संखुवासभामा कैदी मृत्यु प्रकरण

सीसी क्यामराबाट खुल्न सक्छ वास्तविकता, डीएसपीको विवादित भूमिका

सीसी क्यामराबाट खुल्न सक्छ वास्तविकता, डीएसपीको विवादित भूमिका
संखुवासभा जिल्ला कारागार खाँदबारी। कैदीको मृत्युपछि घटनाको वास्तविकता लुकाउन सक्रिय बनेका डीएसपी वीरेन्द्र गोदार  इन्सेटमा। तस्बिर : अनिष विष्ट

विराटनगर/संखुवासभा : संखुवासभा जिल्ला कारागार खाँदबारीमा सुरक्षा घेराभित्र दुई जना कैदीको मृत्यु भएपछि प्रहरीको भूमिकामाथि गम्भीर प्रश्न उठेको छ। 

कारागारबाट भाग्न खोजेका कैदीलाई नियन्त्रणमा लिएर निर्घात कुटपिट गर्दै मारेको आरोप प्रहरीले खेपिरहेको छ। घटना भएको कारागारभित्र सीसी क्यामरा जडान गरिएको छ। घटनास्थलको सबै दृष्य सीसी क्यामरमा कैद हुन्छ। कुनै तलमाथि नगरिएको भएमा फुटेजबाट घटनाको वास्तविकता खुल्नसक्ने बताइन्छ। तर, घटना भएका बेलाको फुटेज नै छ कि छैन भन्ने आशंका उब्जिएको छ। 

अर्कोतर्फ प्रहरीको शंकास्पद भूमिकाले घटना थप रहस्यमय बनेर गएको छ। यसले जिल्लामा प्रहरीको नेतृत्व सम्हालेर बसेका अधिकारीदेखि कारागारको सुरक्षामा खटाइएका प्रहरीसम्मको भूमिकालाई विवादित बनाएको मात्रै छैन, जिल्लाकै सुरक्षा संयन्त्रमाथि प्रश्नसमेत खडा भएको छ। कारागारभित्र झडप हुँदा कैदीको मृत्यु भएको भन्दै स्थानीय प्रशासन र प्रहरीको मिलेमतोमा घटनालाई तोडमोड गरेर सार्वजनिक गरिएको थियो। 

घटनामा आफ्नो संलग्नता नदेखाउन वास्तविकता बंग्याउँदै प्रहरीले उम्कने प्रयास गरिरहेको हो। सादा पोसाकमा चार/पाँच जनाको संख्यामा रहेका प्रहरीले नै कुटेर कैदीको हत्या गरेको आरोप छ। कारागारका अन्य कैदीबन्दी र स्थानीय प्रत्यक्षदर्शीले प्रहरीकै प्रत्यक्ष संलग्नतामा घटना भएको बताइरहँदा शान्ति सुरक्षा, अपराध नियन्त्रण तथा अनुसन्धानको महत्वपूर्ण जिम्मेवारीमा रहेको प्रहरी यो घटनापछि ठूलो विवादमा फसेको छ। 
 
उनीहरूले घटनामा संलग्न र घटनालाई लुकाउन भूमिका खेल्नेमाथि कारबाहीको मागसमेत गरेका छन्। राज्यकै नियन्त्रणमा भएको कैदी मारिनुले समग्र शान्ति सुरक्षाको अवस्था नै फितलो रहेको र प्रहरीले आफूअनुकूल मात्रै काम गर्ने गरेको पुष्टि भएको सरोकारवाला बताउँछन्। उनीहरूका अनुसार तथ्य तोडमोड गर्दै बंग्याएर घटनालाई कैदीबन्दीबीचको झडपमा परिणत गर्न प्रहरी प्रयासरत छ। आफ्नो गल्ती लुकाउन र झडपमा संलग्न भएर कैदीको हत्या गरेको देखाउन कारागारबाट केही कैदीबन्दीलाई समेत नियन्त्रणमा लिएपछि प्रहरी झन् ठूलो विवादमा मुछिएको छ। 

