प्रहरी कार्यालयमा किन थुप्रिन्छन् सवारी साधन ?
काठमाडौं : भैरहवाबाट आएका अजय पाण्डे उपत्यका ट्राफिक प्रहरी कार्यालय परिसरमा यताउता गर्दै थिए। उनी आफ्नो स्कुटर लिन ट्राफिक कार्यालय पुगेका थिए। आफ्नो विवरण खुल्ने कागजात लिएर ट्राफिकमा पुगे पनि कार्यालयका कर्मचारीले घरी के, घरी के भनेर अल्झाइरहेका थिए।
बुधबार दिउँसो १२ बजेतिर परिसरमा भेटिएका उनले ३ वर्षअघि स्कुटर बेचेका थिए। तर, पास गरेका थिएनन्। स्कुटर किन्ने व्यक्तिले पटक–पटक आग्रह गरे पनि पास गर्नका लागि आनाकानी गरे। कागजात अजयकै नाममा थियो। एकदिन मापसेको आरोपमा ट्राफिक चेकिङका क्रममा स्कुटर प्रहरीले नियन्त्रणमा लियो। स्कुटर लिन आउन भन्दै ट्राफिक कार्यालयबाट पटक–पटक फोन गरेपछि अजय काठमाडौं आएका थिए। तर, घरी बिलबुक ल्याउन त, घरी यातायात कार्यालयको पत्र ल्याउन भन्दै प्रहरी कर्मचारीले अजयलाई अल्मलाइरहे।
अजय भन्छन्, ‘आफ्नै नामको स्कुटर लिन पनि यति झन्झट ? यस्तै गर्छन् र सवारीधनी आउनै खोज्देैनन्। जरिवाना तिरेर सजिलै लैजान पाए लाखौं पर्ने सवारी साधन यसै कसले छाड्छ ?’ यस्तै केही दिनअघि एक महिला र पुरुष पार्टी ड्रेसमै ट्राफिक कार्यालयमा भेटिएका थिए। सडकमा मोटरसाइकल पार्क गरेर पाटीप्यालेस पसेका उनीहरू बाहिर निस्कँदा मोटरसाइकल नभेटेपछि हस्याङफस्याङ गर्दे ट्राफिक महाशाखा पुगेका थिए। सडकमा पार्किङ गरेको भन्दै महानगर प्रहरीले उनीहरूको सवारी साधन बग्गीखाना पुर्याएको थियो। पार्किङ शुल्क तिरेर सवारी लैजाने तयारी गरेका उनीहरूलाई प्रहरी कर्मचारीले रोकिरहे। घरी कर तिरेको रसिद माग्थे त घरी लाइसेन्स कहाँबाट निकालेको भन्दै केरकार गर्थे।
प्रहरी कार्यालयमा यस्ता दृश्य हरेक दिन देखिन्छन्। कोही बिल बोकेर आएका हुन्छन् त कोही सवारी साधन लैजान पाउ भन्दै याचना गरिरहेका हुन्छन्। तर, नियमले बाधिएको भन्दै ट्राफिक प्रहरी सवारीधनीसँग लचिलो देखिँदैन। ट्राफिक नियम तोडेको भन्दै उनीहरूप्रति रुखो व्यवहार देखाउँछन्।
उपत्यकाभरको प्रहरी कार्यालयमा र ट्राफिक कार्यालयमा २ हजार बढी संख्यामा सवारी साधन थुप्रिएका छन्। जसमा दुईपाङग्रे १९१३ र चारपांग्रे ४१ वटा छन्। १०० जनाले भने प्रक्रिया पुर्याएर सवारी साधन फिर्ता लगेका छन्। वर्षौंदेखि यसरी थुप्रिएका सवारी साधन न त सवारीधनीले लैजान नै सक्छन् न त सरकारले बेच्न वा प्रयोग गर्न नै पाउँछ। साँघुरा प्रहरी कार्यालयको परिसरलाई नै कुरूप बनाउने गरी यी सवारी साधनहरू यसै मक्किरहेका छन्। यीमध्ये केहीको अदालतमा मुद्दा चलिरहेको छ भने केहीको सवारीधनी को मृत्यु भइसकेको छ। केही सवारी साधन बेवारिसे छन्। कति सवारी धनीले त बिर्सिसके पनि।
उपत्यका ट्राफिक महाशाखाका प्रवक्ता राजेन्द्र भट्टका अनुसार कारबाहीमा परेका सवारी साधन लिन सवारी धनी नै आउँदैनन। कोहीको कागजपत्र हुँदैन। केही चोरीको साधन चलाइरहेका हुन्छन्। केहीको यातायात चेकजाँचको कागजपत्र साथमा हुँदैन। यस्तै दुर्घटनामा मान्छेको मृत्यु भएको छ भने त्यस्ता सवारी साधन लिन प्रायः कोही आउँदेैनन्। अनि प्रहरी कार्यालयमै सवारी थुप्रने गरेको छ। सवारी चालकसँग कागजात छैन भने त्यस्ता सवारी साधन प्रहरीले होल्ड गर्ने गरेको छ। यस्तै मापसे गरेको र चोरीको सवारी साधन पनि होल्ड हुने गर्छ। प्रहरीमा थुप्रिएका अधिकाशं सवारी साधनमा कागजपत्र नै नभएका धेरै छन्।
ट्राफिक कारबाहीमा परेको सवारी साधन फिर्ता लिन त्यति सजिलो भने छैन। सवारी तथा यातायात व्यवस्था ऐनमा सवारी धनी लिन नआएर बेवारिसे भएको सवारी साधन सरकारले चलाउन पाउने नियम नै छैन। भट्ट भन्छन्, ‘यसरी बेवारिसे बनेका सवारी साधनको व्यवस्थापनको विषयमा सम्बोधन गर्न सवारी तथा यातायात व्यवस्था ऐन संशोधन हुने प्रक्रियामा छ। केही नयाँ ऐन बन्ने पनि प्रक्रियामै छ। नयाँ ऐनमा कर नतिर्ने सवारीसाधनको घरघरानाबाट पनि कर असुल्ने भन्ने व्यवस्था आउन पनि सक्छ।’
अरूलाई सवारी चलाउन दिँदा के हुन्छ ?
