बाढी र पहिरोले पोल बगाउँदा सिन्धुलीमा विद्युत सेवा अवरुद्ध
सिन्धुली : बाढी र पहिरोले पोल बगाउँदा सिन्धुलीमा विद्युत सेवा अवरुद्ध भएको छ । सोमबार बेलुकादेखि परेको वर्षातका कारण आएको बाढी र पहिरोले तार र पोल बगाउँदा सिन्धुलीको माढीबजार,घ्याङलेख, मरिण, सुनकोसी, हरिहरपुरगढी, तिनपाटन र दुधौलीमा विद्युत सेवा अवरुद्ध भएको हो ।
नेपाल विद्युत प्राधिकरण सिन्धुली वितरण केन्द्रका सहायक इन्जिनियर लालबहादुर लामाका अनुसार मंगलबार बिहानैदेखि विद्युत अवरुद्ध भएको हो । जिल्लामा दुई दर्जन बढी पोल र तार बाढीले बगाएको छ ।
कमलामाई नगरपालिका ५ रानिखोलामा मेन लाइनसहित चारवटा पोल ढलेको छ । वडा नम्बर ६, वडा नम्बर ७ को हिलेभन्ज्याङमा पनि पोल ढल्दा विद्युत अवरुद्ध छ । तिनपाटन गाउँपालिकाको भिमस्थान र वडा नम्बर ८ मा पनि क्षति पुगेको लामाले बताए ।
कमलामाई नगरपालिका २ बुक्तीखट्टारमा पोल बगाउँदा सिंगो घ्याङलेख गाउँपालिकामा विद्युत सेवा अवरुद्ध भएको छ । मरिण गाउँपालिकामा ३३ केभीए लाइनको मेन पोलमा क्षति पुग्दा मरिण र हरिहरपुरगढी गाउँपालिकामा विद्युत सेवा मंगलबार बिहानैदेखि अवरुद्ध छ ।
दुधौली नगरपालिकाको झुँगा र अरूण ठाकुरमा पनि बिजुलीको पोलमा क्षति पुगेको छ। सुनकोशीको मझुवा, वालुवाङ र दुम्जामा तार र पोलमा पहिरोले क्षति पुर्याएको छ । अवरुद्ध विद्युत सेवा सञ्चालनका लागि मर्मतको कार्य भइरहेको बताइएको छ ।
घ्याङलेखमा विद्युत सुचारू गर्न अझै केही दिन लाग्ने बताइएको छ । वर्षा लगातार भइरहेकाले मर्मतको कार्यमा कठिनाइ भएको लामाले बताए ।