देशभर बाढीपहिरो
सोमबारदेखि परेको अविरल वर्षाका कारण देशैभर बाढीपहिरोले जनजीवन कष्टकर बनाएको छ। सडक तथा राजमार्ग भत्कँदा आवातजावतमा समस्या आएको छ। बाढीपहिरोका कारण धेरैले ज्यान गुमाएका छन्, उत्तिकै संख्यामा नागरिक बेपत्ता पनि भएका छन्।
पहिरोले घरै बगाउँदा ...
मकवानपुरको बागमती गाउँपालिका–५ सिक्रे दोभानमा पहिरोमा परी ५ जना बेपत्ता भएका छन् भने एकजनाको मृत्यु भएको छ। एक जनाको जीवितै उद्धार गरिएको छ। काभ्रेको खानीखोला–५ स्थायी घर भई मकवानपुरको बागमती–५ सिक्रेदोभानमा बस्दै आएका ६० वर्षीय अकलबहादुर स्याङ्तानको घर पहिरोले पुरिँदा स्याङ्तानसहित ५ जना बेपत्ता भए। पहिरोमा परी अक्कलबहादुरकी श्रीमती ५५ वर्षीया शान्तिमाया स्याङ्तानको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीका अनुसार पहिरोले घर बगाउँदा स्याङ्तानका ज्वाईं २६ वर्षीय जीवन पहरी, छोरी २३ वर्षीया सीता स्याङ्तान, नाति देव पहरी र नातिनी दिव्या पहरी बेपत्ता छन्।
१४ घण्टापछि जीवितै
स्याङ्तानको घरमा पाहुनाका रूपमा पुगेका हरिहरपुरगढीकै पासाङ घिसिङलाई जीवितै उद्धार गरिएको छ। करिब १४ घण्टापछि उनलाई घाइते अवस्थामा भेटिएको हो। हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाइवाका अनुसार घिसिङको एउटा खुट्टा भाँचिएको अवस्थामा स्थानीयले फेला पारेका हुन्। मकवानपुरको बागमती–४ स्थित पाँच पाण्डव बस्तीमा बागमती नदी पसेर ६ वटा पसल डुबेका छन्।
सिन्धुलीमा दुई जना घाइते
पहिरोले सिन्धुलीमा तीन घर पुर्दा दुईजना घाइते भएका छन्। घ्याङलेख– १ अमलेको थोकर टोलका बुद्धसिंह थिङको घर पहिरो पुर्दा वर्ष ७४ का बुद्धसिंह घाइते भएका छन्। उक्त टोलमा दुई घर पहिरोले पुरेको छ।
यस्तै कमलामाई–१ मझिनिदमारमा उत्तम नेपालीको घर पहिरोले पुर्दा उनकी आमा ५८ वर्षीया सेतीमाया दमाई घाइते भएकी छिन्। बाढीपहिरोका कारण जिल्लाको मरिण, हरिहरपुरगढी र दुधौलीमा एक दर्जनभन्दा बढी घर डुबानमा परेका छन्। सयौं बिघा खेती योग्य जमिन कटान गरेको छ। मरिणको महेश्वता खोलामा आएको बाढीले मरिण गाउँपालिकाको ठाँटीमा ११ घर डुबानमा परेका गाउँपालिकाका अध्यक्ष विमर्श मोक्तानले जानकारी दिए।
बाढी र पहिरोले राजमार्ग अवरुद्ध
बाढी र पहिरोका कारण बागमती प्रदेशभित्रका राजमार्ग तथा अन्य सडकहरू अवरुद्ध हुँदा मंगलबार यातायात सेवा प्रभावित भए। बनेपा–सिन्धुली–बर्दिवास (बीपी) राजमार्गको सिन्धुली र काभ्रेको भिन्न स्थान, मध्यपहाडी लोकमार्ग र हेटौंडा–सिन्धुली–कटारी (मदन भण्डारी) राजमार्गका विभिन्न स्थानमा पहिरो र बाढीका कारण १५ घण्टा बढी सडक अवरुद्ध भएको हो।
