पानी जमेको खाल्डोमा डुबेर एकै परिवारका दाजु-भाइको मृत्यु
कपिलवस्तु : कपिलवस्तुको कृष्णनगर नगरपालिका -५ वगही गाउँमा एकै परिवारका दाज-भाइको पानीमा डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ७ वर्षीय साजन यादव र उनका भाइ ५ वर्षीय राजन यादव रहेको इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक लक्ष्मण ओलीले बताए ।
मंगलवार साँझ करीब ५ बजे घरबाट निस्केका उनीहरू घर नफर्के पछि खोजी गरिएको थियो। प्रहरी निरीक्षक ओलीले भने,'दुई भाइ वेपत्ता भएको खबर पाए लगत्तै खोजी कार्य सुरू गर्यौं। आज बिहान मात्र उनीहरूलाई घर नजिकैको पानी जम्मा भएको खाल्डोबाट फेला परेको हो।'
खेतमा बिउ काट्न गएका आफ्ना बाबुलाई खोज्न जाने क्रममा उनीहरूको पानी जमेको खाल्डोमा डुबेर मृत्यु भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको प्रहरी निरीक्षक ओलीले बताए । जिल्लामा विभिन्न स्थानमा खनिएका खाल्डाहरू नपुरिदा स-साना बालबालिका खाल्डोमा डुबेर मृत्यु हुनसक्ने खतरा रहेको छ ।