कर्मचारी पदपूर्ति गर्न थासाङका स्वास्थ्यकर्मीहरूको एक हप्ते अल्टिमेटम
जोमसोम : मुस्ताङको थासाङ गाउँपालिकाअन्तर्गतका स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीहरूले विगत १३ महिनादेखि रिक्त रहेको कर्मचारी पदपूर्ति समस्या समाधान गर्न पालिकालाई एक हप्ते अल्टिमेटम दिएका छन्। उनीहरूले मंगलबार गाउँपालिका कार्यालय कोवाङमा पुगेर अविलम्व कर्मचारी पूर्ति गरी कर्मचारीहरूलाई सेवा प्रवाह सहज गराउने वातावरण बनाउन ज्ञापन पत्र बुझाएका छन्।
२०७९ असार १ गते अघि थासाङ गाउँपालिकाले ठूलो संख्यामा विभिन्न स्वास्थ्य चौकी र वडा कार्यालयका करार सेवाका कर्मचारीलाई म्याद थप नगरी विदा गरेको थियो। सोही कारण अहिले थासाङका ५ वटै वडाका स्वास्थ्यकर्मी पालिकासँग रुष्ट बनेका छन्।
थासाङका स्वास्थ्य संस्थामा आवश्यक संख्थामा दरबन्दीअनुसारको कर्मचारी नहुँदा सेवा प्रवाहमा समस्या पर्दै आइरहेको छ। दरबन्दीअनुसार स्वास्थ्य चौकी र इकाईमा स्वास्थ्यकर्मी न्युन हुँदा त्यहाँ कार्यरत स्वास्थ्यकर्मी कर्मचारी विदामा बस्न पाएका छैनन्।
कर्मचारी अभाव हुँदा बिरामीको सेवामा हालः कार्यरत स्वास्थ्यकर्मीलाई ठूलो जिम्मेवारीको भार पर्दै आइरहेको बताइन्छ। स्थानीय तहको स्वास्थ्य चौकीमा ५ जना स्वास्थ्यकर्मीसहित १ जना कार्यालय सहयोगीको दरबन्दी सुनिश्चित गरिएको छ भने सामुदायिक स्वास्थ्य इकाईमा २ जना स्वास्थ्यकर्मीसहित १ जना कार्यालय सहयोगी आवश्यक पर्छ। तर, थासाङ गाउँपालिकाले पालिकाअन्तर्गतका स्वास्थ्य चौकी तथा इकाईमा कर्मचारी व्यवस्थापन नगर्दा समस्या उत्पन्न भएको टुकुचे स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी रेशम बोहोराले उल्लेख गरे।
उनले थासाङका सबै स्वास्थ्य चौकी र इकाईमा लामो समयदेखि कार्यालय सहयोगी नभएको र सबै स्थास्थ्य चौकीमा दरबन्दीअनुसार कर्मचारी पदपूर्ति हुन नसकेकाले माग सम्बोधन गर्न एक हप्ते अल्टिमेटम दिएको उनले बताए। उनले स्वास्थ्यकर्मीको समस्या र चुनौतीको माग सम्बोधन नगरेमा पालिकाअन्तर्गत सबै स्वास्थ्य संस्थामा आपिडी सेवा तथा इमरजेन्सी सेवा अवरुद्ध गर्ने बताए।
थासाङका स्वास्थ्यकर्मीले पालिकालाई बुझाएको ज्ञापनपत्रमा पटक-पटक स्वास्थ्य चौकी तथा इकाईमा कर्मचारी पदपूर्ति गर्न ध्यानआर्कषण गराए पनि पालिकाले वेवास्ता गरेको उल्लेख गरिएको छ। माग सम्बोधन नभएमा भदौ १ गतेदेखि उल्लेखित सेवाबाहेक अन्य आधा दर्जन बढी सेवा प्रभावित हुने ज्ञापनपत्रमा उल्लेख छ।