त्रिशूलीमा महिलाको शव फेला
नुवाकोट : त्रिशूली नदीले बगाएर ल्याउने क्रममा नुवाकोटको दर्शनटारमा एक महिलाको शव फेला परेको छ । मृतकको पहिचानका लागि प्रहरीले घटनास्थल पुगेर शवको मुचुल्का उठाएको छ ।
विदुर नगरपालिकास्थित दर्शनटारमा बुधबार बेलुकी त्रिशूलीले बगाएर ल्याएको अवस्थामा करिव ३५ वर्षीया महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । नदीले बगाएर ल्याएको अवस्थामा महिलाको शव फेला परेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए ।
मृतक महिलाले घाँटीमा तिलहरी, शरीरमा प्याजी रंगको बुट्टे कुर्था र हरियो रंगको सुरुवाल हातमा केही थान चुरा लगाएकी प्रहरीले जनाएको छ । शव घटनास्थल मुचुल्का गरी नुवाकोट जिल्ला अस्पताल त्रिशूलीमा राखिएको नुवाकोट प्रहरीको भनाइ छ ।