बीपी राजमार्गको बर्दिबासदेखि नेपालथोकसम्म चार ठाउँमा सडक अवरुद्ध थियो। मदन भण्डारी राजमार्गको सिन्धुली–हेटौंडा खण्डमा दर्जनौं स्थानमा पहिरो खसेको थियो। ती स्थानमा पहिरो हटाएर एकतर्फी यातायात चलेका छन्। मकवानपुर र सिन्धुलीको सिमानामा बागमती पुल नजिकै अवरुद्ध सडक अझै सञ्चालन हुन सकेको छैन।
पासाङ ल्हामु राजमार्गको नुवाकोटस्थित ककनी–१ बाह्रमाइलमा मंगलबार बिहान पहिरो खस्दा बाटो अवरोध भएकोमा एकतर्फी खुलाइएको छ। मंगलबारै हेटौंडा–कुलेखानी–काठमाडौं सडकखण्डको भीमफेदी–२ ज्यालटारमा पहिरो खस्दा बाटो अवरुद्ध भएकोमा अवरोध हटाइएको छ।
चीन जोड्ने सडक ठाउँठाउँमा अवरुद्ध
नेपाल–चीन जोड्ने अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको खाडीचौर–कोदारी सडक खण्ड अवरुद्ध भयो। बलेफी गाउँपालिका– ८ जुरेदेखि सीमा क्षेत्र कोदारी, मितेरी पुलसम्मका सडकखण्डमा पहिरो र ढुंगा खसेर सडकखण्ड अवरुद्ध भएको हो।
सुदूरपश्चिमका ७ जिल्ला जोड्ने राजमार्ग अवरुद्ध
अविरल वर्षाले सुदूरपश्चिमका ७ पहाडी जिल्ला जोड्ने भीमदत्त पन्त राजमार्ग ठाउँठाउँमा अवरुद्ध भएको छ। कैलालीमा पर्ने चुरे क्षेत्रको बुढीतोलामा ७ सय मिटर पक्की सडक नै भासिएपछि यातायात अवरुद्ध भएको हो।
कैलालीको गोदावरी नगरपालिकामा पर्ने चुरे क्षेत्रमा अवरुद्ध भएको सडक । तस्बिर : शिवराज भट्ट
सोमबार रातिदेखि नै पहाडी जिल्ला डँडेलधुरा, बैतडी, बझाङ, अछाम, बाजुरा, डोटी र दार्चुला जाने र उताबाट आउने सवारीसाधनहरू बन्द भएका छन्। केही यात्रुहरू भने पैदलयात्रा गरेरै गन्तव्यतर्फ लागेका छन्। कैलाली र कञ्चनपुरका केही बस्तीहरू डुबानमा परेका छन्। कैलालीमा ४ सय ६३ परिवार डुबानमा परेका छन्। धनगढी उपमहानगर, भजनी, गोदावरी नगरपालिका, कैलाली र जोशीपुर गाउँपालिकाका अधिकांश बस्तीहरू मोहना, पथरैया र काँडा नदीका कारण डुबानमा परेका जिल्ला प्रशासन कार्यालय कैलालीका प्रवक्ता शिवराज जोशीले बताए।
दार्चुलाको महाकाली नगरपालिका, शैल्यशिखर नगरपालिका मालिकार्जुन गाउँपालिका, दुहु, व्यास र नौगाढमा बाढीपहिरो आएर यातायात सेवा ठप्प रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख तर्क पाण्डेले जानकारी दिए। शैल्यशिखरको ग्वानी क्षेत्रमा पनि पहिरो गएकोले लामो दूरीका गाडीहरू बन्द भएका छन्। अछामका नदी तटीय क्षेत्रका बस्ती पनि डुबानमा परेका छन्। अछाममा गत वर्ष भदौ अन्तिममा आएको पहिरोमा परी २२ जनाले ज्यान गुमाएका थिए। सो क्षेत्रका जनता नदीको जलस्तर बढेपछि त्रासमा छन्।
कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१० को कुतियाकभर बाढीको उच्च जोखिममा परेको छ। यहाँ नागरिकले हरेक वर्ष कटान र डुबान झेल्दै आएका छन्। यस वर्ष पनि महाकाली नदीले ६ बिघाभन्दा बढी जग्गा कटान गरिसकेको छ।
मोहनाले बगायो सीमास्तम्भ
धनगढी–९ भैंसीघाटमा रहेको नेपाल–भारत सीमास्तम्भ नम्बर ७४८/३ मोहना नदीले बगाएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ। कैलालीको कुम्भमेला लाग्ने गोदावरीधामका भौतिक संरचनामा पनि गोदावरी नदीले क्षति पुर्याएको छ। गोदावरी खोलामा पहिलो पटक यति ठूलो बाढी देखेको अत्तरियाका स्थानीय ध्रुवराज ओझाले बताए।
कञ्चनपुरको कृष्णपुर–७ शान्तिटोलमा मोहना नदीको पानीको बहाव बढ्दा ५०/६० घर डुबानमा परेको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरीबाट खटिएको टोलीले कृष्णपुर नगरपालिकाको ओदाली खोलामा फसेका २ जनाको उद्धार गरेको छ।
गण्डकीमा पनि जनजीवन प्रभावित
गण्डकी प्रदेशमा सोमबार साँझदेखि परेको पानीलेविभिन्न ठाउँमा पहिरो जाँदा पृथ्वी राजमार्ग, मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर अवरुद्ध भएको छ।
पहिरोका कारण अवरुद्ध सडक खोल्न सम्भावित पहिरो जाने क्षेत्र नजिकै एक्साभेटर राखेर पहिरो हटाउने काम हुने गरेको विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीले बताएका छन्। वर्षाका कारण अहिलेसम्म गण्डकी प्रदेशमा डुबानको समस्या नरहेको बताइएको छ। पहिरो गए पनि मानवीय र धनजनको क्षति हुने अवस्था नआएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रवक्ता शारदाप्रसाद चौधरीले बताए। मंगलबार बिहान बागलुङ घर भई पोखरा ३३ बस्ने भक्तबहादुर राना पोखराको भटनेरीको पुलबाट खसेर बेपत्ता भएको र खोजी कार्य जारी रहेको उनले सुनाए।
नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा वर्षाका कारण अहिलेसम्म कुनै समस्या नपरेको प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले जानकारी दिइन्। पहिरोको कारण कालीगण्डकी करिडरको बुलिङटार क्षेत्रको सडक अवरुद्ध भएको र अहिले पहिरो हटाएर सडक सुचारु रहेको पनि उनले सुनाइन्।
हिमाल पारिको जिल्ला मनाङमा सामान्य पानी परेको प्रमुख जिल्ला अधिकारी सुप्रभा खनाल ढुंगानाले बताइन्। पहिरो जाने सम्भावित क्षेत्रमा एक्साभेटर राखेर पहिरो हटाउने गरेको पनि ढुंगानाले सुनाइन्।
मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी चन्द्रकान्त बस्नेतका अनुसार पानी नपरे पनि कालीगण्डकीको सतह बढेको छ। गत २४ घण्टामा पोखरामा ६६.२ मिलिमिटर पानी परेको छ।
बर्दियामा भत्कियो सडक