घटनाको अनुसन्धान गर्न भन्दै प्रहरीले कारागारबाट निकालेर नौ जना कैदीबन्दीलाई हिरासतमा लिएको हो। उनीहरूको विवरण सार्वजनिक गरिएको छैन। कारागारको शौचालयको झ्यालका रड काटेर भाग्न खोजेपछि कैदीहरु संखुवासभाको मादी नगरपालिका-१९ वर्षीय विनोद तोलाङ्गी र नुवाकोटको ककनी गाउँपालिका-७ का २८ वर्षीय आकाश बलामीलाई बुधबार बिहानका राति १ बजेतिर नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। 

नियन्त्रणमा लिँदै कारागार प्रशासनको जिम्मा लगाएर पुनः भित्र हालिएपछि कैदीबन्दीबीच कारागारभित्र झडप हुँदा तोलाङ्गी र बलामीको मृत्यु भएको दाबी प्रहरीको छ। अदालतले जबरजस्ती करणी मुद्दामा तोलाङ्गीलाई १८ वर्ष र चोरी मुद्दामा बलामीमा ३ वर्ष कैद सजायको फैसला गरेको थियो। दुवै जना १ वर्षदेखि कारागारमा रहेर कैद सजाय भुक्तान गरिरहेका थिए। 

छानबिन समितिको निष्पक्षतामाथि नै आशंका  
घटनाको छानबिनका लागि जिल्ला सुरक्षा समितिको बैठकले सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेको नेतृत्वमा ३ सदस्यीय समिति बनाएको छ। छानबिन समितिमा प्रहरी निरीक्षक (इन्सपेक्टर) सरोज खनाल र प्रशासन कार्यालयका नायब शुब्बा तारणी घिमिरे सदस्य छन्। 

संखुवासभाका प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले छानबिनबाट सत्यतथ्य पत्ता लाग्ने दाबी गरे। ‘घटना शंकास्पद देखिएकाले छानबिनका लागि समिति बनाइएको हो,’ उनले भने, ‘सत्यतथ्य पत्ता लगाएर बाहिर ल्याउँछौं।’ सरोकारवालाले भने प्रशासन र प्रहरीकै मिलेमतोमा घटनाको वास्तविकता लुकाउने प्रयास गरिएकाले अहिले बनेको छानबिन समितिबाट यथार्थ बाहिर आउन नसक्ने बताएका छन्। उनीहरूले छानबिन समितिको निष्पक्षतामाथि नै आशंका व्यक्त गरेका हुन्। 

पीडितका आफन्त तथा परिवारका सदस्यसहितलाई समेटेर सर्वपक्षीय छानबिन समिति बनाउनुपर्नेमा सरोकारवालाको जोड छ। प्रशासनले एकलौटी रूपमा बनाएको समितिले घटनाको वास्तविकता पत्ता लगाएर दोषीमाथि कारबाहीको सिफारिस गर्ने क्षमता नराख्ने उनीहरुको भनाइ छ। २५ जना क्षमताको कारागारमा हालः ८ जना महिलासहित १ सय ३८ जना कैदी बन्दी छन्। 

प्रजिअ कार्कीले भने कारागारमा भएको घटना छानबिनका लागि बनाइएको समितिमाथि कुनै शंका नगर्न आग्रह गरेका छन्। ‘घटना के भएको हो छानबिन समितिले हेर्छ। घटना घटेपछि समिति बनाएर अनुसन्धान एवं छानबिनका लागि खटाइएको छ। विश्वास नगर्ने भए अरु छानबिन समिति कहाँबाट ल्याउनु?,’ उनले भने, ‘राज्य संयन्त्रलाई त विश्वास गर्नु पर्‍यो नि। घटनामा कोही दोषी देखिएमा जोगाउनुपर्ने कारण छैन। छानबिन समितिले बिना स्वार्थ काम गर्छ।’ 

घटनाको यथार्थ पत्ता लगाउनकै लागि छानबिन समितिले सीसी क्यामराको ‘हार्डडिक्स’ नियन्त्रणमा लिइसकेको प्रजिअ कार्कीले बताए। ‘कारागारमा सीसी क्यामरा जडान गरिएको छ। घटना भएका बेलाको दृष्य सबै त्यसमा कैद भएको होला,’ उनले भने, ‘तलमाथि नहोस् भनेरै तत्काल ‘हार्डडिक्स’ नियन्त्रणमा लिइएको हो। छानबिन समितिले आफ्नो काम अघि बढाइसकेको छ।’ 

