राष्ट्र बैंकले एक अर्ब १५ करोड लगानी गर्दै
काठमाडौं : नेपाल राष्ट्र बैंकले लाख रुपैयाँ बैंक तथा वित्तीय संस्थामा १ वर्षे मुद्दतीमा लगानी गर्ने भएको छ। राष्ट्र बैंकको उपदान तथा पेन्सन जस्ता विभिन्न कोषमा रहेको रकम लगानी गर्न लागेको हो।
केन्द्रीय बैंकले उक्त रकमलाई २०८० भदौ ३ देखि २०८१ भदौ ३ गतेसम्म (३६६ दिन) को मुद्दती निक्षेपमा लगानी गर्दैछ। यसैक्रममा केन्द्रीय बैंकले ९२ करोड रुपैयाँ बराबरको मुद्दती निक्षेप वाणिज्य बैंकमा राख्ने भएको छ।
यसैगरी, विकास बैंकमा करोड १७ करोड २५ लाख रुपैयाँ र वित्त कम्पनीहरूमा ५ करोड ७५ लाख रुपैयाँ बराबरको रकम लगानी गर्ने भएको छ।
राष्ट्र बैंकले तोकेको सीमाभित्र रही बैंकहरूले चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको ब्याजदर समेत खुलाई साउन २३ गते बिहान १० बजेदेखि बेलुकी ७ बजेसम्म पेश गर्न अनुरोध गरेको छ।
लगानी गर्न इच्छुक संस्थाले चाहेको ब्याजदर समेत खुलाएर पठाउन राष्ट्र बैंकको वित्त व्यवस्थापन विभागले अनुरोध गरेको छ। पछिल्लो समय बैंकिङ प्रणालीमा तरलता प्रशस्त छ। कर्जा निक्षेप (सिडी) अनुपात ९० प्रतिशत हुनुपर्नेमा अधिकांशको खुकुलो छ।
राष्ट्र बैंकको तथ्यांकअनुसार अहिले २० वटा वाणिज्य बैंकको सिडी अनुपात औसत ८३.२९ प्रतिशत छ। सिडी खुकुलो भए पनि एक बैंकले अर्को बैंकलाई दिने छोटो अवधिको कर्जाको अन्तर बैंक ब्याजदर भने ५.३५ प्रतिशत छ।
यत्तिको ब्याजदर भइरहँदा लामो अवधिको केन्द्रीय बैंकको निक्षेपमा राख्दा बैंकहरूलाई सहज हुने देखिन्छ।