बाढीले मधेसमा ४ जनाको मृत्यु, तीन जना बेपता
महोत्तरी : अविरल वर्षाका कारण मधेस प्रदेसमा चार जनाको मृत्यु भएको छ। साउन २२ गतेदेखि साउन २४ गतेसम्म दुई दिनको अवधिमा ३ पुरुषसहित एक जना महिलाको विभिन्न समयमा आएको बाढीमा परी मृत्यु भएको हो।
मृत्यु हुनेमा धनुषाल मिथिला नगरपालिका २ का १७ वर्षीय अजय यादव तथा गणेशमान चारनाथ नगरपालिका ७ का ३० वर्षीया माया परियार छन्। त्यस्तै सर्लाही हरिपूर्वा नगरपालिका-७ का ६० वर्षीय भोला चौधरी र रौतहट मौलापुर नगरपालिका-१ का ६५ वर्षीय सहिद राय भाट रहेका छन्। उनीहरूको विभिन्न नदीमा आएको बाढीको कारण मृत्यु भएको मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ।
तीन जना बेपत्ता
सो अवधिमा तीन जना बेपता भएको मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ। महोत्तरीको रातु नदीमा आएको बाढीले बगाउँदा सोनमा गाँउपालिका-१ का ३८ वर्षीय जाविर अन्सारी बेपत्ता भएका छन्। अंसारी लोहारपट्टी नगरपालिकास्थित रातुनदी पार गर्ने क्रममा बाढीले बगाएको हो।
त्यस्तै धनुषाको कमला खोलामा आएको बाढीले बगाउँदा गणेशमान चारनाथ नगरनाथ नगरपालिका-७ का ३५ वर्षीय सजन परियार बेपत्ता भएको हो। पर्सा जिल्लास्थित सिर्सिया नदीमा आएको बाढीले बगाउँदा भारतीय नागरिक ३२ वर्षीय किशोर राउत कुर्मी बेपत्ता भएको हो।
बेपता हुने उनीहरूको प्रहरीले खोजबिन गरिरहेको मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधाम स्रोतले जनाएको छ। यस अवधिमा बाढीको चपेटामा परेका २ सय ३३ जना प्रभावितमध्ये ८३ जनालाई प्रहरीको टोलीले उद्धार गरिएको हो। पर्साको सिर्सिया नदी, रौतहटको लालवकैया, सर्लाहीको बागमती र महोत्तरीको रातुनदीमा आएको बाढीबाट उनीहरूलाई उद्धार गरिएको हो।
बाढीले लाखौंको निर्माण सामग्री बगायो
बाराको जितपुर उपमहानगरपालिकास्थित दुधौरा खोलामा आएको बाढीले निर्माणाधीन सामग्री बगाएको हो। स्थानीय दुधौरा खोलामा पक्की पुल निर्माण गरिरहेको समयमा अचानक नदीमा आएको बाढीले २१ लाख ८७ हजार ५ सय रकम बराबरको निर्माण सामग्री बगाएको प्रहरी स्रोतले जनाएको छ। पूर्व-पश्चिम सडक खण्डमा रहेको दुधौरा नदीमा महादेव खिम्ति हिराचन जेभी कम्पनीले पक्की पुल निर्माण गरिरहेको प्रहरी स्रोतले जनाएको छ।