डीएसपीको विवादित भूमिका 
प्रहरीकै कुटाइबाट कैदीको मृत्यु भएको भनेर चौतर्फी कुरा उठिरहेका बेला घटनालाई लुकाउन भूमिका खेलेपछि संखुवासभाका प्रहरी प्रमुख डीएसपी वीरेन्द्र गोदारको भूमिका निक्कै विवादित बनेको छ। डीएसपी गोदारले उपचारका क्रममा खाँदबारी अस्पतालमा कैदीको मृत्यु भएको बताए। भाग्नलाई राति १ बजेतिर शौचालयको झ्यालको रड काटेर उनीहरू कम्पाउण्डमा निस्किएका कारण प्रहरीले नियन्त्रणमा लिएर कारागार प्रशासनको जिम्मा लगाएपछि कारागारभित्र कैदीबन्दीबीच झडप भएको उनको दाबी छ। 

घटनामा प्रहरीको संलग्नता नरहेको गोदारले बताए। झडपपछि अचेत भएको घाइते अवस्थामा भेटिएका कैदीलाई उद्धार गरेर उपचारका लागि लगिएको जिकिर उनले गरेका छन्। कारागारको सुरक्षामा असई (सहायक निरीक्षक)को नेतृत्वमा टोली परिचालित रहेको र असइको नाम भने आफूले बिर्सिएको गोदार बताउँछन्। 

मृतकका आफन्त एवं परिवारका सदस्यसमेत नआइकन शवको पोस्टमार्टम गराउने प्रयास भएपछि प्रहरीविरुद्धको आरोपमाथि थप मलजल पुगेको छ। सबैको विरोधपछि पोस्टमार्टम रोकिएको एक स्वास्थ्यकर्मी बताउँछन्। प्रारम्भिकरूपमा बुझ्दा प्रहरीकै कुटाइले कैदीको मृत्यु भएको पाइएको र घटनापछि भने कारागारभित्र कैदीबन्दीबीच झडप भएको हल्ला फैलाइएको उनको भनाइ छ। 

डीएसपी गोदारले भने झडपमा संलग्न केहीलाई नियन्त्रणमा लिइसकिएको बताएका छन्। ‘केही कैदीलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको छ। सोधपुछ गर्दै उनीहरूसँग थप कुरा बुझ्दैछौं,’ उनले भने, ‘झडपमा संलग्नहरूको नाम हामीसँग आइसकेको छ। उनीहरूलाई प्रहरी कार्यालयमै ल्याएर विस्तृतमा बुझ्दैछौं।’ भाग्न लागेका कैदीबन्दीलाई नियन्त्रणमा लिएको जानकारी कारागारका प्रहरीले डीएसपी गोदारलाई राति नै गराएका थिए। उनकै निर्देशनमा कैदीमाथि निर्घात हिसाबले कुटपिट गर्ने र यातना दिने काम भएको आरोपसमेत लागेको छ। आफ्नै निर्देशनमा दिएको यातनाका कारण कैदीको मृत्यु भएपछि घटनाको तथ्य लुकाउन भूमिका खेलेको आरोप गोदारले खेप्दैछन्। 

झडप भएकै छैन : कैदीबन्दी 
कारागारका अन्य कैदीबन्दीले कारागारभित्र झडप नै नभएको र सबै जना मिलेरै बस्ने गरेको बताएका छन्। झडप भए/नभएको आएर हेर्दा प्रष्ट हुने उनीहरूको भनाइ छ। घटना गराएको भन्दै दोषी प्रहरीमाथि कारबाहीको माग राखेर कैदीबन्दीले बुधबार दिउँसो कारागारभित्रबाटै प्रहरीविरुद्ध प्रदर्शन, नाराबाजी र ढुंगामुडा पनि गरेका थिए। कारागारको सुरक्षाका लागि ठूलो संख्यामा नेपाल र सशस्त्र प्रहरी परिचालन गरिएको थियो। 

