगायतका विषयमा जनचेतनामूलक कार्यक्रम गरिएको छैन। सतर्कता अपनाइएको छैन। 

प्रदेशको स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी डा. रवीन्द्र अधिकारी आँखा पाक्ने बिरामीको संख्या बढ्दै गएको बताउँछन्। तर, यसको रोकथाम र नियन्त्रणका लागि केही गर्न नसकिएको उनको भनाइ छ। प्रदेश सरकारसँग संक्रमितको विवरणसमेत छैन। तथ्यांक संकलन नहुँदा प्रदेशभित्र कति जनाको आँखा पाकिसक्यो र बिरामीको अवस्था कस्तो छ भन्नेसम्मको जानकारी सरकारसँग छैन। 

प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक ज्ञानबहादुर बस्नेत प्रकोपको ‘रिपोर्टिङ’ सबैतिर भइरहेको बताउँछन्। ‘जनघनत्व धेरै भएको र जमघट तथा भेटघाट बढी हुने स्थानबाट तीव्र गतिमा संक्रमण फैलिइरहेको छ,’ उनले भने, ‘सबैलाई सुरक्षित बनाउन प्रचार–प्रसार गर्दै सरसफाइमा ध्यान दिन आग्रह गरिएको छ।’ संक्रमण पहिलेभन्दा अलि नियन्त्रण हुँदै गएको बस्नेतले बताए। 

विराटनगर आँखा अस्पतालका वरिष्ठ नेत्र रोग विशेषज्ञ डा. प्रज्ञ लुइँटेलका अनुसार आँखाको संक्रमण एकबाट अर्कोमा चाँडो सर्छ। ‘संक्रमितसँगको सम्पर्क, एउटै कपडालगायतका वस्तुको प्रयोग आदिबाट चाँडो सर्छ,’ डा. लुइँटेलले भने, ‘यसबाट बच्न सावधानी र आँखाको सुरक्षामा ध्यान दिनु नै उत्तम हुन्छ।’ 

बिरामी थेग्नै गाह्रो 

हेटौंडा सामुदायिक आँखा अस्पताल स्थापना भएयता बिरामीको भीड लागेको छ। १६ वर्षको अवधिमा एकैदिन आइतबारमात्रै ६ सय ४५ जना आँखाका बिरामीले उपचार सेवा लिएका अस्पतालका कार्यक्रम संयोजक सुशीलकुमार सिंहले बताए। 

‘उपचार सेवा लिनेमध्ये ७० प्रतिशत बढी आँखामा संक्रमण भएर आएछन्’, उनले भने, ‘अस्पतालको क्षमताभन्दा अत्याधिक बढी बिरामी आउन थालेपछि नियमित सेवा लिने तथा सामान्य बिरामीहरूलाई अस्तालमा नआउन अनुरोध गरेका छौं।’ अस्पताल प्रशासनको तथ्यांकअनुसार गत शुक्रबार ५ सय ४५, बिहीबार ४ सय ५७, बुधबार ४ सय ५५, मंगलबार ४ सय ७, सोमबार ३ सय ४३ र आइतबार ४ सय २६ जना आँखाका बिरामीले उपचार सेवा लिएका थिए। अस्पतालमा अन्य समयमा तीनदेखि चार सय बिरामी सेवा लिन आउने गरेका छन्। अस्पतालमा मकवानपुर र बारा जिल्लाबाट धेरै आँखाका बिरामी आउने गरेका छन्। सहरसँगै गाउँघरमा पनि आँखाका बिरामी बढेका छन्। 

बागमती प्रदेशभरि नै आँखाका संक्रमितहरू बढेको स्वास्थ्य निर्देशनालय बागमती प्रदेशका प्रवक्ता सतिश विष्टले बताए। ‘हामीसँग एकिन तथ्यांक त प्राप्त भइसकेको छैन, तर प्रत्येक जिल्लामा आँखाका संक्रमित बढेका छन्’, उनले भने, ‘सचेतना अभिवृद्धि र उपचार सेवा बढाउनेतर्फ हामीले जिल्लास्थित अस्पतालहरूमार्फत काम गरिरहेका छौं।’ 

