यस्तो होस् कूटनीतिक कौशल
वैदेशिक सम्बन्धलाई देशको हितमा सञ्चालन गर्न कूटनीतिक कौशलको महत्तवपूर्ण भूमिका रहन्छ। परराष्ट्र नीति कार्यान्वयन गर्ने औजार नै कूटनीति हो।
नेपालको परराष्ट्र सम्बन्धमा विभिन्न समयमा नागरिकबाटै चासो र चिन्ता व्यक्त हुने गर्छ। छिमेकी तथा शक्ति राष्ट्रसँगकोे सम्बन्ध, अन्तर्राष्ट्रिय रणनीतिक विषयप्रतिकोे दृष्टिकोण तथा बाह्य व्यवहारबारेको बहस र टिप्पणी हुनु स्वाभाविक कार्य पनि हो। परराष्ट्र सम्बन्धकोे मुख्य उद्देश्य नै राष्ट्रिय हितको संरक्षण एवं संवर्द्धन गर्नु हो। यस्तो हितभित्र राजनीतिक, आर्थिक, सामरिक, सांस्कृतिक सबै क्षेत्रका हित समेटिएका हुन्छन्। देशको स्वतन्त्रता, सार्वभौमसत्ता तथा भौगोलिक अखण्डताको रक्षा, आर्थिक विकास एवं समृद्धि प्राप्ति, विश्व शान्ति, सुरक्षा, न्याय तथा बन्धुत्व प्रवद्र्धनजस्ता बृहत् विषय पनि समाहित हुन्छन्।
नेपालजस्तो जटिल भू–रणनीतिक अवस्थामा रहेको देशले छिमेकी तथा अन्य शक्ति राष्ट्रसँगकोे सम्बन्धमा विचलन आउन नदिई त्यसलाई सधैं सावधानी, सन्तुलन र सक्रियताका साथ सञ्चालन गर्नु बुद्धमत्तापूर्ण ठहर्छ। त्यसका लागि दलगत हितभन्दा माथि उठेर राष्ट्रको हितलाई महत्त्व दिने सोच हुनुपर्छ। राजनीतिक विचारधाराको आधारमा कुनै दलको सरकार एउटा देशसँग र अर्को दलको अर्कै देशसँग निकट हुन खोज्ने प्रवृत्ति घातक हुन्छ। किनभने यस्तो व्यवहारले एउटा देश खुसी हुँदा अर्को चिढिने अवस्था सिर्जना हुन्छ। अनि सबै देशसँग मित्रता कायम गर्ने नीतिमा आँच पुग्छ। राष्ट्रको बृहत्तर हितका लागि यस्तो गम्भीर भूल कसैबाट पनि हुनु हुँदैन। बरु राष्ट्रिय हितका महत्त्वपूर्ण विषयहरूमा देशको विभाजित होइन, साझा धारणा निर्माण गरी सुदृढ र फलदायी बाह्य सम्बन्धको विकास गर्न सक्नुपर्छ।
देशले बाह्य जगत्सँगको सम्बन्धबाट प्राप्त गर्ने लाभ वा हानिबाट कूटनीतिक क्षमता वा अक्षमता प्रमाणित हुन्छ।
हरेक देशले विभिन्न ढंगबाट बाह्य जगत्मा प्रभाव विस्तार वा हित अभिवृद्ध गर्ने उद्देश्य राखेको हुन्छ। शक्तिशाली देशले आर्थिक, सामरिक, राजनीतिक, प्रविधिजन्य विविध प्रभाव विस्तार गर्नेगरी काम गरेका हुन्छन् भने अन्य देशले पनि यथासम्भव आर्थिक, सांस्कृतिक, सामाजिक प्रकृतिका प्रभावहरू बढाउन प्रयत्न गरेका हुन्छन्। ती कार्य सम्पादनका लागि उनीहरूले बाह्य सम्बन्धलाई उच्च प्राथमिकतामा राखेका हुन्छन्। नेपालको सन्दर्भमा हेर्दा भने कुनै नेतृत्वको समयमा बाह्य सम्बन्धलाई विशेष महत्त्व र प्राथमिकता दिएको र कुनैको समयमा आन्तरिक मामिलामा बढी ध्यान दिएर यसलाई सामान्य ढंगबाट सञ्चालन गरेको देखिन्छ। यस्तोे महत्त्वपूर्ण पक्षलाई सामान्य ढंगबाट हेर्नु उचित होइन। देशको सर्वोत्तम हित तथा अन्तर्राष्ट्रिय छवि अभिवृद्धका लागि परराष्ट्र सम्बन्धलार्ई उच्च महत्त्व र प्राथमिकता दिनैपर्छ।