बर्दियाको पर्यटकीय गन्तव्य बर्दिया राष्ट्रिय निकुञ्ज जोड्ने छोटो दूरीको ओराली—डल्ला सडकखण्ड भत्किँदा सवारीसाधन अवरुद्ध भएको छ। केही दिनदेखि परेको अविरल वर्षाका कारण ओराही (कुस्मिया) पुल जोड्ने सडक किनार भत्किएको हो।
हुलाकी मार्गहुँदै निकुञ्ज पुग्ने छोटो दूरीको सडक भत्किएपछि आवागमनमा समस्या भएको स्थानीय एवं खाता समन्वय समिति बर्दियाका अध्यक्ष हरि गुरुले बताए। उनले भने, ‘पुलमै जोडिएको सडक प्रत्येक वर्ष पानीले भत्काइदिन्छ। मधुवन नगरपालिका–१ मा अवस्थित पुलसँगै जोडिएको सडक दीर्घकालीन समाधान हुने गरी मर्मत गर्नुपर्छ।’ बर्दिया राष्ट्रिय निकुञ्ज जोड्ने सडकमा आवागमन ठप्प भएपछि पर्यटकलाई समेत असर पुगेको मधुवन–१ का वडाअध्यक्ष मीन थापाले बताए।
तीन दिनदेखि परेको अविरल वर्षाले नदीमा पानीको बहाव बढ्दा ठाकुरबाबा नगरपालिका ६ र ७ को बस्ती डुबानमा परेको छ। बाढीले फोकरपुरमा १० घर, नौकापुरमा ७ घर तथा कर्मलामा ५० घर डुबानमा परेका छन्। जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक हिक्मतबहादुर बोहराले भने, ‘६७ घरका १ सय २८ परिवार बाढीको चपेटामा परेका छन्। सुरक्षाकर्मी, स्थानीय पालिकाको सहकार्यमा उनीहरू सुन्दर प्राथमिक विद्यालयमा आश्रय लिएर बसेका छन्। गुलरिया नगरपालिका बालापुरस्थित हरियाली टोलमा पनि पानी पसेर डुबान भएको छ।’ बर्दियामा पानी नपरे पनि दाङ, सल्यानमा पानी पर्दा बबई नदीको सतह बढेको छ।
डाँडामाथि डोजर, पहिरोको जोखिम
गत वर्ष जाजरकोटको नलगाड नगरपालिकाको कालीमाटीहुँदै लहँ जाने सडक डोजरले खनेपछि नलगाड–४ पाटाटोलका केही घर पहिरोको उच्च जोखिममा परेका छन्।
वर्षात्सँगै घरको डिलबाटै पहिरो खसेपछि दर्जन बढी घर उच्च जोखिममा परेका हुन्। पहिरोको कारण घरमुनिबाट ठूलो पहिरो गई उच्च जोखिम रहेको वडा अध्यक्ष बद्री पन्तले बताए। उक्त पहिरोले अन्य स्थानमा पनि क्षति गर्ने खतरा रहेको हुँदा सुरक्षित रहन र उक्त क्षेत्रमा नजान स्थानीयलाई आह्वान गरिएको छ। पहिरोले बोटबिरुवा नष्ट गर्नुका साथै जमिन धाँजा फाटेको छ। पहिरोले खानेपानीको पाइप बगाएको छ। खोलाका घट्टमा क्षति गरेको छ।
त्यस्तै नलगाड नगरपालिका–१ कल्पतमा पहिरो खस्दा घर र पशुचौपायामा क्षति पगेको छ। बाढी पहिरोले बारेकोट, कुशे र जुनीचाँदे गाउँपालिका जाने सडक अवरुद्ध हुँदा समस्या परेको छ।
- कृष्ण सारु मगर/मकवानपुर, शिवराज भट्ट/धनगढी, राजेन्द्र कार्की/जाजरकोट, कृष्णमणि बराल/पोखरा, यादव आचार्य/गुलरिया, सुन्दरसिंह धामी/दार्चुला, महादेव अवस्थी/ कञ्चनपुर, गीता कुँवर/अछाम, राजन गाउँले/सिन्धुली, रोजन तामाङ/काभ्रे , सुन्दर शिरीश/सिन्धुपाल्चोक