चितवनका विद्यालय बन्द

आँखा पाक्ने रोगको संक्रमण फैलिएपछि चितवनका दुई पालिकाले विद्यालय बन्द गरेका छन्। भरतपुर महानगरपालिका र रत्ननगर नगरपालिकाले शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेका हुन्। चितवनमा आँखा पाक्ने रोग एडिनो भाइरस फैलन थालेपछि दुवै पालिकाले आइतबार सूचना जारी गर्दै शिक्षण संस्था बन्द गर्ने निर्णय गरिएको जनाए। 

भरतपुर महानगरपालिकाले सोमबारबाट शुक्रबारसम्म पठनपाठन बन्द गर्न निर्देशन दिएको छ। रत्ननगरले तीन दिन बन्द गर्ने निर्णय गरेको छ। निजी तथा सामुदायिक विद्यालय भरतपुरमा आँखा पाक्ने रोग देखिन थालेपछि बालबालिकामा संक्रमण फैलिने खतराका कारण विद्यालय बन्द 
गर्न लागिएको हो। 

विशेषज्ञको परामर्शअनुसार महानगरभित्रका विद्यालय र मन्टेश्वरी बन्द गर्ने निर्णय भएको महानगरका शैक्षिक महाशाखा प्रमुख महेन्द्रप्रसाद पौड्यालले बताए। वर्षे बिदाबाट कटौती हुने गरी पाँच दिन शैक्षिक गतिविधि नगर्ने निर्णय भएको हो। स्वास्थ्य सुरक्षालाई ख्याल गरेर भरतपुर महानगरले विद्यालयमा बिदा दिन निर्देशन दिएको रत्ननगर नगरपालिकाका प्रमुख प्रल्हाद सापकोटाले बताए। 

शिक्षक तथा विद्यार्थीमा आँखा पाक्ने रोगको प्रकोप बढ्दै गएपछि सिन्धुलीको कमलामाई नगरपालिका भित्र सञ्चालन हुने विद्यालयहरू बन्द हुने भएका छन्। आँखा पाक्ने रोगको संक्रमण बढ्दै गएपछि त्यसलाई न्यूनीकरण गर्न सोमबारदेखि शुक्रबारसम्म पाँच दिनका लागि विद्यालयहरू बन्द गर्ने निर्णय गरिएको हो।

null

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सूर्यप्रसाद दाहालका अनुसार विद्यार्थीमा आँखा पाक्ने रोगको प्रकोप बढ्दै गएकाले सम्भावित जोखिम न्यूनीकरण गर्न पाँच दिनका लागि नगर मातहतका सामुदायिक र संस्थागत विद्यालय बन्द गर्ने निर्णय गरिएको हो। कमलामाई नगरपालिकाअन्तर्गत ८४ वटा सामुदायिक र २४ वटा संस्थागत विद्यालय छन्। पछिल्लो केही दिनयता सिन्धुलीमा सबैभन्दा बढी बालबालिकामा आँखा पाक्ने संक्रमण देखिएको छ। जिल्लाका आँखा अस्पताल तथा क्लिनिकहरूमा बिरामीको भीड बढेको छ। आँखा पाक्ने रोग धेरै फैलिएकाले बिरामीको संख्या बढेको अस्पतालले जनाएको छ। 

गण्डकीमा फैलँदै संक्रमण 

गण्डकी प्रदेशमा आँखा पाक्ने रोगको संक्रमण फैलन थालेको छ। हिमालयन आँखा अस्पताल पोखरामा आँखा पाक्ने रोगको संक्रमण भएका बिरामी आउने क्रम दैनिक रूपमा बढ्दै गएको अस्पतालले जनाएको छ। 

