अबिरल वर्षापछि बाढी, २ दिनमा ४ को मृत्यु
महोत्तरी : अबिरल वर्षाका कारण मधेस प्रदेशमा ४ जनाको मृत्यु भएको छ। साउन २२ गतेदेखि साउन २४ गतेसम्म परेको पानीले आएको बाढीमा परी ३ पुरुषसहित १ महिलाको मृत्यु भएको हो। मृत्यु हुनेमा धनुषाको मिथिला नगरपालिका–२ का १७ वर्षीय अजय यादव र गणेशमान चारनाथ नगरपालिका–७ का ३० वर्षीया माया परियार छन्।
त्यस्तै सर्लाही हरिपुर्वा नगरपालिका–७ का ६० वर्षीय भोला चौधरी र रौतहट मौलापुर नगरपालिका–१ का ६५ वर्षीय सहिद राय भाट छन्। उनीहरूको विभिन्न नदीमा आएको बाढीका कारण मृत्यु भएको मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ।
३ जना बेपत्ता
बाढीमा परी ३ जना बेपत्ता भएका मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ। महोत्तरीको रातु नदीमा आएको बाढीले बगाउँदा सोनमा गाउँपालिका–१ का ३८ वर्षीय जाविर अन्सारी बेपत्ता भएका छन्। अन्सारी लोहारपट्टी नगरपालिकास्थित रातुनदी पार गर्ने क्रममा बाढीले उनलाई बगाएको हो।
त्यस्तै धनुषाको कमला खोलामा आएको बाढीले बगाउँदा गणेशमान चारनाथ नगरनाथ नगरपालिका–७ का ३५ वर्षीय सजन परियार बेपत्ता भएका हुन्। पर्सा जिल्लास्थित सिर्सिया नदीमा आएको बाढीले बगाउँदा भारतीय नागरिक ३२ वर्षीय किशोर राउत कुर्मी बेपत्ता भए। बेपत्ताको प्रहरीले खोजी गरिररहेको मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ।
यस अवधिमा बाढीको चपेटामा परेका २ सय ३३ जना प्रभावितमध्ये ८३ जनालाई प्रहरीको टोलीले उद्धार गरेको छ। पर्साको सिर्सिया नदी, रौतहटको लालबकैया, सर्लाहीको बागमती र महोत्तरीको रातुनदीमा आएको बाढीबाट उनीहरूलाई उद्धार गरिएको हो।
बाढीले लाखौंको निर्माण सामग्री बगायो
बाराको जितपुर उपमहानगरपालिकास्थित दुधौरा खोलामा आएको बाढीले निर्माणाधीन सामग्री बगाएको छ। स्थानीय दुधौरा खोलामा पक्की पुल निर्माण गरिरहेको समयमा अचानक नदीमा आएको बाढीले २१ लाख ८७ हजार ५ सय रकम बराबरको निर्माण सामग्री बगाएको प्रहरी स्रोतले जनाएको छ। पूर्व–पश्चिम सडकखण्डमा रहेको दुधौरा नदीमा महादेव खिम्ति हिराचन जेभी कम्पनीले पक्की पुल निर्माण गरिरहेको प्रहरी स्रोतले जनाएको छ।