कैदीबन्दी विरोधमा उत्रन थालेपछि प्रहरीले हस्तक्षेप गरेर नौ जनालाई आफ्नो नियन्त्रणमा लिएको हो। आफ्नो पोल खुल्ने डरले प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएर लगेको एक कैदी बताउँछन्। डीएसपी गोदारको निर्देशनमा उनीहरूलाई जिल्ला प्रहरीमा पुर्‍याइएको प्रहरी स्रोतले बतायो। स्रोतका अनुसार वास्तविकता ढाकछोप गर्न र घटनामा प्रहरीको संलग्नता नदेखाउन गोदार बिहानैदेखि सक्रिय छन्। 

प्रहरी नियन्त्रणमा रहेकाहरूलाई झडपकै कारण घटना भएको भन्ने बनाउन दबाब दिने काम भइरहेको एक प्रहरी बताउँछन्। ‘कारागारभित्र बन्दीबीच झडप भएर घटना भएको हो भन्नलाई बाध्य पारिँदैछ। यो घटनाबाट प्रहरीले जे गर्दा पनि हुन्छभन्ने स्थापित भएको छ,’ उनले भने, ‘प्रहरीले आफू कारबाहीबाट जोगिन कैदीबन्दीलाई ‘हत्याको भारी’ बोकाउने प्रयास गरिरहेको छ। घटनामा प्रहरी संलग्न नभएको देखाउन डीएसपी गोदार नै सक्रिय छन्।’ मानसिक तथा शारीरिक यातना दिएर र धम्क्याएर बिना गल्तीको कसूर स्वीकार गर्न लगाउने प्रयास भइरहेको उनले बताए। 

‘भाग्न खोजेको भन्दै नियन्त्रणमा लिएर कैदीलाई चार/पाँच जना प्रहरीले निक्कै बेरसम्म कुटेका हुन्। कुट्दा कुट्दै मृत्यु नै भयो,’ एक कैदी भन्छन्, ‘प्रहरीको संलग्नतामा भएको यति गम्भीर घटनालाई झडपमा परिणत गर्न खोजिँदैछ। झडप त भएकै छैन।’ 

राज्यकै नियन्त्रणमा आफूहरू असुरक्षित हुनु परेको गुनासो उनको छ। मृत्यु प्रकरणमा मुछिने भएपछि प्रहरीले घटनालाई मोड्न अनेक खेल खेलिरहेको उनले बताए। भने, ‘हामीसँगै कैद भुक्तान गरिरहेका साथीहरुलाई आँखैअगाडि प्रहरीले मार्‍यो। हामी विरोधमा उत्रियौं। तर, विरोधको नेतृत्व गर्नेहरूलाई प्रहरीले लिएर गयो।’ 

उनका अनुसार कैदीमाथि बिहान ५ बजेसम्म निरन्तर कुटपिट भएको थियो। कुटपिटबाट ज्यान गएको भए पनि उपचारका क्रममा मृत्यु भएको देखाउन खोजिएको गुनासो कैदीबन्दीको छ। 

घटना प्रहरीले नै गराएको हो : स्थानीय 
कारागारमा झडप भएको भनिएपनि प्रत्यक्षदर्शी स्थानीय त्यो कुरा मान्न तयार छैनन्। खाँदबारी बजारको बस्तीभन्दा कारागार तल पर्छ। माथिका घरहरूबाट कारागारको कम्पाउण्डभित्र भएका गतिविधि प्रष्टसँग देख्न सकिन्छ। स्थानीय सारदा बजगाईं बिहानका राति १:३० बजेतिर कारागारको कम्पाउण्डबाट ऐया-ऐया भनेर कराएको आवाज आएपछि हेर्दा चार-पाँच जना सादा पोसाकका प्रहरीले दुई जनालाई निर्घात कुटपिट गरिरहेको आफूले देखेको बताउँछिन्। 

‘निर्वस्त्र बनाएर कम्पाउण्डभित्र लट्ठीले कुटपिट गरिरहे। त्यो दृष्य मैले निक्कै बेरसम्म हेरिरहें। पीडा सहन नसकेर कुटाइ खाने दुई जना चिच्याइरहेका थिए,’ बजगाईंले भनिन्, ‘खुट्टामा हान, खुट्टामा हान भनेर शरीरमा जहाँ पायो त्यहीँ कुटपिट गर्ने काम भइरहेको थियो। केहीबेरदेखि होहल्ला अलि कम भयो। अहिले बन्दीबीच झडप भएर मृत्यु भएको गलत हल्ला फैलाउन सुरु गरिएछ।’ 