आँखा पाक्ने रोगको संक्रमण बढेपछि उपचारका लागि आउने बिरामीको चाप बढ्दै गएको हिमालयन आँखा अस्पतालका डा. नवीन बरालले बताए। संक्रमितले चलाएको वस्तु छुँदा सर्ने हुनाले ख्याल गर्नुपर्ने उनले सुझाए। अस्पतालकी लेखा अधिकृत पार्वती गुरुङका अनुसार सामान्य अवस्थामा ५ देखि ६ सयको हाराहारीमा बिरामी आउनेमा आँखा पाक्ने रोगको संक्रमण देखा परेपछि अस्पतालमा आउने बिरामीको संख्या दोब्बरले बढेको छ।
आँखा पाक्ने रोगको संक्रमण बढेकै कारण आइतबार १३ सय जना बिरामी अस्पतालमा उपचार गराउन आएका उनले सुनाइन्। हिमालयन आँखा अस्पतालमा गण्डकी प्रदेशका सबैजसो जिल्लाबाट आँखाको उपचार गराउन बिरामी आउने पनि उनले बताइन्। 

गण्डकी प्रदेश सरकार सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका अधिकारीले प्रदेशमा आँखा पाक्ने रोगको संक्रमण देखा परे पनि अस्वाभाविक रूपमा ठूलो संख्यामा भने फैलिन नसकेको बताए। मन्त्रालयका अधिकारी डा. रमेश केसीले आँखा पाक्ने रोगको उपचार गर्ने बिरामीको संख्या हिमालयन आँखा अस्पतालमा बढेको जानकारी आएको बताए। 

पोखरा महानगरपालिकामा आँखा पाक्ने रोगको संक्रमण देखा परे पनि अहिलेसम्म त्यस्तो अस्वाभाविक रूपमा नबढेको बताइएको छ। आँखा पाक्ने रोगको संक्रमण नियन्त्रण गर्न अन्य प्रदेशका सहरमा जस्तो पोखरामा विद्यालय नै बन्द गर्नुपर्ने अवस्था नरहेको पोखरा महानगरपालिकाका सूचना अधिकारी किरणप्रसाद कोइरालाले बताए। 

बिरामीको भीड बढ्दै 

आँखामा संक्रमण फैलिएपछि लुम्बिनी प्रदेशका अस्पतालहरूमा बिरामीको भीड बढेको छ। चिकित्सकहरूले धेरै नआत्तिन आग्रह गरेका छन्। आँखा पाक्ने समस्याले बालबालिकादेखि वृद्धासम्मलाई गाँजेको छ। लुम्बिनी प्रदेशको ठूलो रणअम्बिका आँखा अस्पताल भैरहवामा बिरामीको उच्च चाप छ। बुटवलको लायन्स उपचार केन्द्रमा दैनिक सयभन्दा बढी बिरामी आँखा पाक्ने समस्या लिएर आउने गरेका छन्।

वरिष्ठ नेत्ररोग विशेषज्ञ डा.नन्दा गुरुङले भाइरलको समस्या बढ्दो क्रममा देखिएको बताइन्। उनी कार्यरत नेपालगञ्ज मेडिकल कलेजमा दैनिक एक सय जनाभन्दा धेरै आँखा पाक्ने समस्या लिएर उपचारमा आउने गरेका छन्। नेपालगञ्जमा दुई दिन विद्यालय बन्द गरिएको थियो। रूपन्देहीका विद्यालयहरूले आँखामा संक्रमण देखिए विद्यार्थीलाई विद्यालय नपठाउन अभिभावकलाई आग्रह गरेका छन्। अहिले सबैभन्दा संक्रमण विद्यालयबाट फैलिरहेको देखिएको छ।

कर्णालीमा पनि उस्तै प्रकोप 

कालीकोटको सान्नीत्रिवेणी गाउँपालिका–१ लुसाकी बिनिता अधिकारीको गत आइतबार आँखामा आँसु बग्यो। आँखाको किनारमा फोहोर देखियो। आँखाबाट आँसु बगिरहने र कचेर देखिरहने समस्या भएको केही घण्टामै आँखाको दुखाइ बढ्यो। दुखाइ बढ्दै गएपछि उनी आँखा जाँच गराउन अस्पताल पुगिन्। आँखा अस्पतालमा उपचार गराएर फर्किएपछि पनि उनी झन्डै पाँच दिनसम्म क्याम्पस जान सकिनन्। घरमै बसेर औषधि हालेर एक सातापछि यो निको भयो। 