सवारी धनीले कुनै पनि बहानामा आफ्नो नामको सवारी अन्य व्यक्तिलाई चलाउन दिन्छ भने त्यो निकै ठूलो गल्ति हो। यसैले उ नै बढी जिम्मेवार हुने गर्छ। चलाउनेभन्दा दिने व्यक्ति सजायको भागिदार हुनुपर्छ। चाहे नामसारी नगरी बेचेको होस या साथी वा आफन्तलाई चलाउन दिएको किन नहोस् कुनै पनि बहानामा आफ्नो सवारी साधन अरूलाई चलाउन दिन हुन्न।
ट्राफिक प्रहरीका अनुसार आफ्नो नामको सवारीले कुनै दुर्घटना भयो भने जिम्मेवार सवार धनी हुनेगर्छ। कानुनअनुसार लाइसेन्स नभएको व्यक्तिले सवारी चलायो भने सवारी धनीलाई पनि जरिवाना हुन्छ।
बेचिसकेको सवारीको जिम्मेवारीबाट कसरी मुक्त हुने ?
भक्तपुरकी जया खड्काले आफ्नो पुरानो स्कुटर एकजना पसलेलाई बेचेकी थिइन्। राजीनामा पास नगर्दै ती पसलेले स्कुटर गाउँमा पठाए। जयाले पटक–पटक पास गर्ने खबर गर्दा पनि ति व्यापारीले कुनै प्रतिक्रिया दिँदैनन्। जया भने बेचेको स्कुटरले कुनै अफ्ठारोमा परिने हो कि भन्ने पिरमा छिन्।
ट्राफिक महाशाखाका प्रवक्ता राजेन्द्र भट्टले सवारी साधन किनवेच गर्दा निकै ध्यान पुर्याउनुपर्ने बताउँछन्। कसलाई बेच्ने हो उसको सही विवरण राख्न आवश्यक छ। जिम्मेवारी मुक्त हुनका लागि उक्त सवारीको नामसारीभन्दा अन्य विकल्प नहुने भट्ट बताउँछन्।
नामसारी नहुँदासम्म दायित्व पनि रहिरहन्छ। किन्नेमान्छे र बेच्ने मान्छेले किनबेचको कागज गराउँदा दायित्व सकिन्छ भन्ने गलत मान्यता छ। तर, यातायातमा कर सवारीधनीकै नाममा थपिन्छ। दुर्घटना गराएर चालक भागेको अवस्थामा पनि सवारी धनीले नै जिम्मेवारी उठाउनुपर्छ। किनबेचको दोहोरो कागज बनाएको अवस्थामा केही सहज भने हुन्छ।
चोरी होस् या लागुऔषध तस्करी वा अन्य अपराधमा संलग्न भएको सवारी साधनको विषयमा यसको दायित्व पनि सवारी धनीले नै बेहोर्नुपर्ने भट्टले जानकारी दिए। अपराधमा संलग्न समाउने पहिलो तरिका नै सवारी साधन र फोन नम्बरबाट हो।
प्रहरी कार्यालयमा थुप्रिएको सवारी साधनलाई के गर्ने भन्ने विषयमा नयाँ नीति बनाएरै काम गर्नुपर्ने हुन्छ। अहिले प्रचलनमा रहेको सवारी तथा यातायात व्यवस्था ऐनमा यसरी थुप्रिएका सवारी साधन लिलाम गर्ने व्यवस्था नभएको प्रवक्ता भट्टले बताए।