मानव जीवनको सबैभन्दा आधारभूत तत्त्व के हो ? अक्सिजन। यही तत्त्वको एकमात्र स्रोत हो, वनजंगल। नेपालमा स्थानीय स्तरमा भएका प्रयासमध्ये अत्यन्त सफल मानिएको सामुदायिक वनको रोचक इतिहास छ।
सिन्धुपाल्चोक जिल्लाको ठोकर्पाका स्थानीय जनप्रतिनिधिको मस्तिष्कमा फुरेको एउटा सोचले मूर्तरूप पाउने क्रममा विशेषतः नेपालभर, त्यसपछि संसारभर नै प्राप्त मान्यता सामुदायिक वनको अवधारणा हो। तत्कालीन श्री ५ को सरकार, सचिवस्तरको निर्णयबाट २०३० साउन २५ गते पहिलो पटक ठोकर्पाको वन स्थानीय समुदायलाई संरक्षण र विकास गर्न स्वीकृत दिइएको थियो। यही दिन अर्थात् साउन २५ लाई सामुदायिक वन दिवसको रूपमा मुलुकभर भव्य रूपमा मनाउन थालिएको हो।
नाङ्गा फुस्रा डाँडा देख्दा कसको पो मन रमाउँछ र ? एउटा जिम्मेवार जनप्रतिनिधि मनमा केही गर्ने हुटहुटी पलाउनु नौलो थिएन। मानव चोला सुरु भएदेखि अन्तिम संस्कार गर्दासम्म र त्यो बीचमा हरेक कार्यमा जनजीविकाको लागि चाहिने दाउरा जुन वनजंगलबाटै प्राप्त हुन्छ। जीवन नै जंगलबाट प्राप्त हुने अक्सिजन चल्छ भन्ने बोधले जसरी पनि वनजंगल विस्तार गर्नुपर्छ भन्ने भावना जागृत गरायो। गउँँमा गरिबी थियो, न्यानो कपडाको पूर्ति त्यही आगोले गर्दथ्यो, गाउँमा नवजात शिशुदेखि बूढाबूढीको जीवन रक्षा खातिर त्यही दाउराको जरुरत थियो। नाङ्गो डाँडामा चरन थिएन, बस्तुभाउ यताउता दौडिन्थे, घाँस खान नपाएका बस्तुले दूध दिने कुरै भएन। डाँडाका माटो बगेर खेतबारी भरिन्थे, न डाँडा जोगिने भए, न खेती हुने भयो। परिस्थिति अत्यासलाग्दो थियो।
खाली डाँडा भर्न बिरुवाको आवश्यकता थियो। सदरमुकाम चौताराबाट डोकोमा बोकाएर बेर्ना (बिरुवा) ओसार्ने कामबाट वृक्षरोपण सुरु भयो। गाउँँका धारा कुवाबाट पानी बोकेर हाल्न थालियो। स्थानीय स्तरमा नर्सरी खडा गरेर वृक्षरोपण व्यापक बनाउँदै दसौं लाख बिरुवाले डाँडाकाँडा भरिँदै गए। त्यसरी हुर्कंदै गएको स्थानीय वन स्थानीय समुदायलाई परिचालन गरी संरक्षण गर्ने, वनको व्यापक विकास गर्न स्थानीयलाई पूर्ण एवं जिम्मेवार बनाउने र त्यो वनको उपयोग स्थानीय समितिमार्फत स्थानीयहरूले नै गर्न मिल्ने व्यवस्था नै सामुदायिक वनको अवधारणा हो।
मुलुकका स्थानीय तहका वडा तहसम्म २५ हजारभन्दा बढी सामुदायिक वनका स्थानीय समितिहरू सक्रिय छन्। समितिमार्फत लाखौं हेक्टर जंगल संरक्षित छन्। नेपालमा प्रत्यक्ष रूपमा करोडौं व्यक्तिहरू यसबाट लाभान्वित छन्। वातावरणीय एवं पर्यावरणीय दृष्टिले विश्वभरका मानव जातिको लागि नेपालको सामुदायिक वनले योगदान दिइरहेको छ।