सुर्खेतको तातोपानी निवासी अनिस बिष्टको आँखा पाकेर तीन दिनदेखि विद्यालय जान सकेका छैनन्। गत बिहीबारदेखि पाकेको आँखा उपचार गर्दा पनि पूर्णरूपमा निको भएको छैन। उनी घरमै आराम गरिरहेका छन्। कर्णाली प्रदेशमा आँखा पाक्ने समस्याको महामारी नै फैलिएको छ। कर्णाली प्रदेशका अधिकांश जिल्लाहरूमा पछिल्लो समय आँखा पाक्ने समस्या देखिएको कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालय सुर्खेतका प्रमुख डा.रविन 
खड्काले बताए। 

कर्णालीका दैलेख, कालीकोट, सल्यान, जाजरकोट, रुकुमलगायतका अन्य जिल्लाहरूमा पनि आँखा पाक्ने समस्या बढ्दै गएको छ। स्वास्थ्य सेवा कार्यालय कालीकोटका प्रमुख डा.संकेत विश्वकर्माले भने, ‘कालीकोटमा जिल्ला अस्पतालमा दिनहुँ ४÷५ जना आँखा पाकेका बिरामीहरू आउन थालेका छन्। जिल्ला अस्पतालबाहेक आँखा अस्पताललगायत केही निजी क्लिनिकहरूमा पनि आँखा पाकेका बिरामीहरू आउन थालेका छन्।’ प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कर्णाली प्रदेशका हुम्ला र डोल्पाबाहेक सबै जिल्लाहरूमा आँखा पाक्ने समस्या देखिइसकेको छ। 

सुदूरपश्चिममा पनि छैन अछुतो

सुदूरपश्चिममा आँखा पाक्ने रोग महामारीका रूपमा फैलिएको छ। पहाडी जिल्लाभन्दा तराईका दुुई जिल्ला कैलाली र कञ्चनपुरमा अझ बढी फैलिएको छ। नेपाल नेत्र ज्योति संघ आँखा उपचार केन्द्र धनगढीमा दैनिकजसो २ सयभन्दा बढी बिरामी आँखाको उपचारमा आउने गरेका छन्। उपचार केन्द्रका प्रमुख रुद्रराज भट्टले साउन १ गतेदेखि आँखा पाक्ने रोगका बिरामी आउन थालेको बताए। 

साउन ७ गतेदेखि २१ गतेसम्म धनगढी आँखा उपचार केन्द्रमा ३२ सय ४७ जना आँखा पाक्ने रोगका बिरामी आएका छन्। उपचार केन्द्र प्रमुख भट्टले भने, ‘आँखा पाक्ने बिरामीमध्ये १० प्रतिशत अझ गम्भीर प्रकृतिका आइरहेका छन्। गाउँमा कागतीको रस हाल्ने, गाईको गहुँत हाल्ने गरेकाले पनि केहीको आँखाको नानीमा घाउ भएको छ’, उनले भने, ‘यसको प्रारम्भिक लक्षण भनेको आँखा गड्ने, सामान्य दुख्ने र रातो हुने हो। त्यसो भएमा अस्पताल आई हाल्नुपर्छ।’

सुदूरपश्चिमको सबैभन्दा ठूलो गेटा आँखा अस्पतालमा पनि साउन महिनाको १ गतेदेखि २१ गतेसम्म १ हजार १ सय ५५ जना आँखा पाक्ने रोगका बिरामी आएको अस्पतालका बाह्य सम्पर्क अधिकृत रमेशचन्द्र भट्टले बताए। 