वैदेशिक सम्बन्धको सुदृढीकरणका लागि नेपालको आन्तरिक अवस्था बलियो बनाउनु त्यत्तिकै जरुरी हुन्छ। त्यही सामथ्र्यलाई दृष्टिगत गरेर नै बाह्य जगत् सम्बन्ध विकास गर्न उत्पे्ररित हुने हो। त्यसका लागि आकर्षक व्यापार तथा लगानीको वातावरण, भ्रष्टाचारको नियन्त्रण तथा सुशासन, गुणस्तरयुक्त पूर्वाधार, भरपर्दो सुरक्षा, विश्वसनीय व्यवहारजस्ता महत्त्वपूर्ण कुराको सुनिश्चितता आवश्यक छ। यस प्रकारको दह्रो आन्तरिक अवस्थाको जगमा मात्र वैदेशिक सम्बन्ध फस्टाउन सक्छ। अस्ट्रियाका राजनेता एवं कूटनीतिज्ञ क्लेमेन्स भोन म्याटरनिचले भनेका छन्, ‘देशको बाह्य व्यवहार त्यसको आन्तरिक अवस्थाले निर्धारण गर्दछ।’
परराष्ट्र नीतिको समसामयिक परिमार्जन एवं प्रभावकारी कार्यान्वयन वैदेशिक सम्बन्धको सुदृढीकरणको दिशामा महत्त्वपूर्ण कदम हो। नेपालको परराष्ट्र नीतिको कार्यान्वयनको पक्षलाई हेर्दा यदाकदा नीति र व्यवहारमा सामञ्जस्यता नभएको टिप्पणी भएको पनि पाइन्छ। त्यस्तो अवस्थामा परराष्ट्र नीतिले सन्तुलन र विश्वसनीयता दुवै गुमाउन सक्छ। उदाहरणका रूपमा असंलग्नताको नीति अँगाल्ने तर कुनै अमुक शक्ति राष्ट्रसँग निकट हुन खोज्ने, समान सार्वभौमिक हैसियत मान्ने पञ्चशीलको सिद्घान्त अपनाउने तर ठूला राष्ट्रको दबाब एवं प्रभावबाट मुक्त हुन नसक्ने प्रवृत्ति र व्यवहारलाई लिन सकिन्छ। अतः नीति र व्यवहारमा एकरूपता एवं विश्वसनीयता अभिवृद्धमा ध्यान दिनु जरुरी छ।
वैदेशिक सम्बन्धलाई देशको हितमा सञ्चालन गर्न कूटनीतिक कौशलको महत्त्वपूर्ण भूमिका रहन्छ। परराष्ट्र नीति कार्यान्वयन गर्ने औजार नै कूटनीति हो। देशले बाह्य जगत्सँगको सम्बन्धबाट प्राप्त गर्ने लाभ वा हानिबाट कूटनीतिक क्षमता वा अक्षमता प्रमाणित हुन्छ। कूटनीतिक कौशलको मापन गर्ने नै प्राप्त उपलब्धिबाट हो। कतिपय अवस्थामा कूटनीतिक कमजोरीको कारण द्विपक्षीय सन्धि सम्झौता गर्दा होस् वा रणनीतिक महत्त्वका विषयमा वार्ता गर्दा, राष्ट्रले लाभको सट्टा हानि व्यहोर्नु परेको भनी आलोचना नभएको होइन। कूटनीतिक कार्य कूटनीतिक संस्थाका व्यक्तिबाट मात्र हुँदैन, देशका उच्च पदस्थ व्यक्ति तथा सुरक्षा, व्यापार, लगानी, पर्यटन, अन्तर्राष्ट्रिय सीमाजस्ता बाह्य विषय हेर्ने अधिकारी सबैद्वारा हुन्छ। तसर्थ वैदेशिक सम्बन्धलाई लाभप्रद बनाउन उनीहरू सबैमा कूटनीतिक क्षमता अब्बल हुनु जरुरी छ।
परराष्ट्र सम्बन्धलाई भरपर्दो र दरिलो बनाउने अर्को ज्यादै महत्त्वपूर्ण पक्ष भनेको आपसी विश्वास, समझदारी र सहकार्य हो। यो धर्मराएको खण्डमा सम्बन्ध सुदृढ हुनै सक्दैन। तर यदाकदा नेपालको तर्फबाट हस्ताक्षर गरिएका द्विपक्षीय वा अन्तर्राष्ट्रिय सम्झौता कार्यान्वयनमा उदासीनता रहने गरेको छ। यसले विश्वसनीयता गुम्छ। यस्ता कार्यको सिलसिलामा ‘हतारमा निर्णय गर्ने र फुर्सदमा पछुताउने’गर्नु हुँदैन। बरु पर्याप्त गृहकार्य, छलफल तथा सही निर्णय गर्नेे क्षमता आवश्यक छ।