बजगाईंले चरम यातना दिँदै कुटेर कैदीलाई मारेपछि प्रहरीले घटनालाई तोडमोड गर्न खोजेको बताइन्। भनिन्, ‘घटना प्रत्यक्ष देखेपछि हाम्रो मन बेचैन भइरहेको छ। राज्यको नियन्त्रणमा रहेका कैदीमाथि यो हदसम्म प्रहरीले गर्छ होलाभन्ने कल्पना पनि गरेको थिइँन। त्रासका कारण भोक र प्यास नै हरायो।’ उनले आँखा वरिपरि घुमिरहेको घटनाले शरीर नै जिरिङ्ग बनाइरहेको बताइन्। घटना आफूले मात्रै नभएर छरछिमेकीले समेत देखेको बजगाईं बताउँछिन्। घटनापछि कारागार वरपरका बासिन्दा नै त्रसित बनेको जानकारी उनले दिइन्। 

कारागार प्रशासन अस्पष्ट    
घटनाका सम्बन्धमा कारागार प्रशासन अस्पष्ट देखिएको छ। निमित्त जेलर राजेन्द्र घिमिरेले घटना कसरी भयो भनेर स्पष्ट जवाफ दिन सकेनन्। ‘जेल तोडेर भाग्ने प्रयास गरेपछि नियन्त्रणमा लिएर प्रहरीले कैदीलाई कुटेको कुरा आएको छ,’ उनले भने, ‘तर, हेर्दाखेरी बन्दीबीच कारागारभित्र झडप भएर घटना भएजस्तो देखिन्छ।’ 

कैदीबन्दीको हत्या भएको भनेर कारागारभित्र आन्दोलन र भित्रबाट सुरक्षाकर्मीमाथि आक्रमण हुन थालेपछि नौ जनालाई बाहिर निकालेर प्रहरी कार्यालयमा लगिएको घिमिरेले बताए। घटनापछि कारागारको अन्तरिक सुरक्षा व्यवस्था मजवुत बनाइएको उनको भनाइ छ। कारागारको सुरक्षालाई मध्यनजर गर्दै नाइकेसहितका बन्दीलाई जिल्ला प्रहरीमा लगिएको घिमिरेले बताए। 

खाँदबारी पुगे मृतकका आफन्त
मृत्यु भएका दुवै कैदीको शव खाँदबारी अस्पतालमा राखिएको छ। मृतकमध्ये तोलाङ्गीका आफन्त मादी नगरपालिकाका जनप्रतिनिधिसहित सदरमुकाम खाँदबारी आइपुगेका छन्। मृतककी दिदी भीमा रम्तेलले राज्यको नियन्त्रणमा रहेका भाइको प्रहरीबाटै हत्या भएको बताइन्। आफूहरूलाई अहिलेसम्म भाइको शवसमेत हेर्न नदिएको गुनासो उनको छ। 

‘प्रहरीले उपचारका क्रममा मृत्यु भएको भनेको छ। तर, सबै कोणबाट हेर्दा प्रहरीकै प्रत्यक्ष संलग्नतामा भाइलाई मारिएको देखिन्छ,’ रम्तेलले भनिन्, ‘घटना मोड्नका लागि विभिन्न हिसाबले हामीमाथि दबाब सिर्जना गर्ने काम भइरहेको छ। यदि कैदीबन्दीबीच झडप भएर घटना भएको हो भने छुट्याउने भूमिकामा प्रहरी किन देखिएन?’ २४ घण्टा नै प्रहरीको सुरक्षा हुने कारागारभित्रका कैदीलाई अचेत अवस्थामा फेला पारेर अस्पताल लगिएको भन्नुले नै घटनामा प्रहरी संलग्न छ भन्ने पुष्टि हुने उनको भनाइ छ। 

उनले आफूहरूलाई घटनाको वास्तविकता नबताइकन प्रहरीले भाइ बिरामी परेको छ भनेरमात्रै जानकारी गराएको बताइन्। भाइको हत्यामा संलग्न प्रहरीमाथि कारबाही हुनुपर्ने रम्तेलको माग छ। उनले दोषी प्रहरीलाई कारबाही नभए शव नबुझ्ने अडानसमेत लिएकी छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.