बर्दिया अस्पताललाई रेविजविरुद्धको भ्याक्सिन उपलब्ध
गुलरिया : बर्दिया अस्पताललाई रेविजविरुद्धको भ्याक्सिन उपलब्ध गराइएको छ । जिल्लामा लामो समयदेखि भ्याक्सिन अभाव हुँदा बिरामी समस्या झेल्दै आएका थिए। उनीहरू अस्पताल बाहिर चर्को मुल्यमा भ्याक्सिन किन्न बाध्य थिए ।
लुम्बिनी प्रदेशका सांसद जन्मजय तिमिल्सिनाको पहलमा भ्याक्सिन उपलब्ध गराइएको हो। जनताको स्वास्थ्य समस्यालाई सम्बोधन गर्ने जन प्रतिनिधिको दायित्व अन्तर्गत प्रदेश सरकारबाट भ्याक्सिन झिकाएर बर्दिया अस्पताललाई हस्तान्तरण गरेको सांसद तिमिल्सिनाले बताएका छन् ।
जस्तोसुकै परिस्थितीमा पनि प्रदेशका जनताको सेवामा सर्मपित रहने प्रतिवद्धता गर्दै कसैलाई कुनै समस्या परे प्रत्यक्ष आफूलाई जानकारी गराउन उनले अनुरोध समेत गरेका छन् ।
२ सय ८० भाइल रेविजविरुद्धको भ्याक्सिन बर्दियामा आएको स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीले बताएका छन् । बर्दिया अस्पतालमा १ सय ६०, ठाकुरबाबा स्वास्थ्य चौकीमा ४०, राजापुर ४० र बारबर्दिया स्वास्थ्य चौकीमा ४० भाईल भ्याक्सिन पठाइने उनले जानकारी दिए ।
संसद तिमिल्सिना, जिल्ला समन्वय समिति बर्दियाका प्रमुख सूर्यबहादुर विष्टले स्वास्थ्य कार्यालय र बर्दिया अस्पताललाई रेविजविरुद्धको भ्याक्सिन संयुक्त रुपमा हस्तान्तरण गरेका छन् ।