बेइजिङमा १४० वर्षपछिकै ठूलो वर्षा, ३८ को मृत्यु
बेइजिङ (सिन्ह्वा) : भारी वर्षाका कारण चीनको बेइजिङमा आएको भीषण बाढी, डुबान र पहिरोमा परी ३३ जनाको मृत्यु भएको छ। यो तथ्यांक मंगलबार रातिसम्मको भएकाले मृतकको संख्या अझै बढ्न सक्ने अधिकारीहरू बताउँछन्।
उक्त प्राकृतिक विपत्तिपछिको उद्धार तथा राहत कार्यमा सहभागी पाँच जनाको मृत्यु भएको चिनियाँ प्रशासनले जनाएको छ। बेइजिङका उपमेयर जिया लिनमाओले एक पत्रकार सम्मेलनमा उद्धारकर्तासहित अन्य १८ जना अझै हराइरहेको जानकारी दिए। मुख्यतया, गत हप्ता परेको वर्षापछि आएको बाढी र घर भत्किएका कारण उनीहरूको ज्यान गएको हो।
जुलाई २९ देखि अगष्ट २ सम्म बेइजिङमा आएको ‘डोक्सुरी आँधी’का कारण मुसलधारे वर्षा भएको थियो। बेइजिङमा १४० वर्षअघि रेकर्ड सुरु भएयताको यो सबैभन्दा ठूलो वर्षा हो। वर्षाका कारण आएको बाढीले करिब १२ लाख ९० हजार मानिस र करिब १५ हजार हेक्टर जमिनमा लगाइएको बालीनालीमा क्षति पुर्याएको छ। जियाका अनुसार, सम्पत्ति र भौतिक क्षतिको आकलन भइरहेको र घोषित मृतक संख्यामा वृद्धि हुने सम्भावना देखिएको छ।
मुसलधारे वर्षाका कारण हिमाली क्षेत्रका पूर्वाधारमा ठूलो क्षति पुगेको छ। ५ सय ७ गाउँमा पानी आपूर्ति प्रभावित भएको छ। २ सय ७३ गाउँ र १६ आवासीय समुदायमा विद्युत् कटौती भएको छ भने ३ सय ४२ गाउँमा सञ्चार सेवा अवरुद्ध भएको छ। वर्षाले सडक र पुलहरूमा क्षति पुगेपछि २ सय ५६ वटा गाउँमा यातायात सञ्चालनमा समस्या भएको छ। उद्धार र पुनस्र्थापना प्रयासहरू जारी रहेको र अधिकांश गाउँहरूमा सफलतापूर्वक बिजुली आपूर्ति, खानेपानी, दूरसञ्चार सेवा र यातायात अवरुद्ध भएको छ।
बेइजिङले प्रभावित जनसंख्याका लागि अत्यावश्यक दैनिक आवश्यकता, आपतकालीन आपूर्ति र चिकित्सा उपचार उपलब्ध भएको सुनिश्चित गरेको छ र विपद्पछिको महामारी रोकथाम कार्य सुरु गर्न द्रुत कदम चालेको उपमेयरले बताए। ‘बेइजिङ सहरले पुनरुत्थान र पुनर्निर्माण योजना बनाएको छ र यसको कार्यान्वयनलाई गति दिनेछ,’ जियाले भने।