वैदेशिक सम्बन्ध सुदृढीकरणका लागि नेपालका राजनीतिज्ञ तथा उच्च पदस्थ कर्मचारीको अन्य देशका समकक्षीसँगका भेटघाट, छलफल तथा वार्ताका महत्त्वपूर्ण अवसरलाई राष्ट्रिय हित प्रवद्र्धन गर्नेगरी भरपूर सदुपयोग गर्न सक्नुपर्छ। वार्ता प्रभावकारी बनाउन पर्याप्त तयारी, विषयवस्तुको गहिरो ज्ञान, कार्यसूचीमा स्पष्टता, भाषागत क्षमता एवं वार्ता कौशलको महत्त्वपूर्ण भूमिका रहन्छ। हलुका र सतही ढंगबाट प्रस्तुत हुने, निर्भीकतापूर्वक विचार वा धारणा राख्न नसक्ने, महत्त्वपूर्ण मुद्दाहरूमा दह्रोसँग अडिन नसक्ने र विदेशीको प्रभावमा पर्ने अवस्था भएमा त्यसबाट राष्ट्रले निश्चित रूपमा
लाभभन्दा बढी हानि व्यहोर्नु पर्छ।
बाह्य सम्बन्धलाई सम्मानजनक र फलदायी बनाउन विदेश भ्रमण र समकक्षीको नेपाल भ्रमणको पनि महत्त्वपूर्ण योगदान रहन्छ। यस्ता भ्रमणको भिन्दै गरिमा कायम गर्नु आवश्यक छ। घुमफिर, मनोरञ्जन तथा आर्थिक लाभको उद्देश्यले, आफ्नो पद वा हैसियतलाई नसुहाउने र राष्ट्रका लागि कुनै फाइदा नहुने कामका लागि विदेश जाने प्रवृत्तिको अन्त्य हुनु जरुरी छ। जसले नेपालको अन्तर्राष्ट्रिय छवि तथा इज्जतमा आँच पुग्छ। विदेशी पदाधिकारीलाई नेपाल भ्रमणको निम्तो दिँदा आफ्नो लाभ तथा द्विपक्षीय हित प्रवर्द्धनमा पुग्ने योगदान सुनिश्चित हुनुपर्छ।
देश—देशबीचका विवाद, अन्तर्राष्ट्रिय मामिला एवं कुनै देशको आन्तरिक घटनाबारे देशको धारणा व्यक्त गर्र्दा हतारमा होइन, गहन विश्लेषण गरी निष्पक्ष, सन्तुलित र मैत्रीपूर्ण ढंगबाट गर्नु श्रेयष्कर हुन्छ। आपसमा आँच आउने अवस्था हुनु हँुदैन। कूटनीतिक परिपक्वता र क्षमता देखिने यस्तै कार्यमा हो। पूर्वब्रिटिश प्रधानमन्त्री विन्स्टन चर्चिलको भनाइ मननीय छ, ‘कूटनीतिज्ञ यस्तो व्यक्ति हो जसले केही बोल्नुभन्दा पहिले दुईपटक सोच्छ।’
विश्वका हरेक देशका विशेष क्षमता एवं सम्भाव्यता हुन्छन्। परराष्ट्र सम्बन्धको कुशल सञ्चालन भनेकै त्यस्ता सम्भाव्यताको उच्चतम उपयोग गरी देशको हित र द्विपक्षीय लाभ हो। कुन देशसँग कस्तो सम्बन्ध बनाउँदा राष्ट्रको उच्चतम हित हुन्छ ? लक्ष्य, नीति, रणनीति तथा कार्यक्रम तय गर्नुपर्छ।
वैदेशिक सम्बन्ध जटिल एवं संवेदनशील विषय हो। विशेष सतर्कता नअपनाउने हो भने भविष्यसम्म गम्भीर क्षति व्यहोर्नुपर्ने हुन्छ। दलगत वा वैयक्तिक स्वार्थको संकुचित सोचको आधारमा होइन, दूरदर्शी सोच भएको ‘राजनेता’का रूपमा प्रस्तुत हुनुपर्छ। प्रसिद्घ कूटनीतिज्ञ हेनरी किसिन्जरले राजनेता र नेताको भिन्नता देखाउँदै भनेका छन्, ‘राजनेताले सिर्जना गर्छ, साधारण नेताले त्यसलाई उपभोग गर्छ। साधारण नेता रूपान्तरणमा होइन, सामान्य सुधारमा पनि सन्तुष्ट रहन्छ तर राजनेता भने बुद्धिमान् र दूरदर्शी हुन्छ।’
हमाल, कुवेतका लागि पूर्वनेपाली राजदूत हुन्।
यज्ञबहादुर हमाल