ठोकर्पा समुद्री सतहबाट १२ सयदेखि १९ सय फिटको उचाइ अवस्थित छ। विकासका प्रायः पूर्वाधारले पूर्ण ठोकर्पा पर्यटकीय सम्भावनासमेत बोकेको स्थान हो। यतिमात्र नभएर विगतमा वनका विद्यार्थीको लागि शैक्षिक भ्रमण केन्द्रको रूपमा दर्ज भएको थियो। ठोकर्पालाई भविष्यमा वन विषयमा अध्ययन गर्ने विज्ञ तथा सामुदायिक वन उपभोक्ता समिति मार्फत लाखौं नेपालीहरूको तीर्थस्थलको रूपमा विकसित हुने सम्भावना पनि जीवितै छ।
२०२९ साल फागुन २८ को तत्कालीन ठोकर्पा गाउँ पञ्चायतको गाउँसभामा पारित प्रस्तावबाट सामदायिक वनसम्बन्धी तत्कालीन प्रधानपञ्च नीलप्रसाद भण्डारीको अन्तर्मनमा रहेको अवधारणा गाउँसभा हँुदै केन्द्रीय स्तरमा प्रवेश गरेको पाइन्छ। सामुदायिक वनको अवधारणा सिन्धुपाल्चोक हँुदै नेपालभर विस्तार भई अन्तर्राष्ट्रिय स्तरमा यसको चर्चा भइसकेको अवस्था थियो। आफूले गरेको उदाहरणीय कर्म अरूका लागि समेत प्रेरणाको स्रोतको रूपमा अभिलेखीकरण होस् भन्ने चाहना सबैमा हुन्छ। त्यसमा पनि यस्ता ऐतिहासिक कर्मलाई लिपिबद्ध गर्न पुस्तक प्रकाशन समिति गठन भयो। समितिले ठोकर्पा र भण्डारीका बारेमा अध्ययन गरी छनोट र घोषणा गर्न सरकारलाई जगाउने काम गर्यो। केन्द्रीय स्तरबाटै सम्बन्धित निकायमा भएको पत्राचारको प्रत्युत्तर ठोकर्पाभन्दा फरक दाबी पेस हुनै सकेन। त्यसपछि वन तथा भू—संरक्षण मन्त्रालयको २०७३ साल जेठ १८ को निर्णय सिन्धुपाल्चोक जिल्लाको ठोकर्पा गाउँलाई सामुदायिक वनको उद्गमस्थलको पहिचान दिने र प्रत्येक वर्ष साउन २५ लाई सामुदायिक वन दिवस मनाउने निर्णय भयो।
तत्कालीन अवस्थामा जिल्ला वन अधिकृतको भूमिकामा रहेका डा. तेजबहादुर सिंह महतको साथ र सहकार्यबिना स्थानीय स्तरमा सीमित यो परिकल्पनाले मूर्तरूप पाउन सम्भव थिएन। सरकारी कर्मचारी र स्थानीय जनताको सहकार्य अगाडि बढेको यो अभियान साकार हुँदासम्मका सारथि डा. महत र नीलप्रसाद भण्डारी दुवैलाई सामुदायिक वन अभियन्ताको रूपमा पहिचान दिने निर्णय भयो।
विकास जति गुना बढ्दो छ, त्यसको अर्को पाटोमा विनाश झुन्डिएकै छ। सृष्टिको नियमभन्दा भिन्न धारमा मानव गतिविधि सक्रिय छन्। आणविक हतियार होस् वा सामान्य विलासिता, प्रकृतिलाई चुनौती थपिएको थपिएै छ। फलतः विश्व तापमानमा आएको अस्वाभाविक
वृद्धिको असर यत्रतत्र देखिएकै छ। अत्यधिक गर्मी कि जाडो, अत्यधिक सुक्खा कि वर्षा, पर्यावरणीय असन्तुलन यसरी बढेको छ कि विश्वभरका मानिसलाई यसले चिन्तित बनाएको छ।