यो रोग लाग्दैमा आतिनु पर्दैन। औषधि पसलमा गएर आँखाको एन्टिबायोटिक औषधि लगाएको पाइएको छ। भाइरल रोगमा एन्टिबायोटिक औषधि लगाउनु पर्दैन। जरुरी छैन।
डा. अनु मानन्धर , आँखा रोग विशेषज्ञ, तिलगंगा आँखा अस्पताल

कोसीमा प्रकोपको ‘रिपोर्टिङ’ सबैतिर भइरहेको छ। जनघनत्व धेरै भएको र जमघट तथा भेटघाट बढी हुने स्थानबाट तीव्र गतिमा संक्रमण फैलिइरहेको छ। सरसफाइमा ध्यान दिन आग्रह गरिरहेका छौं।
ज्ञानबहादुर बस्नेत, निर्देशक, प्रदेश स्वास्थ्य निर्देशनालय, कोसी

हामीसँग एकिन तथ्यांक त प्राप्त भइसकेको छैन। तर, बागमतीका प्रत्येक जिल्लामा आँखाका संक्रमित बढेका छन्। सचेतना अभिवृद्धि र उपचार सेवा बढाउनेतर्फ हामीले अस्पतालहरूमार्फत काम गरिरहेका छौं।
सतिश विष्ट, प्रवक्ता, प्रदेश स्वास्थ्य निर्देशनालय, बागमती

‘एन्टिबायोटिक औषधि नलगाउनू’

तपाईंलाई आँखा पाक्ने समस्या (भाइरल कन्जक्टिभाइटिस) छ ? त्यसो भए सजग हुनुहोस्। आँखा रोग विशेषज्ञको सुझाव छ, ‘यो रोग भएकाले आत्तिहाल्नु पर्दैन। एन्टिबायोटिक औषधिको प्रयोग नगर्नू।’ 

तिलगंगा आँखा अस्पतालकी आँखा रोग विशेषज्ञ डा. अनु मानन्धरका अनुसार, नजिकैको औषधि पसलमा गएर आँखामा एन्टिबायोटिक औषधि प्रयोग गर्ने क्रम बढेको छ। उनले भनिन्, ‘औषधि पसलमा गएर आँखाको एन्टिवायोटिक औषधि लगाएको पाइएको छ। भाइरल रोगमा एन्टिबायोटिक औषधि लगाउनु पर्दैन। जरुरी छैन।’ कतिपय संक्रमितले आँखा दुखाइको औषधि जथाभावी रूपमा लगाइरहेको उनले बताइन्। डा. मानन्धरले सम्बन्धित आँखा रोग विशेषज्ञसँग जँचाएर मात्रै औषधि लगाउन सुझाव दिइन्। आँखा एक प्रकारको भाइरल इन्फेक्सन हो। एडिनो भाइरसले संक्रमणपछि आँखा पाक्न थाल्छ। जँचाउन जानुअघि सफा चिसो पानीले आँखा सफा गर्नुपर्ने डा. मानन्धरले बताइन्। 

आँखा (नानी) रोग विशेषज्ञ डा. रचना सिंह राणाले आँखा पाक्ने रोग भाइरल भएकाले हावाहुरीबाट पनि संक्रमणको जोखिम रहेको बताइन्। ‘विद्यालय, सार्वजनिक स्थानमा रहने व्यक्तिलाई संक्रमणको बढी जोखिम छ। सजिलै एक व्यक्तिबाट अर्कोमा सर्न सक्छ,’ उनले भनिन्, ‘संक्रमण भइहाल्यो भने पनि आत्तिहाल्नु पर्दैन। दुई सातामा निको हुँदै जान्छ।’  

दिनेश गौतम/काठमाडौं, किशोर बुढाथोकी/विराटनगर, कृष्ण सारु मगर/हेटौंडा, अनिल ढकाल/चितवन, राजन गाउँले/सिन्धुली, कृष्णमणि बराल/पोखरा, लक्ष्मण पोखरेल/बुटवल, बिस्नप्रसाद न्यौपाने /वीरेन्द्रनगर, शिवराज भट्ट/धनगढी 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.